गाेकुल बास्काेटा दम्पतिलाई काेराेना संक्रमण

काठमाडाैं । पुर्वमन्त्री गाेकुल बास्काेटा दम्पतिलाई पनि कोरोना भाइरसको संक्रमण देखिएकाे छ । बास्काेटाले सामाजिक संजाल मार्फत आफुहरुलाई संक्रमण देखिएकाे जानकारी दिएका हुन् । बास्काेटाले बिहिबार दिउँसाे साढे ३ बजेतिर फेसबुक मार्फत आफुलाई कुनै पनि प्रकारकाे लक्षण नदेखिएकाे तर श्रीमती तारा मानन्धरलाई भने लक्षणसहितकाे काेराेना देखिएकाे जानकारी दिए । उनले १० दिनयता कसैलाई नभेटेकाे जानकारी दिए ।

काभ्रेमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर

काठमाडाैं । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । काभे्रपलाञ्चोकमा बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मङ्गलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना सङ्क्रमणमुक्त भएका थिए । पोष्टका अनुसार बुधबार १७ महिलासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् । “एकै दिन दोब्बर सङ्ख्यामा सङ्क्रमणमुक्त भएको यो पहिलोपटक हो”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार जिल्लामा हालसम्म ५१५ महिलासहित एक हजार ३४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत अर्थात् ८३५ सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म कोरोना सङ्क्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमितमध्ये ४० प्रतिशत अर्थात् ५२६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३०४ पुरुष र २२२ महिला छन् । हालसम्म २३४ पुरुष र १४९ महिला गरी कूल ३८३ जना सङ्क्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६२ प्रतिशत पुरुष हुन् । हाल सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पतालको आइसोलेसन र ४०४ होम आइसोलेसनमा उपचाररत छन् । रासस

