चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालन, भरतपुर जानुपर्ने बाध्यताको अन्त्य
चितवन । चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रबार नगर अस्पतालको उद्घाटन गरे । सो अवसरमा उनले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट शुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए । “ नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ”,उनले भने, “उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।” विसं २०४९ मा स्थापना गरिएको जुटपानी स्वास्थ्यचौकीको २०६३ मा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । अस्पतालमा स्तरोन्नति भएसँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवासहित आकस्मिक सेवा, इसिजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा थप गरिएको छ । चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्थासहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । सो अस्पतालमा चार विशेषज्ञ चिकित्सकसहित ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइडको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उनले बताए । रासस
मुटुको उपचार गर्न राजधानी धाउनुपर्ने मान्यतालाई तोड्दै चितवन मेडिकल कलेज, जटिल उपचारसमेत गर्न सफल
चितवन । जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौं नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो । मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौंको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १५३ को, पिटिएमसि १६० को र अस्थायी पेसमेकर १३९ जनाको गरीसकिएको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिए । अस्पतालको मुटुरोग विभागका प्रा डा सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हाल शल्यक्रियाको तयारी थालिएको छ । शुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न लागिएको हो । रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ । कलेजको मुटु विभागमा रेग्मीसहित प्रा डा श्यामराज रेग्मी, सहप्राध्यापक डा विष्णुमणि धिताल, मेडिकल कलेजले लिङ्कन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भइरहेको फेलोसिप गर्दै गरेका दुई चिकित्सक कार्यरत छन् । यो समूहलाई प्राविधिक र नर्सिङ समूहले सहयोग पुर्याउँदै आएको छ । कलेजमा मुख्यगरी चितवनसहित नवलपरासी, धादिङ, लमजुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लाबाट बिरामी आउने गरेको उनले जानकारी दिए । राजधानी काठमाडौंबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । सबै उमेर समूहका बिरामी आउने गरेको उनको भनाइ छ । अस्पतालमा इसिजी, इको, एबिपिएम, हल्टरलगायतका उपकरणको सहयोगमा समेत उपचार गर्ने गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले मुटुको उपचारमा गङ्गालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दाबी गरे । विगत सात वर्षयता राजधानी काठमाडौंसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उनको भनाइ छ । न्यौपानेले भने, “हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौं ।” यो शल्यक्रिया सेवा शुरु भएसँगै मुटुको भल्ब प्रत्यारोपणसमेत गर्न सकिने छ । न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने एक लाख रुपैयाँ सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आइरहेको छ । पचहत्तर वर्षमाथिका र १४ वर्षमुनिका बिरामीका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको छ । कलेजमा मुटुरोग उपचारका लागि छुट्टै २० शय्याको मुटु सघन उपचारकक्ष र अर्को २० शय्याको मुटुका बिरामीको साधारण कक्ष रहेको छ । न्यौपानेले मुटुरोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताए । कलेजले यहाँ सेवा शुरु नगर्दा धेरै बिरामीको उपचारको अभावमा मृत्युसमेत हुने गरेको थियो । रासस
भाइरल ज्वरोका कारण खोटाङ जन्तेढुङ्गा गाउँपालिकाका सबै विद्यालय बन्द
खोटाङ । भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए । गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण र भौतिक निर्माणलगायत प्रशासनीक कार्य सञ्चालन गराउन सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षा समितिको मङ्गलबार बसेको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै एक सप्ताहका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । यसैबीच साकेला गाउँपालिकाले शिक्षा ऐन, २०७७ कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले मङ्गलबार आयोजना गरिएको दशौँ गाउँसभाले १७ परिच्छेद ९८ दफा र १७ अनुसूची समावेश गरिएको सो ऐन ल्याएको हो । सो ऐन पारित भएपछि मुख्य गरी सामुदायिक विद्यालयमा रिक्त रहेका अङ्ग्रेजी, गणित, विज्ञान, लेखा, कम्प्युटर, सिभिल इन्जिनीयर, इलेक्ट्रिकल इन्जिनीयर, पशुपालन वा बाली विज्ञानलगायत प्राविधिक विषयको जनशक्ति परिपूर्ति गर्नका लागि स्थानीय अस्थायी अध्यापन अनुमतिपत्र जारी गर्न सक्ने बाटो खुलेको छ । यसरी दिइएको अध्यापन अनुमतिपत्र पाँच वर्षका लागि मान्य हुने बताइएको छ । त्यस्तै ‘साकेला गाउँपालिकाको अबको निकास, सामाजिक आर्थिक रुपान्तरणसहितको दिगो विकास’ भन्ने नाराका साथ सञ्चालित गाउँसभाले बहुमतका आधारमा सो ऐन पारित गरेको हो । रासस