राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबिबिएस’ अध्ययनको बाटो खुल्यो
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ । सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ । गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गरेका थिए । मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन । मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले पाँच वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए तर मन्त्रालयगत बजेट प्राप्त नहुँदा अघि बढ्न नसकेको कार्यक्रम यसपालि अघि बढेको हो । चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने मन्त्रालयले तयारी थालेको छ । ‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,’ मन्त्री पौडेलले भने, ‘प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौँ ।’ मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र तीन सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ । यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।
देशभरि ५५ जनामा हैजा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा ५५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभरि हैजा संक्रमितको संख्या ५५ पुगेको हो । ललितपुरमा मात्र ४१ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार कैलालीमा ८ जना, काठमाडौंमा ४ जना र प्युठानका २ जनालाई हैजाको संक्रमण पुष्टि भएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले आग्रह गरेको छ ।
जिपी कोइराला श्वासप्रश्वास केन्द्र हजार शय्याको बन्ने
काठमाडौं । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले तीन सय शय्याको केन्द्र निर्माण पूरा भएपछि अर्को चरणमा केन्द्रलाई एक हजार शय्यामा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । नेपाल र भारतबीच प्रधानमन्त्रीस्तरमा भएको समझदारीअनुसार केन्द्रको तीन सय शय्याको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ । भविष्यमा मुुलुकका निम्ति आवश्यकपर्ने चिकित्सा सेवा एवं अध्ययन अनुसन्धान तीन सय शय्याबाट पर्याप्त नहुने भएकाले त्यसलाई एक हजार शयमा स्तरोन्नति गर्न राष्ट्रपति पौडेलले विशेष जोड दिँदै आएका थिए । सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शय्याको डिपीआरसम्बन्धी संरचना तयार गरी निर्माण पनि तदनुरुप हुनुपर्नेतर्फ उनले नेपाल सरकारका सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दै आएका थिए । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा केन्द्र स्थापना भएको हो । केन्द्रलाई देशको विशिष्ट अस्पताल तथा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य छ ।