एनआरएनएले स्वास्थ्य मन्त्रालयलाई दियो एक करोड बराबरको स्वास्थ्य सामग्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई आज हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नवराज रावतले कोभिड-१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीले ठूलो योगदान पुर्याएको जनाउँदै नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकतामा जोड दिए । एनआरएनएका उपाध्यक्ष डा केसीले विश्वव्यापी कोरोना संक्रमण शुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको जनाए । एनआरएनएका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गर्दै यसअघि जापान सरकारले गरेको प्रतिबद्धतानुसार थप स्वास्थ्य सामग्री नेपाल भित्र्याउन पहल गरिने जानकारी दिए । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको एनआरएनए कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । एनआरएनएले कोभिड महामारी शुरु भएदेखि रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । संस्थाले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करीब दुई हजार पाँच सय स्वयंसेवक परिचालन गर्दै कोभिड पीडित नेपालीलाई सहयोग गरेको थियो । कोभिडविरुद्ध लड्न अध्यक्ष कुमार पन्तका अध्यक्षतामा एक उच्चस्तरीय समितिसमेत गठन गरिएको छ । रासस

धौलागिरि अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला सञ्चालन हुने

गलकोट । धौलागिरि अस्पताल बागलुङमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने नेपाल सरकारको निर्णय चार महिनापछि कार्यान्वयनमा आउन थालेको छ । नेपाल सरकारले गत असार १२ गते धौलागिरी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को पिसीआर नमूना परीक्षणको अनुमति दिएपनि बजेटको अभावमा पिसीआर मेसिन खरिद गर्न सकिएको थिएन । दुई महिना अघि मात्र पिसीआर मेसिन खरिद गर्नका लागि सरकारले अस्पताललाई एक करोड रुपैयाँ पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । पछि प्रयोगशाला व्यवस्थापनका लागि थप ४० लाख रुपैयाँ बजेट विनियोजन भएपछि अस्पतालले पिसीआर मेसिन खरिद तथा प्रयोगशाला व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको हो । बजेट प्राप्त भएकाले अब पिसीआर मेसिन खरिदका लागि बायोकेमिकल इञ्जिनीयरबाट लागत इस्टिमेट तयार गरेर खरिद प्रक्रियामा जान लागेको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गोतमले जानकारी दिए । शुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा नौलो र पहिलोपटक भएकाले यस विषयमा बुझ्न केही समय लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । “मेसिन खरिद गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याउनु पर्दछ, केही औजार छुट भएमा पुनः सञ्चालनमा ढिलाइ हुन सक्छ, त्यसैले लागत इस्टिमेट गर्न समय लागेको हो”, उनले भने “एक दुई दिन भित्रै टेन्डर प्रक्रियामा जादैछौं, जति सक्दो छोटो प्रक्रियामार्फत पिसीआर परीक्षण मेसिन खरिद गर्नेछौं ।” उनका अनुसार मेसिन खरिद गरिएपनि दक्ष जनशक्तिको अभावमा प्रयोगशाला सञ्चालनमा कठिनाइ हुने बताइएको छ । धौलागिरी अस्पतालका प्रयोगशाला प्रमुख सुरज बराल पोखरास्थित पिसीआर परीक्षण प्रयोगशालामा गएका कारण प्रयोगशाला सञ्चालन गर्न कठिनाइ हुने डा. पोखरेलको भनाइ छ । मेसिन खरिद र प्रयोगशालाको निर्माण भइसकेपछि त्यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सरकारले व्यवस्थापन गर्नेमा अस्पताल आशावादी रहेको उनले बताए । अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतमा सङ्कलन गरिएको नमूना पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । प्रयोगशाला स्थापना गर्ने निर्णयसँगै धौलागिरिवासी उत्साहित भएका छन् । प्रयोगशाला सञ्चालनका लागि कम्तिमा तीन वटा सुविधा सम्पन्न कक्ष र छ जना ल्याव प्राविधिक (टेक्निसियन) आवश्यक पर्ने धौलागिरी अस्पतालले जनाएको छ ।

घरमै बस्ने बहानामा गाउँघर डुल्दै सङ्क्रमित, कारवाही गर्न प्रशासनकाे निर्देशन

काठमाडौं । कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । सङ्क्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र नेपाल सरकारले जारी गरेको स्वास्थ्य सावधानीका उपाय समेत अवलम्बन नगर्ने गरेको गुनासो बढेको भन्दै त्यस्ता व्यक्तिको हकमा कारवाही गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए । समाजका प्रतिष्ठित व्यक्तिले समेत स्वास्थ्य सावधानीका उपाय अवलम्बन गरेको नपाइएको उनको भनाइ छ । समाजमा सङ्क्रमण बढ्दो क्रममा रहेको अवस्थामा बढ्दो असावधानीले थप जोखिम बढाउने निष्कर्षसहित उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए । स्थानीयवासीलाई समेत सङ्क्रमित व्यक्तिले हेलचेर्क्याईं गरेको पाइए सो विषयमा जानकारी गराउन सुनसरी प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयमार्फत मातहतका सबै युनिटलाई उक्त निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन भनेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । रासस