नेपालमा बस्ने पूर्वभारतीय सैनिकले मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा पाउने
काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसिएचएच) बीच सम्झौता सम्पन्न भएको छ । नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबिएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाईडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटो र नेपाल स्थित भारतीय राजदुतावासका इसिएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले आज कार्तिक १८ गते एक समारोहका बीच दुईपक्षिय सम्झौतामा हस्ताक्षर गरेका हुन् । अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसिएचएस कार्यक्रम अन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । नेपाल स्थित भारतीय राजदुतावास अन्तर्गत रहेको इसिएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउने छन् । कार्यक्रममा अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसिएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति रहेको थियो ।
भोजपुरमा पहिलोपटक कोभिड–१९ अस्पताल सञ्चालनमा
भाेजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन् । ‘हाम्रो स्थानीय सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ,’ स्थानीयबासी विष्णु भट्टराईले भने, ‘अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ ।” केन्द्र सरकारको निर्देशनानुसार अस्पताल निर्माण गरेको गाउँपालिकाले जनाएको छ । केन्द्रबाट आएको १० लाख रुपैयाँमा गाउँपालिकाले समेत लगानी गरेर अस्पताल निर्माण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । अस्पताल निर्माणले कोरोना भाइरस सङ्क्रमितसँगै गर्भवती महिला, वालबालिका, वृद्धावृद्धालाई समेत सहजता भएको गाउँपालिकाका उपध्यक्ष सम्झना राईले बताए । अस्पतालबाट भिडियो एक्सरे, रगत जाँच, ल्याबलगायत सेवासुविधा पाउने बताइएको छ । त्यस्तै, सबै बेडमा अक्सिजन रहेको अस्पतालका डा. कैलाश विश्कर्माले जानकारी दिए । अस्पतालमा मेडिकल अफिसरसहितको टोलीले स्थानीयवासीलाई सेवा प्रदान गर्ने उनले बताए । अस्पताल निर्माणले कोरोना भाइरस सङ्क्रमितको उपचारमा थप सहज हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले भने, ‘‘अस्पतालमा अक्सिजनलगायत आवश्यक सुविधा नहुँदा कोभिड–१९ का विरामीको उपचारमा समस्या देखिएको थियो, आवश्यक उपकरण र अक्सिजन सेवासहित अस्पताल निर्माण भएपछि अब हामीलाई व्यवस्थापनमा सहजता आउनेछ ।’’ रासस
बेनी अस्पतालको आइसियु: भएन उपयोग
बैनी । गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आइसियु कक्ष स्थापना गरिएको चार महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा गत असारभित्रै दुई भेन्टिलेटर र पाँच शय्याको आइसियु मेशिन तथा उपकरण र सामग्रीको खरिद गरी जडानसमेत भएको थियो । प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमृत अधिकारीले जानकारी दिए । तत्कालको लागि मेडिकल डाक्टर र स्टार्फ नर्सको व्यवस्थापन आन्तरिकरुपमा व्यवस्थापन गर्न सकिने भए पनि अन्य जनशक्ति थप गर्नुको विकल्प नरहेको उनको भनाइ छ । उनका अनुसार, अस्पतालमा अहिले आकस्मिकरुपमा छोटो समयको लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । अस्पतालमा पछिल्लो समय मिर्गौला पीडितको लागि डायलासिस सेवासमेत सुचारु गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताए । बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा भेन्टिलेटरसहितको आइसियुको आवश्यकता थप बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ । भेन्टिलेटरको आवश्यकता बढ्यो जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलँदै गएपछि बेनी अस्पतालमा आइसियु र भेन्टिलेटरसहित सेवा सुचारु गर्न थप दबाब बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ । आइसियु सञ्चालन नहुँदा यसै सातामात्रै गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं पु¥याइएको थियो । पछिल्लो समय बेनीमा लक्षणसहितका कोरोना सङ्क्रमित बढ्दै गएकाले भेन्टिलेटरसहितको आइसियु सेवाको थप आवश्यकता बढेकाले समितिले त्यसको लागि सम्बन्धित निकायमा पहल गरिरहेको अध्यक्ष कटुवालले जानकारी दिए । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने आइसियु स्थापना भएका प्रदेशभित्रका जिल्ला अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको जनाएको छ । स्वास्थ्यकर्मीमाथि भार बेनी अस्पतालमा रहेको दरबन्दीमध्ये विशेषज्ञ डाक्टरको जनशक्तिको चरम अभाव छ । दरबन्दीअनुसारको जनशक्ति नहुँदा एउटै व्यक्तिले दोहो¥याएर डियुटी गर्नुपर्ने बाध्यता आएको छ । अस्पतालमा एक जना मेडिकल सुपरीटेन्डेन्ट, आठ जना विशेषज्ञ र दुई जना मेडिकल डाक्टरको दरबन्दी रित्त रहेको छ । अस्पतालमा अहिले लोकसेवाबाट दुई जना मेडिकल अधिकृत, एक जना डेन्टल अधिकृत, एनएसआइएको तर्फबाट एक जना र करारमा पाँच जना गरी नौ जना डाक्टर कार्यरत रहेका छन् । हाल कार्यरतमध्ये तीन जना डाक्टरको सरुवा भइसकेको र अन्य केही डाक्टरको समेत सरुवा हुने क्रममा रहेको अस्पतालको प्रशासनले जनाएको छ । हिमाली जिल्लामा पर्ने म्याग्दीको बेनी अस्पताललाई सरकारले सुगममा राखेको र नम्बरमा पछि पर्ने भएकाले पनि यहाँ आउन डाक्टरले रुचि नदेखाउने गरेको पाइएको छ । रासस