काँचुली फेरिएको भक्तपुर अस्पताल
भक्तपुर । स्थापनाको एक शताब्दी बितिसक्दा पनि सेवा दृष्टिले अत्यन्त पछाडि परेको भक्तपुर अस्पतालले बितेको एक वर्षमा काँचुली फेरेको छ । कोरोना भाइरसको महामारीका बेला उत्कृष्ट सेवा दिन सफल यो अस्पताल वाग्मती प्रदेशको उत्कृष्ट अस्पताल मात्र बन्न सफल भएन स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा समेत उत्कृष्ट बन्न सफल भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने टोलीले अस्पतालको स्थलगत अध्ययन गरी दिएको अङ्कको आधारमा भक्तपुर अस्पतालले उत्कृष्ट अङ्क हासिल गरेको हो । उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा अर्जुन सापकोटाले बताए । गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराब अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनु परेको थियो । भक्तपुर अस्पताल कुनै बेला रिफरल अस्पतालको रूपमा परिचित थियो । यहाँको सेवाप्रति जनताको विश्वास हट्दै गएको थियो । उपचारका लागि दक्ष जनशक्तिको अभाव थियो । दरबन्दीअनुसारको चिकित्सक पाउन मुस्किल थियो । एक्स–रे, ल्याबलगायतको सेवा नियमित थिएन तर अहिले अवस्था फेरिएको छ । अस्पतालले बितेको एक वर्षमा गरेको एकपछि अर्को सुधारका कार्यक्रमले अस्पतालको साख बढ्न थालेको छ । अस्पतालप्रति स्थानीयवासीको विश्वास बढ्न थालेको छ । प्रदेशस्तरीय भक्तपुर अस्पतालमा हाल १०२ शय्या छन् । तीमध्ये १० शय्या इमर्जेन्सी सेवामा छ भने बाँकी ९२ श्ययामध्ये कोरोना स्ङ्क्रमितका लागि २०, प्रसूति सेवाका लागि २५, मेडिकल वार्डमा २१, सर्जिकल वार्डमा २० र आइसियुमा छ शय्या छन् । त्यस्तै यस अस्पतालमा तीन वटा भेन्टिलेटर सञ्चालनमा रहेको छ । केही महिनापछि हाइकेयर युनिट (एचसियु)को रूपमा ७५ शय्या सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् । “एचसियुका लागि आवश्यक सामग्रीको लागि बोलपत्र आह्वान गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ”, उनले भनिन् । भक्तपुर अस्पतालले एक वर्षमा एक हजार ६६२ वटा शल्यक्रिया गर्न सफल भएको मेसु गौतमले बताइन् । “पहिलाजस्तै अलिकति क्रिटिकल भयो कि रिफर गर्ने सिस्टम पूर्णरूपमा बन्द गरिसक्यौँ । हामीसँग भएको इक्विपमेन्टले भ्याएसम्म सबै शल्यक्रिया यही गरिरहेका छौँ । एक÷दुई वटा हामीले गर्न नसकेको मात्र रिफर गरी पठाएका छौँ ।” अस्पतालको सेवाले गति लिए पनि दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी अझै पाउन नसकेको मेसु गौमतले गुनासो गरिन् । दरबन्दीअनुसार नेपाल सरकारका १२९ जना स्वास्थ्यकर्मी अस्पतालमा हुनुपर्ने भए पनि हाल ५५ जना मात्र उपलब्ध भएको उनले बताइन् । “सरकारको दरबन्दीअनुसार अस्पतालमा १२९ हुनुपर्नेमा जम्मा नेपाल सरकारबाट ५५ जना उपलब्ध छन् । बाँकी सबै व्यवस्थापन समिति, नेपाल सरकारको करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरिरहेका छौँ”, उनले भनिन् । अस्पतालमा हाल १४५ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन । तीमध्ये नर्स र अनमी ४२, पारामेडिक आठ, पिसीआरसहित ल्याबमा १२, रेडियोग्राफर चार, विकास समितिका ५२, लेखा, प्रशासन, स्टोरमा एक एक जना, स्वास्थ्य बीमाका चार जना कार्यरत छन् । भक्तपुर अस्पतालमा हालै ल्याप्रोस्कोपी सर्जरीसमेत शुरु भएको छ । छिट्टै पार्किन्सोनिजम (बिर्सिने रोग)को उपचार थाल्ने प्रक्रिया अगाडि बढाएको मेसु गौतमले बताइन् । साथै आँखाको शल्यक्रिया गर्ने सेवा विस्तार गर्न तिलगङ्गा अस्पतालमा कुराकानी भइरहेको जानकारी दिँदै उनले भनिन्, “अपाङ्गता भएका बच्चा नजन्मियोस् भन्ने परीक्षण गर्ने र सानासाना नानीका लागि छ शय्याको आइसियु सञ्चालन गर्ने लक्ष्यका साथ अस्पताल परिवार अगाडि बढेको छ ।” अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । “शल्यक्रिया, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चस्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ”, मेसु गौतमले भनिन् । त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवासमेत दिने व्यवस्था गरेको मेसु डा गौतमले जानकारी दिइन् । अस्पतालले पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ । अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याइएको हो । साथै खुट्टा, छाती, पेटलगायत विशेष अङ्गको भिडियो एक्सरे सेवा र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ । अस्पतालका सूचना अधिकारी डा सुनिल ढुङ्गेलले अस्पतालमा अहिले सहकार्य र टिम वर्कको विकास भएकाले सुधार आएको बताए । उनले भने, “पहिला अस्पतालमा टिम वर्क हिसाबले काम गरौँ भन्दा मनमुटाव हुने अनेकौँ समस्या आउँथ्यो तर त्यो सबै हराए । सबै जना मिलेर काम गरेकाले अहिले काम गर्ने वातावरण एकदमै उत्साहजनक देखिएको छ ।” कोरोनाले जुटाएको अवसर विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसले हरेक क्षेत्रलाई असर गरे पनि स्वास्थ्य क्षेत्रमा भने अवसर पनि जुटाइदिएको छ । यसको एउटा प्रत्यक्ष उदाहरण भक्तपुर अस्पताल पनि बनेको छ । अस्पतालले कोरोना महामारीका बीच नै भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा ल्यायो । कोरोनाको जोखिमका कारण अन्य अस्पतालले नियमित सेवा बन्द गरेको अवस्थामा भक्तपुर अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सबै सेवालाई नियमित सञ्चालन गर्यो । यसले सरकारी अस्पताल जनताको अस्पताल हो भन्ने सन्देश दिन सफल भएको अस्पतालका अर्का चिकित्सक डा दीपक भण्डारीले बताए । उनले भने, “पहिला आइसियु सञ्चालन गर्न नसकेको अस्पतालमा कोभिडको बेला आइसियु सञ्चालन गरेर सबै सेवा यही उपलब्ध गरायौँ । अरुबेला रिफर गर्नुपर्ने केसहरु कुनै पनि रिफर गर्नु परेन । यसले गर्दा जनताको विश्वास जित्न सफल भयौँ ।” भक्तपुर अस्पतालले स्थापनाको ११६ वर्षपछि गत आश्विन पहिलो सातादेखि आइसियु सञ्चालनमा ल्याएको हो । सरकारले कोरोना ‘हब’ अस्पताल बनाएपछि भक्तपुर अस्पतालले वर्षौंदेखि थन्किएका सामान र आइसियुका भेन्टिलेटरसहितका उपकरण र वाग्मती प्रदेश सरकारले पठाएको सामग्रीबाट पाँच वटा भेन्टिलेटर र छ शय्याको आइसियु सञ्चालनमा ल्याएको छ, तीमध्ये तीन वटा भेन्टिलेटरसहित चार शय्या कोरोना सङ्क्रमितका लागि छुट्याइएको छ । मेसु गौतमले भन्नुभयो, “अस्पताललाई आइसियु अतिआवश्यक भइसकेको थियो । अस्पतालको सिङ्गो समूह मिलेर आइसियु ब्लक निर्माणदेखि अन्य सबै तयारी पूरा गरी करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्यायाैँ ।” अस्पतालले सरसफाइ क्षेत्रमा पनि उल्लेख्य सुधार गरेको छ । कुनै बेला दुर्गन्धले भरिपूर्ण हुने यस अस्पतालमा अहिले फोहोरको उचित व्यवस्थापन हुँदै आएको छ । अस्पतालले बायोग्यास प्लान्ट स्थापना गरेको छ । प्लाष्टिक र कागजजन्य फोहोरको व्यवस्थापनका लागि नगरपालिकासँग सम्झौता गरेको छ । अस्पतालको स्थापना राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा विसं १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट भएको हो । विसं २०२८ मा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रूपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ शय्याको प्रसूतिगृह थप गरी ७५ शय्या सञ्चालनमा आएको थियो । रासस
कोरोनाका कारण ६०० बढी पत्रकारको मृत्यु
जेनेभा । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ । प्रेस एम्ब्लेम क्याम्पेन ९पीईसी०ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन् । त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । स्विट्जरल्याण्डको जेनेभामा कार्यालय रहेको यस संस्थाले पत्रकारहरु समाचार सङ्कलन तथा प्रसारणका लागि सम्बन्धित ठाउँमा नै जानु पर्ने भएकाले उनीहरुमा सङ्क्रमणको खतरा धेरै रहेको बताइएको छ । “पत्रकारहरु स्थलगत रुपमा काम गर्नु पर्ने व्यावसायिक प्रकृतिका भएकाले सङ्क्रमणको सम्भावना बढी हुन्छ, त्यसैले उनीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन पनि प्राथमिकता दिनुहुन सबैलाई अनुरोध छ,” पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा लेखिएको छ । फोटो तथा भिडियो सङ्कलन गर्ने, स्थलगत समाचार सङ्कलन गर्ने, स्टुडियोमै गएर समाचार सामग्री प्रस्तुत गर्ने, घटनास्थलमै गएर रिपोर्टिङ गर्ने पत्रकारहरुले घरमै बसेर काम गर्न नमिल्ने भएकाले पनि पत्रकारहरु बढी खतरामा रहेको उनको भनाइ छ । देशअनुसार हेर्दा कोरोनाका कारण सबैभन्दा बढी पत्रकारको मृत्यु पेरुमा भएको देखिएको छ । पेरुमा ९३ जनाको मृत्यु भएको उल्लेख छ । दोस्रो धेरै ब्राजिलमा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने भारतमा ५३ जना, मेक्सीकोमा ४५ जना र इक्वेडरमा ४२ जनाको मृत्यु भएको छ । त्यसैगरी बङ्गलादेशमा ४१ जना, इटलीमा ३७ जना र अमेरिकामा ३१ जनाको मृत्यु भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस
अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश
वाशिङ्टन डिसी । गत वर्षदेखि चीनबाट शुरु भएर विश्वभर फैलिएको कोभिड– १९ को त्रास खोपको आविष्कारपछि सहज बन्न थालेको छ । अमेरिकालगायत विश्वका विभिन्न देशमा यो खोप पुग्न थालेको छ । यसले झण्डै एक वर्षदेखि त्रासमा रहेको विश्व मानव समुदायलाई आशाको सञ्चार पनि गरेको छ । अमेरिकामा कोरोना विरुद्धको खोप सरकारी निकायले आकस्मिक प्रयोजनको लागि स्वीकृति प्रदान गरेर उपलब्ध हुन थालेको तीन साता मात्र भएको छ । अहिलेसम्म करिब २० लाख अमेरिकीले यो खोप लगाइसकेका छन् । यो समाचार तयार पार्दासम्म ६० लाख डोज खोप अमेरिकाको स्वास्थ्य सेवा प्रदायक निकायहरुमा उपलब्ध भएको छ । यही प्रक्रियाबाट कतिपय नेपालीहरुले पनि खोप लगाउन सफल भएका छन् । अमेरिकी सरकारको खोप वितरण सम्बन्धी नियमअनुसार पहिलो चरणमा पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीहरु, ज्येष्ठ नागरिक सेवा केन्द्र र अत्यावश्यक सेवामा काम गरेकाहरु परेका छन् । अमेरिकाको केन्टकी राज्यमा बस्दै आएकी रेखा जोशी पनि त्यसरी खोप लगाउनेमध्ये एक नेपाली हुन् । उनले गत हप्तामात्र खोप लगाएको बताइन् । उनले आफनो अनुभव सुनाउँदै भनिन् ‘‘मैले मेरो देब्रे पाखुरामा कोभिड १९ विरुद्धको खोप लगाएँ, त्यसपछि मलाई १५ मिनेट आराम गर्नको लागि भनियो । त्यहीअनुसार आराम गरेँ र निस्कन खोज्दा मलाई अनुहारमा पसिना आएको अनुभूति भयो । मैले मास्क खोलेर म्यानेजरको नजिक गएर पसिना आएको बताएँ तर मलाई केही बेरपछि थाहा भयो कि त्यो पसिना कुनै ‘साइड इफेक्ट’ नभएर मानसिक तनावको कारण रहेछ । जोशीले भनिन् ‘‘म धन्य रहेछु विश्वका करिब सात अर्ब मानिसले प्रतिक्षा गरिरहेको ऐतिहासिक खोपको पहिलो चरणमा नै लगाउने मौका मैले पाएँ ।’’ उनले आफनो जन्मस्थानको परिवेशदेखि जीवन यात्रा सम्झिएर आफूलाई निकै भाग्यमानी ठानेको प्रतिक्रिया दिइन् । अमेरिकामा फूड एड ड्रग एडमिनिष्ट्रिेशनले अत्यावश्यक प्रयोगको लागि अनुमति प्रदान गरेको कम्पनीमध्ये मोडर्ना कम्पनीको खोप लगाउन थालिएको हो । यो खोप लिने रेखाजस्तै करिब २० लाख अमेरिकीले आफूहरुलाई भाग्यमानी सम्झिएका छन् । उनीहरुले आफ्ना अनुभवलाई विभिन्न माध्यमबाट व्यक्त पनि गरिरहेका छन् । कुराकानीको क्रममा उनले सरकारी मापदण्डअनुसार पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीलाई प्रदान गरिने यो खोप उहाँको कार्यालयकै प्रशासन तथा व्यवस्थापन विभागमा काम गर्नेहरुले लगाउन पाएका छैनन् । तर नियमित प्रक्रियामा परेकाले आफूले लगाउन पाएको बताइन् । रेखाले खोप लगाउनका लागि दिएको फार्म हस्ताक्षर गरेको दिनको स्मरण गर्दे भन्नुभयो ‘‘क्रिसमसको अघिल्लो दिन हामीलाई विभिन्न उपहार दिन लागिएको थियो, म पनि पङ्क्तिबद्ध थिएँ, यसैक्रममा एकजना सहकर्मीले एउटा फर्म देखाउँदै भने, “तपाई खोप लगाउन राजी हुनुहन्छ ? मैले जवाफमा हुन्छ भन्या र हस्ताक्षर पनि गरेँ ।’’ शरीरमा खोप लगाउने नलगाउने भन्ने कुरा इच्छामा भरपर्ने भएकाले हस्ताक्षर गर्नु अगाडि उनीसँग त्यसरी अनुमति मागिएको थियो । रेखाले नयाँ खोप लगाउने अनुमति दिएर घर त आइन् तर उनमा बेचैनी शुरु भयो । कतै यो खोपले उल्टो असर पो गर्छ कि ? अथवा नयाँ खोप विश्वास पो कसरी गर्ने ? उनले भनिन् ‘‘परिवारका सदस्यहहरुले हजारौँ मानिसमा परीक्षण गरेपछि ल्याएको खोपलाई विश्वास गर्ने गरी ढाडस दिएकाले मैले पूर्ण आत्मविश्वासका साथ यो खोप लगाउने निर्णय गरेको थिएँ ।’’ यसैगरी न्यूयोर्कको हेल्थ केयर सिष्टममा कार्यरत हीरा कँडेल सापकोटा पनि खोप लगाउने अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीमा परेका छन् । उनले खोप लगाउँदाको अनुभव बाँड्दै भने ‘‘मलाई खोप लगाउने बेलामा केही बढी दुखाई त भयो तर सहन नसक्ने भन्ने होइन ।’’ खोप लगाउन पाएर कोरोना भाइरसका विरुद्धमा विज्ञानले हासिल गरेको उपलब्धिलाई आत्मसात गरेको भन्दै कँडेल थप्नछन्, ‘‘विज्ञानले गहिरो अनुसन्धान पश्चात मानवीय परीक्षणको चरण समेत पार गरेर उत्पादन गरिएको खोप लगाउन पाउँदा मलाई निकै खुशी लागेको छ ।’’ कँडेलका अनुसार यो खोपको दोस्रो चरणपछि मात्रै यसको असरको बारेमा विस्तृतमा भन्न सकिन्छ । खासमा कुनै एलर्जीको इतिहास भएका या गर्भवती महिलालाई खोप दिन नहुने बताइएको छ । करिब नौ महिनाको अथक प्रयासपछि कोरोना भाइरस विरुद्धको खोप अमेरिकाका दुई कम्पनीले बजारमा ल्याएका छन् । यी दुई कम्पनीमा फाईजर र मोडर्ना कम्पनी रहेका छन् । यसलाई अमेरिकी सरकारले आकस्मिक उपयोगको लागि भन्दै डिसेम्बर महिनामा स्वीकृति प्रदान गरेको हो । विश्वको चिकित्सा क्षेत्रको इतिहासमा यस्ता खोप निर्माण गरेर मानिसमा लगाएपछि महामारी नियन्त्रण गरिएका विगतको इतिहास छ । तर कोरोना भाइरस विरुद्धको खोप विश्वभरको जनसङ्ख्यालाई लगाउने गरी पुग्न भने केही समय कुर्नुपर्ने विशेषज्ञहरुको भनाइ रहेको छ । अमेरिकामा जनवरीभरमा करिब एक करोड नागरिकलाई खोप लगाइने बताइएको छ । खोप मानव शरीरमा बाह्य वस्तु शरीरमा पठाएर त्यस भाइरस विरुद्ध लडनसक्ने क्षमता विकास गर्ने गरी विकसित गरिएको हो । यसको ९० प्रतिशत भन्दाबढी शरीरले ग्राह्य गरेको भन्नुको अर्थ केही मानिसमा खोपको कारणले केही सामान्य लक्षण आउने सम्भावना रहने विज्ञहरुको तर्क रहेको छ । तर यो समाचार तयार पार्दासम्म करिब २० लाख जनामा दिइएको खोपको केवल केही मानिसमा मात्र समस्या देखा परेको विवरण सार्वजनिक भएको छ । खोप लगाएपछि खोपले पार्ने असरको बारेमा फर्म भरेर दिनुपर्ने प्रावधान भएकाले यस सम्बन्धी केही असर भएको देखिएमा अध्ययन पश्चात रिपोर्ट आउने अपेक्षा गरिएको छ । अमेरिकामा खोपको क्षेत्रमा अनुभव हासिल गर्नुभएका डा सञ्जीव सापकोटा अहिलेसम्म मानिसहरुमा दिइएको कोभिड खोपमा त्यस्तो गम्भीर असर नदेखिएको बताउनुहुन्छ । केहीलाई सामान्य ज्वरो, दुखाई र खोप दिएको ठाउँमा सुनिने बाहेक अरु समस्या देखिएको तथ्य सार्वजनिक भएको छैन । सापकोटाको भनाइ छ ‘‘खोप शतप्रतिशत नै प्रभावकारी हुन्छन् भन्ने होइन ।’’ सापकोटाको अगाडि थप्नुहुन्छ ‘‘यो खोप मानवीय परीक्षणका तीन चरण पार गरेर बनाइएको हो, त्यसैले यो सुरक्षित र प्रभावकारी छ । सापकोटा खोप लगाइसकेपछि पनि भाइरस विरुद्धको सुरक्षाका उपायहरु अपनाउनुपर्ने बताउनुहुन्छ । पछिल्लो पटक बेलायतलगायतका देशहरुमा देखा परेको द्रुत गतिको भाइरसको लागिसमेत यो खोप प्रभावकारी भएको खोप सम्बन्धी क्षेत्रमा कार्यरत विज्ञहरुले बताएका छन् । सापकोटाले नेपाल सरकारले कम्पनीसँग सिधैँ समन्वय गरेर खरिद गर्ने प्रबन्ध मिलाएको खण्डमा नेपाली जनता माझ पनि चाँडो खोप उपलब्ध हुनसक्ने बताए । तर नेपाल सरकारले कोभ्याक्स सुविधा अन्तर्गत सम्झौता गरेकोले त्यसको २० प्रतिशत खोप वैशाखसम्ममा नेपाल पुग्नसक्ने अनुमान सापकोटाको रहेको छ । स्मरणीय के छ भने मेक्सिको, बेलायत, क्यानाडा, ईजरायल, साउदी अरेबियाजस्ता देशले अमेरिकी कम्पनीसँग सिधैँ खोप खरिद गर्ने सम्झौता गरेकाले ती देशमा अमेरिकामा उत्पादन भएको बहुप्रतिक्षित खोप तीन साताभित्रै निर्यात भएर खोप वितरण गर्न समेत शुरु भइसकेको छ । अमेरिकाको स्वास्थ्यसम्बन्धी निकाय सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले दिएको जानकारीअनुसार अमेरिकी सरकारले करदाताको करबाट खोप खरिद गरिने भएकाले अमेरिकी नागरिकलाई निःशुल्क वितरण गरिने जनाएको छ । अमेरिकी सरकारले खोपको उपलब्धतालाई मध्यनजर राख्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, हेल्थ केयर सेन्टरमा बसिरहेका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको छ । त्यसपछि पहिलो पङ्क्तिमा कार्यरत अत्यावश्यक सेवाका अग्नि नियन्त्रक, सुरक्षाकर्मी, कृषि क्षेत्र, हुलाक सेवा, ग्रोसरी स्टोर, यातायात क्षेत्रलगायतका कार्यालय र क्षेत्रमा कार्यरत कर्मचारी रहेका छन् । यसैगरी शिक्षा क्षेत्रका कर्मचारी तथा शिक्षक, सहयोगी, डे केयर सेन्टरमा काम गर्ने र ७५ वर्ष उमेर समूहभन्दा माथिकालाई खोप लगाइने भएको छ । त्यसपछि मात्र १४ वर्ष देखि ६४ वर्ष मुनिका र अन्य स्वास्थ्य समस्याका कारणले जोखिममा रहेकालाई खोप लगाइने नीति अमेरिकी सरकारले बनाएको छ । अमेरिकामा दुई करोड १० लाख स्वास्थ्यकर्मी, ३० लाख ७५ वर्ष उमेर समूहभन्दा माथिका नागरिकले पहिलो चरणमा खोप लगाउने छन् । त्यसैगरी आठ करोड ७० लाख अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई पनि यो खोप दिइने छ । यी नागरिहरुले आगामी वैशाख÷जेठसम्ममा खोप लगाउन सक्ने अनुमान गरिएको छ । रासस