सोलुखुम्बुमा समुदाय स्तरमा कोरोना, परीक्षण गर्न छिमेकी जिल्लाको भर

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको सङ्क्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेकोे छ । मङगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको हो । सङ्क्रमणको अवस्था बुझ्न नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित स्वाब परीक्षणको रिपोर्टअनुसार समुदायस्तरमा कोरोना फैलिसकेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । चाडपर्वका बेला चुनौती थपिएकाले परीक्षणको दायारालाई फराकिलो बनाइने उनकोे भनाइ थियो । नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरका अनुसार शुक्रबार ६४ जनाको स्वाब सङ्कलन गरी बिराटनगरमा परीक्षण गर्न पठाउदा एक वडाध्यक्ष, एक वडासचिव, एक स्वास्थ्यकर्मी, एक व्यावसायी र हाइड्रोपावरमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको थियो । सङ्क्रमितमध्ये एक सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ भने अन्यलाई होम आइसोलेशनमा राख्ने तयारी गरिएको छ । उनीहरू फरक फरक स्थानका रहेका र उनीहरूको अन्यत्र सम्पर्क भए नभएको बारे थाहा नभएको उनले जानकारी दिए । यस्तै जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका १८ बर्षीय एक पुरुषको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यस्तै तल्लो सोलु खोला जलविद्युत आयोजना ८२ मेगावाटका २१७ मजदूरको पिसिआर परीक्षण गर्दा सात जनामा कोरोना पोजेटिभ आएको आयोजनाले जनाएको छ । रुम्जाटारस्थित ओखलढुङ्गा जिल्ला अस्पतालको समन्वयमा स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाउँदा एक स्थानीय र छ भारतीयमूलका मजदूरमा कोरोना पुष्टि भएको बताइएको थियो । उनीहरूलाई होटल आइसोलेशनका लागि काठमाण्डाैंमा पठाइएको आयोजनाले जनाएको छ । छिमेकी जिल्लाको भर जिल्ला अस्पताल फाप्लुमा स्वाब सङ्कलन गर्ने जनशक्ति नहुँदा छिमेकी जिल्ला ओखलढङ्गाको भरपर्नुपर्ने भएकाले तल्लो सोलु हाइड्रोपावरले ओखलढङ्गा जिल्ला अस्पतालको समन्वयमा स्वाब सङकलन गरी परीक्षणका लागि पठाएको छ । यसअघि रुम्जाटारबाट आएका स्वास्थ्यकर्मीले ५४ जनाको स्वाब सङ्कलनगरी परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि आयोजनाको काम ठप्प पारेर थप २१७ जनाको परीक्षण गरिएकामा उनीहरूमध्ये मङ्गलबार सात जनाको रिपोर्ट पोजेटिभ आएको थियो । आइसोलेशन वार्ड अभाव हुने जिल्लामा आइसोलेशन वार्डको अभाव हुने अवस्था सिर्जना भएको छ । प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालमा १० बेडको आइसोलेशन वार्ड निर्माण गरेकामा त्यहाँ चार सङ्क्रमित राखेर उपचार गराइरहेको र थप ६ जनालाई पनि त्यही राख्दा वार्ड भरिन्छ । नगरप्रमुख शेर्पाले भनेजस्तै परीक्षणको दायारा बढाउने हो भने सङ्क्रमितको सङ्ख्या थप हुनसक्ने भएकाले आइसोलेशन वार्डको अभाव हुने र त्यसपछिको अवस्था चिन्ताजनक हुने सल्लेरीका शिक्षिका दुर्गालक्ष्मी राईले बताइन् । जिल्लाको आठवटै स्थानीय तहमा जम्मा आइसोलेशन वार्ड २९ छ तर केहीदिन अघि लिखु हाईड्रोमा काम गर्ने ४७ कामदारमा एकैपटक कोरोना पोजेटिभ देखिएको थियो । यस्तै थुलुङ दूधकोशी र सोलुदूधकण्ड नगरपालिकाका दुई जनामा पनि कोरोना पोजेटिभ देखिएकाले उनीहरू अहिले उपचारमा छन् । लामो समयसम्म सुरक्षित जिल्लाको सूचिमा रहेको सोलुखुम्बुमा पछिल्लो समय सङक्रमितको सङ्ख्या ह्वात्तै बढ्नु खतराको सङ्केत भएको र स्थानीय सरकारले यसको रोकथाम तथा नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने स्थानीयवासी सन्तोष खत्रीले बताए । पछिल्लो समय जिल्लाको विभिन्न विद्यालय सञ्चालन हुनाका साथै काठमाण्डाैं लगायत ‘रेडजोन’बाट आउनेहरूसमेत खुल्लारूपमा हिड्डुल गर्दा जोखिम बढेको अधिकांशको भनाइ थियो । शुरु चरणको लकडाउनमा घरबाट बाहिर ननिस्केका सोलुखुम्बुबासी असुरक्षित हुनाको कारण काठमाण्डाँैलगायत क्षेत्रबाट आउने नागरिकको उचित व्यवस्थापन नहुनु नै प्रमुख रहेको शिक्षिका राईको भनाइ थियो । समन्वय शून्य बैंक तथा वित्तीय संस्था, होटल र पसलमा सामाजिक दूरीको कुनै ख्याल नगरिनु, रेड जोनबाट आउनेहरू बिनामास्क हिडिरनु र राजनीतिक दलले विभिन्न कार्यक्रम आयोजना गरिरहनाका साथै कोरोना रोकथाम अहिलेको मुख्य विषय भएका अवस्थामा पार्टी प्रवेश गराउने होडबाजीमा राजनीतिक दल व्यस्त भएको अर्का स्थानीयवासी भानुभक्त ढु्ङ्गानाले बताए । थुलुङ दूधकोशी गाउँपालिकाले सम्पूर्ण हाटबजार र सबै कार्यक्रम बन्द गर्ने गराउने निर्णय गरे पनि नगरपालिकाले भने यो समाचार तयार पार्दासम्म आधिकारिकरूपमा निर्णय गरेको छैन ।यसै महाकुलुङ गाउँपालिकाले हाटबजार बन्द गरेको छ भने माप्यदूधकोशी गाउँपालिकाले कार्यक्रम आयोजना गर्न नपाउने निर्णय गरेको छ । रासस