काठमाडाैं महानगरमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान स्थगित

काठमाडौं । काठमाडौं महानगरले गत फागुन २३ गतेबाट सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान स्थगित गरेको छ । महानगरले अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै मंगलबारबाट ओप अभियान स्थगित भएको जनाएको हो । महानगरले १४ वटा खोप केन्द्रबाट यसअबधिमा ४८ हजार ६८ जनालाई खोप लगाईएको जनाएको छ । दोस्रो चरण अन्तरगत ६५ वर्ष उमेर समूहभन्दा माथिका जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गरिएको महानगर अन्तर्गतकाे सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त नभएसम्मका लागि खोप अभियान स्थगित गरिएको स्वास्थ्य नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार १४ खोप केन्द्रबाट २५ हजार ३ सय २५ जना पुरुष र २२ हजार ७ सय ४३ जना महिलाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । विभागको तथ्यांक अनुसार सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जना र ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८ जनाले खोप लगाएका हुन् । यसैगरी, वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३, नेपाल प्रहरी अस्पतालबाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्सालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९, स्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाइसकेका छन् । जनमैत्री अस्पतालबाट २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६ सय १० जनाले खोप लगाए । छत्रपाटी निशुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसुति गृह थापाथलीबाट २ हजार ९ सय ९९ ले खोप लगाए । सबै भन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २ सय ६७ ले खोप लगाएका छन् । महानगरपालिकाले खोप केन्द्रमा बस्नका लागि कुर्सी, तातो र चिसो पानी, चिया, कुकिज, फलफुल र टेण्टको व्यवस्था गरेको थियो ।

पाटन अस्पतालमा मिर्गाैला उपचार गराउने बिरामी बढे

काठमाडाैं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । ‘हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ’, अस्पतालका निर्देशक डा रवि शाक्यले भने, ‘एक दिनमा लगभग ४५ मिर्गौलापीडितको डायलासिस भइरहेको छ । साना बालकदेखि वृद्धसम्म यस रोगको उपचार गराउन आउँछन् ।’ पाटनले लामो समयदेखि सो रोगको शिकार भएका मानिसलाई निःशुल्क उपचार सेवा दिनुका साथै नयाँ बिरामीलाई भने वार्षिक एक लाख बराबरको निःशुल्क उपचार सेवा दिने गरेको डा शाक्यले जानकारी गराए । सोह्र वर्ष उमेरमुनिका तुलनामा ५० वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताइन् । मिर्गौला मानव शरीरको अति महत्वपूर्ण अङ्ग हो । यसले शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । मिर्गौला फेल भएका मानिसको शरीरबाट विषाक्त रासायनिक पदार्थ बाहिर निस्कन पाउँदैन र उनीहरूलाई दिनानुदिन सो रोगले असर गर्दै जान्छ । सो रोग लागेपछि हातखुट्टा अनि अनुहार सुनिने, थकान महसुस हुने, छाला चिलाउने, भोक नलाग्ने, कम्मरको भाग दुख्ने आदि समस्या देखिने चिकित्सकको भनाइ छ । उच्च रक्तचाप र मधुमेहजस्ता रोग भएका मानिसले मिर्गाैला बचाउन सदैव विशेष ध्यान पुर्याउनुपर्छ । मिर्गाैला स्वस्थ राख्न स्वास्थ्य, खानपान र सक्रिय दिनचर्या अपनाउनसमेत जरुरी छ । यसैगरी पाटनले विगत १० वर्षअघिदेखि उपचार सेवा दिन थालेको मानसिक विभागमा समेत बिरामी खचाखच भरिएका बताएको छ । मुलुकमा कोरोना कहर देखिएसँगै पाटनले सो रोगका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन सुरु गरेको छ । अन्य रोगका बिरामी उपचार गराउन आउने सङ्ख्या १० देखि ३० प्रतिशत झरेकामा हाल पूर्ववतरूपमा फर्किँदै गइरहेको अस्पताल स्रोतले जनाएको छ । रासस

पूर्वमन्त्री जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी

काठमाडाैं । नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहेका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिएका हुन् । उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर उनको अवस्थाबारे जानकारी गराएको हो । विज्ञप्तिमा केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ । ‘आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उनको अहिले अवस्था गम्भीर रहेको छ ।’ फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो ।