कोरोना नियन्त्रण र उपचारमा टोखा नगरपालिकाको चार करोड खर्च
काठमाडाैं । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो । नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीेदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि उक्त रकम खर्च गरेको जानकारी दिए । टोखाले विपन्न परिवारको राहतका लागि एक करोड ४१ लाख ११ हजार ३६५, जनप्रतिनिधि र कर्मचारीको कोभिड बीमाका लागि दुई लाख ३५ हजार ६६०, कन्ट्याक ट्रेसिङका लागि ३५ हजार, स्वयम्सेवक, खाना तथा खाजा र अनुगमका लागि १७ लाख ९८ हजार ३७०, होम आइसोलेसन पोषण भत्ताका लागि २६ लाख ४० हजार ३०० खर्च गरेको छ । यस्तै, प्राविधिक/सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक रु पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि चार लाख २९ हजार ७८६, आइसोलेसन सामग्रीका लागि २६ लाख ८४ हजार ७१८, आइसोलेसन वार्डमा श्यया खर्च नौ लाख ६६ हजार ८०५, आइसोलेसन/क्वारेन्टिनमा खाना तथा खाजाका लागि १३ लाख ७८ हजार ३८२, जोखिम प्रोत्साहन भत्ताका लागि एक करोड ८० हजार ९७९ खर्च भएको छ । यसैगरी, ह्यान्ड वास स्टेशन निर्माणका लागि सात लाख ३२ हजार ३२१, माक्स, क्लोरिन, स्यानिटाइजर, पिपिई, थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरिदका लागि चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि २० लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि एक लाख ५० हजार खर्च भएको आर्थिक शाखाप्रमुख अधिकारीले बताए । कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि टोखा नगरपालिकासँग पाँच करोड ८२ लाख ६ हजार ३५८ रकम रहेको छ जसमध्ये नगरपालिकाको कोषमा दुई करोड ५० लाख, वाग्मती प्रदेश सरकारबाट प्राप्त १२ लाख, टोखाका शिक्षक कर्मचारीबाट सहयोग नौ लाख ३१ हजार ८९५, टोखाका सहकारी संस्थाबाट सहयोग एक लाख ६६ हजार २११ रहेको छ । यसैगरी, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट तीन करोड २४ लाख, विभिन्न सङ्घसंस्थाबाट सहयोग दुई लाख ३० हजार, आधारभूत परीक्षा सञ्चालनको भत्ता र पारिश्रमिक अन्य कोषबाट हस्तान्तरण गरेको तीन लाख ८७ हजार रहेको नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकामा हाल ४१९ सक्रिय सङ्क्रमित रहेका छन् भने दुई हजारभन्दा बढी सङ्क्रमित निको भएर घर फर्किसकेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । टोखाले हालसम्म ६ हजार ५५ जनाको पिसिआर परीक्षण गरिसकेको छ । रासस
प्रदेश १ मा कोरोना उपचार निः शुल्क
मोरङ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुने छ । प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिशनसहितको केन्द्र निर्माण द्रुतगतिमा अगाडि बढिरहेको छ । लक्षणसहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज उपचार केन्द्रको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट सङ्क्रमितहरुको उपचारमा सहज हुने जनाउँदै प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताए । उनले सङ्घीय , प्रदेशले संयुक्तरुपमा यस केन्द्रको हाताभित्र थप एक सय श्ययाको भेन्टिलेटरसहित विशिष्टीकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० श्ययाको भेन्टिलेटरसहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए । उनले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० श्यया सहयोग गरेको जानकारी दिए । रासस
यो साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन
काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । सङ्घका अनुसार, विदेशमा १८ देशमा २८५ जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो साता नेपालमा मात्र एक लाख ९१ हजार ६३६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ५५ हजार ११४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ८१ प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गइसकेको छ ।