दमौली अस्पताललाई एक करोडको उपकरण हस्तान्तरण

तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड रुपैयाँ मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर, अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो । पूर्वमन्त्री शंकर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरेका हुन् । नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा बिरामीले ‘ल्याब रिपोर्ट’ पाउने छन् । यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा बढी समय लाग्दैआएको थियो । उपकण हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ मिश्र लगायत सहभागी थिए । यसैबीच, प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीले अस्पतालको स्तरोन्नतिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छा् ।

स्वास्थ्यमन्त्रीको निर्णयपछि कति भयो सरकारी अस्पतालको सुधार ?

काठमाडौं । सरकारी अस्पतालमा सेवाग्राहीको भीड हुँदा प्रभावकारी व्यवस्थापन नभएको भन्दै पटक–पटक आलोचना हुन्छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न संघीय अस्पतालमा बिरामीको भीड हुँदा सेवा पाउन मुस्किल हुने गरेको आम नागरिकको गुनासो छ । सरकारी अस्पतालमा दिनभर लाइनमा बसेर साँझ पालो नपाएर घर फर्किनु पर्ने बाध्यता पनि छ । काठमाडौंका ठूला अस्पताल वीर, टिचिङ, थापाथली र शुक्रराज अस्पतालमा अप्रेसनको लागि महिनौ कुर्नुु पर्ने बाध्यता छ । आम नागरिकको यो गुनासोलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल सेवा सुधारको सुरुवात गरेका गरिने प्रतिबद्धता गरेका थिए । उनले स्वास्थ्यमन्त्रीको सपथ लिएकै दिन अस्पतालको भीड व्यपस्थापन गर्ने निर्णय गरेका थिए । अहिले उनी स्वास्थ्य मन्त्री बनेको एक महिना भएको छ । आफ्नो पहिलो निर्णयअनुसार मन्त्री पौडेलले सेवाग्राहीलाई सहजरूपमा सेवा प्रदान गर्न संघीय अस्पताल र प्रतिष्ठानका प्रमुखसँग छलफल पनि गरेका छन् । उनले आफूले गरेको पहिलो निर्णयको कार्यान्वयन र प्रभावकारिताको विषयमा पनि सोधखोज गरेका छन् । अस्पतालहरूले पनि एक महिनाको अवधिमा धेरै सुधार भएको धारणा राखेका छन् । कुन अस्पतालको कस्तो सुधार ? शुक्रराज ट्रपिकल काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भीडभाड कम गर्न ओपीडी सेवा दुई सिफ्टमा गर्न थालेको छ भने चार वटा टिकट काउन्टर टोकन प्रर्णाली, अनलाइन टिकेटिङको व्यवस्था गरेको जानकारी दिएको छ । अस्पतालले शैया अभावमा भर्ना नपाउने अवस्थाको अन्त्य भएको, स्वास्थ्य बीमा मार्फत प्राप्त हुने फार्मेसीमा ९० प्रतिशतभन्दा बढी औषधी उपलब्ध गराइएको र चौबीसै घण्टा सोधपुछका लागि साहयता कक्ष सञ्चालन गरेको बताएको छ । यस्तै, अस्पतालमा पीउने पानी, शौचालयको सफाइमा ध्यान दिनेदेखि नियमित कामका लागि अस्पताल प्रमुखलाई पर्खन नपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । परोपकारी प्रसूती तथा स्त्रीरोग अस्पताल यो अस्पतालले भीड व्यवस्थापनका लागि अनलाइन टिकेटिङ प्रभावकारी बनाएको जानकारी दिएको छ । अस्पतालका निर्देशक श्री अधिकारीले जनरल ओपीडी सेवा ९ बजेदेखि ४ बजेसम्म र अपरेशन सेवा पनि १ घण्टा बढाइ ९ बजेदेखि ४ बजेसम्म राखेको जानकारी दिए । यस्तै, विस्तारित अस्पताल सेवा अन्तर्गत ओपीडी सेवा ४ बजेदेखि ६ बजेसम्म, गर्भमा भएको बच्चाको मुटु इकोकार्डियोग्राफी, नवजात शिशु तथा बालरोगको विस्तारित ओपीडी सेवा ४ बजेदेखि ६ बजेसम्म दिने गरेको छ । आमा सुरक्षा र नवजात शिशु निःशुल्क उपचार सेवा र औषधीको कमी हुन नदिन कर्मचारीलाई जिम्मा दिइएको, सोधपुछ÷सहायता कक्ष व्यवस्था, गुनासो सुन्ने कार्य प्रभावकारी बनाइ सरसफाईमा ध्यान दिरहेको अस्पतालले जनाएको छ । वीर अस्पताल नेपालकै सबैभन्दा जेठो अस्पताल हो वीर अस्पताल । यो अस्पतालमा सेवा लिन निकै कठिन हुने गरेको बिरामीको पनि गुनासो हुन्छ । स्वास्थ्य मन्त्री पौडेलको निर्देशनपछि वीर अस्पतालले ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ भने जनशक्ति थप्दै अझ सुधार गर्ने निर्णय गरेको छ । अस्पतालले साउन १३ गतेदेखि इएचसी सेवा लागु गरेको छ भने तीन स्थानमा फार्मेसी र खाजाको समयमा पनि टिकट काउन्टर खुला राखी सेवा दिएको अस्पतालले जानकारी दिएको छ । राष्ट्रिय ट्रमा सेन्टर यो अस्पतालले पनि ओपीडी दुई सिफ्टमा सञ्चालन गरेको छ । बिहान साढे ८ बजेदेखि साढे ४ बजे र इएचसी, ओपीडी अपरान्ह साढे ४ बजेदेखि दिन सुरु गरेको छ । यस्तै, विस्तारित अस्पताल सेवा कार्यक्रम व्यवस्थित गरेको, आकस्मिक शल्यक्रिया २४ सै घन्टा सञ्चालन गरिएको र नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको ७ दिनभित्र र ओपीडी अन्तर्गतका बिरामीको १ महिना भित्रमा शल्यक्रियाको पालो आउने व्यवस्था मिलाइएको जानकारी दिएको छ । अस्पतालको स्वास्थ्य बीमा औषधी पर्याप्त राख्ने र दुई फार्मेसी सञ्चालन, दइटा टिकट काउन्टर तथा अनलाइन टिकटको व्यवस्था गरेको अस्पतालले जानकारी दिएको छ । भक्तपुर क्यान्सर अस्पताल यो अस्पतालले पनि ओपीडी दुई सिफ्टमा र विस्तारित स्वास्थ्य सेवा सुरू गरेको छ । अस्पतालका अनुसार इएचसी सेवा थप गरी सर्जरी र रेडियोलोजी लगायत अन्य विभागमा लागु गरेको छ । अस्पतालमा बिरामी भर्ना, खाली बेड वेवसाइटबाटै जानकारी दिने र ५ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया हुने व्यवस्था गरेको छ । अस्पतालका अनुसार ९० प्रकारका केमोथेरापी औषधी र अन्य औषधी बीमा फार्मेसीमा उपलब्ध गराइने, टिकट काउन्टरमा टोकन र क्युआर भुक्तानी प्रणाली लागु गरिएको जानकारी दिएको छ । मोनमोहन कार्डियोथोरासिक भास्कुलर यो अस्पतालले ओपीडी टिकट बिहान साढे ११ बजेसम्म उपलब्ध गराई दिउसो परामर्श दिने कार्य सुरु गरेको छ । शल्यक्रिया र उपचारको लागि एक महिनाभन्दा कम समय दिइने, अनलाइन टिकट मोबाइल एपबाटै लिन सकिने र ल्याब रिपोर्ट अनलाइनबाटै प्राप्त गर्ने योजना यस अस्पतालले राखेको छ । कान्ती बाल अस्पताल बालबालिकालाई सेवा दिने यो अस्पतालले ओपीडी दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । विस्तारित अस्पताल सेवा लागु गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापन गर्ने, ३ बेड पीआईसीयू थप, ३ एनआइसीयू बेड र २० अब्जरवेसन बेड थप गर्ने तयारी अस्पतालले गरेको छ । यस्तै, स्वास्थ्य बीमा मार्फत् प्राप्त हुने ८० प्रतिशत औषधी उपलब्ध गराउने, टिकट काउन्टर संख्या थप, अनलाइन टिकट र विद्युतीय भुक्तानी प्रणाली सुचारु गरी भीड व्यवस्थापनका लागि टोकन प्रणाली थप व्यवस्थित गरिने अस्पतालले जानकारी दिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान यो अस्पतालले भीड व्यवस्थापनका लागि जर्नल पेइङ्ग क्लिनिक प्रणालीको व्यवस्था गरेको छ । यस्तै, विस्तारित सेवा प्रवाहका लागि पीपीपी सेवा थप व्यवस्थित गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापन, डिजिटल विलिङ भाद्र १ देखि लागु गर्ने, बिदाको दिनमा समेत ओपीडी एवं शल्यक्रिया सेवा सञ्चालन गर्ने योजना बनाएको छ । आयुर्वेद चिकित्सालय आयुर्वेद चिकित्सालय अस्पतालले ओपीडी र काउन्टर सेवा बिहान साढे ८ देखि दिउँसो २ बजे र बेलुका साढे २ देखि ५ बजेसम्म सञ्चालन गर्ने, विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागु गर्ने तयारी गरेको छ । अस्पतालले चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज सेवा सुधार, टोकन र विद्युतीय भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

बी एण्ड बी अस्पतालमा सुरु भयो रोबोटिक शल्यक्रिया

काठमाडौं । बी एण्ड बी अस्पतालले नेपालमा पहिलो रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । ललितपुरमा रहेको बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको हो । अस्पतालका अनुसार यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको छ जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने छ भने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्नेछ । ‘बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको शुरुवातले नेपालमा चिकित्सा अभ्यासको अग्रभागमा अत्याधुनिक प्रविधि ल्याएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउँछ, रिकभरी समय कम गर्छ र बिरामीका लागि छिटो स्वास्थ्यलाभ हुन्छ ।’ उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको बताइएको छ । बी एण्ड बी अस्पतालका प्रा. डा. जगदीशलाल वैद्यले भने, ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौ । यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो। रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ।’ बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवातले संस्थाको निरन्तर सुधार र चिकित्सा प्रविधिमा अत्याधुनिकता अपनाउने प्रतिबद्धतालाई प्रस्तुत गर्ने अस्पतालको दाबी छ । यो ऐतिहासिक उपलब्धिले नेपालमा स्वास्थ्य सेवाको परिदृश्यलाई रूपान्तरण गर्दै बिरामीहरूलाई अत्याधुनिक शल्यक्रियामा पहुँच प्रदान गर्नेछ कम्पनीले जानकारी दिएको छ ।