अब पत्थरीको सम्पूर्ण उपचार सुर्खेतमै हुने
कर्णाली । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र भित्रिएसँगै यससम्बन्धी बिरामीले सुलभ र सहज उपचार पाउने भएका छन् । अस्पतालका निर्देशक डा डम्बर खड्काले उक्त यन्त्र रु एक करोड २७ लाखमा खरिद गरेको जानकारी दिए। उनका अनुसार होल्मियम लेजर प्रविधिबाट ढुङ्गालाई धूलो बनाई सिधै पिसाबका माध्यमबाट बाहिर पठाइनेछ । “यो सुविधा प्रदेशमै थिएन, हामीले कर्णालीमा भित्र्याएका छौं”, डा खड्काले भने, “यसले पिसाब नलीबाट रगत बग्ने समस्याको निराकरण हुनुका साथै स्वास्थ्यकर्मीलाई शल्यक्रिया गर्न सहज हुनेछ, हाल लेजर पद्धतिबाट गरिने यूरो सर्जरीको शुरुवात गरेका छौं ।” रासस
भक्तपुरकाे आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा
भादगाँउ । भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् । कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन् । भक्तपुरका विभिन्न आइसोलेसन केन्द्रमा ८७१ श्यया छन् तर मङ्गलबार दिउँसोसम्म ती केन्द्रमा जम्मा ५९ जना उपचाररत छन् । भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा छ, सैनिक आवासीय महाविद्यालयमा १५०, डा इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३०, खानेपानी तालीम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालीम केन्द्र खरिपाटीमा २०० श्ययाको आइसोलेसन केन्द्र छ । त्यसैगरी समिट अस्पतालमा १०, बिपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा तीन, मध्यपुर अस्पतालमा १३, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ श्ययाको आइसोलेसन केन्द्र रहेको छ । तीमध्ये भक्तपुर अस्पतालमा पाँच पुरुष र एक महिला गरी छ, सैनिक महाविद्यालयमा १२ पुरुष र एक महिला गरी १३, ब्रह्मायणीमा पाँच पुरुष र तीन महिला गरी आठ, केएमसी अस्पतालमा तीन पुरुष र तीन महिला गरी छ, सैनिक अन्तर्राष्ट्रिय शिक्षालयमा एक पुरुष तथा विद्युत् प्राधिकरण तालीम केन्द्रमा एक पुरुष सङ्क्रमित उपचाररत छन् । त्यसैगरी नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा तीन पुरुष र चार महिला गरी सात, मध्यपुर अस्पतालमा चार पुरुष र एक महिला गरी पाँच तथा कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा सात पुरुष र पाँच महिला गरी १२ सङ्क्रमित छन् । आइसोलेसन केन्द्रका बाँकी श्यया खाली छन् । सरकारले कोरोना सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश सङ्क्रमितको पहिलो रोजाइ होम आइसोलेसन हुने गरेको छ । शुरुमा सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि सङ्क्रमित होम आइसोलेसनमा बस्न थालेको सरोकारवाला बताउँछन् । दशैँ तिहारजस्ता ठूला चाडपर्वका कारण पनि सङ्क्रमितले होम आइसोलेसन राजेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए । “सङ्क्रमितले किन अस्पताल गएर उपचार नलिएको त्यो कुरो त हामीलाई भन्दा सङ्क्रमितलाई नै थाहा होला । सायद शुल्क लाग्ने र शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षितरुपमै आवश्यक औषधि लिएर बसेका होला”, उनले भने । होम आइसोलेसनमा बसे पनि सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित जानकारी लिइरहेको मिजारले बताए । उनले स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत सङ्क्रमितको जानकारी लिइरहेको जानकारी दिए । उनले भने, “घरमै बसेका सङ्क्रमितको निगरानी स्वास्थ्य उपचार स्थिति कस्तो छ भन्नेबारे स्थानीय तहका स्थानीय स्वास्थ्यकर्मीमार्फत ‘फलोअप’ गरेर आवश्यक उपचार दिइरहनुका साथै थप उपचार गर्नुपरे कुन अस्पताल लैजाने, के गर्ने सबै उनीहरुले जिम्मा लिएर गरिरहेको अवस्था छ ।” यसैगरी भक्तपुरमा आइसियु र भेन्टिलेटरसमेत खाली रहेका छन् । जिल्लामा १९ वटा आइसियु श्यया छन् तीमध्ये छ वटामात्र भरिएका छन्, बाँकी १३ वटा खाली छन् । जिल्लाको कोभिड अस्पताल भक्तपुर अस्पतालमा चार वटा आइसियु श्यया भए पनि यहाँ तीन पुरुष र दुई महिला गरी पाँच जनाको उपचार भइरहेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको आठ वटा आइसियु श्ययामध्ये एक पुरुषको मात्र उपचार भइरहेको छ । बाँकी आइसियु श्यया खाली रहेको छ । केएमसी अस्पतालमा सात आइसियु श्यया कोभिडका बिरामीलाई छुट्याए पनि यहाँको सबै श्यया खाली रहेको मिजारले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालका भेन्टिलेटरमध्ये १२ वटा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ तर तीमध्ये भक्तपुर अस्पतालको तीन वटामा दुई वटामात्र उपयोग भएको छ । यहाँ एक महिला र एक पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै केएमसी दुवाकोटको तीन र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको छ वटा भेन्टिलेटर खाली रहेको छ । रासस
निःशुल्क परीक्षण र उपचार सरकारको दायित्वः मन्त्री ढकाल
काठमाडौं । सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड-१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट गरे । खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो । नेपालमा अहिलेसम्म करीब १५ लाखको पिसिआर परीक्षण गर्दा दुई लाखमा सङ्क्रमण पुष्टि भएको छ । शुरुमा कोभिड-१९ को पिसिआर परीक्षणको पुनःपरीक्षण गर्न हङ्कङ पठाइएकामा हाल नेपालमै रकारी र निजी गरी ७३ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिन्छ । सरकारले स्वेच्छाले पिसिआर परीक्षण गर्नका लागि परीक्षण शुल्क रु दुई हजार तोकेको छ । ती प्रयोगशालाबाट दैनिक १५ हजारको सङ्ख्यामा परीक्षण भइरहेको छ । कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले दुई कल सेन्टरबाट सेवा प्रदान गरिरहेको छ । कोभिड-१९ को रोकथाम र उपचारका लागि मन्त्रालयले करीब दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर बनाएको छ ।