बुधबार ३१८ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ३१८ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३ हजार ६९३ पुगेकाे छ । नेपालमा आजसम्म २० लाख २६ हजार ७२६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३८३ जना निकाे भएसँगैं हालसम्म २ लाख ६२ हजार ६४२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १९७५ पुगेकाे छ ।

भारतले कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान दिने, बिहीबार नै काठमाडौं आइपुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान सहयोग गर्ने जानकारी दिईएको हो । मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने बताए । खोपको लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पुरा भइसकेको उनले जानकारी दिए । आवश्यक खोप बिहीबार नै काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए । यति खोप मात्रै पर्याप्त नभएको भन्दै उनले बाँकी खोप नेपाल भित्राउन पनि खरिद प्रक्रिया अगाडी बढाउने उनको भनाई छ । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताए । खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरीकन अगाडी बढाईने उनको भनाई छ ।

विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ । रासस/एएफपी