गण्डकी प्रदेशका यातायातमन्त्री दीपक मनाङले गरे छत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण
काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले काठमाडौंस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको आज निरीक्षण गरेका छन् । मंगलबार दिउँसो १ बजे मन्त्री मनाङेको सचिवालयका सदस्यसहितको टोलीले अस्पताल पुगेर नयाँ बन्दै गरेको भवन, अस्पताल तथा आपतकालिन कक्षको निरीक्षण गरेका हुन् । मन्त्री मनाङेले छत्रपाटी निःशुल्क अस्पतालको निरीक्षणको क्रममा भौतिक संरचना र नयाँ बन्दै गरेको भवनको संरचना निर्माण तथा अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री मनाङेलाई अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले स्वागत गरेका थिए । अध्यक्ष डा. श्रेष्ठले मन्त्री मनाङेलाई अस्पतालको नयाँ भवन बन्दै गरेको, मुटु सम्बन्धी विशेष उपचार कक्ष तयार हुँदै गरेको जानकारी दिँदै क्यान्सरको उपचार सम्बन्धी नयाँ भवनमा अत्याधुनिक सुविधासहितको सेन्टर तयार हुँदै गरेको जानकारी दिएका थिए । साथै अध्यक्ष डा. श्रेष्ठले छिट्टै कलेजो सम्बन्धी उपचारको लागि अत्याधुनिक मेशिन ल्याएर उपचार सुरु गर्न लागेको जानकारी दिए । अध्यक्ष डा. श्रेष्ठले नयाँ बन्दै गरेको माउ बद्री भवनमा अब नयाँ अप्रेशन थिएटरको खाँचो रहेको र त्यसको लागि तीन करोड भन्दा बढि लगानी आवश्यक रहेको जानकारी गण्डकी प्रदेश मन्त्री मनाङेलाई जानकारी गराएका छन् । अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको तारिफ गर्दै मन्त्री गुरुङले ठमेल क्षेत्रका विभिन्न होटल तथा व्यापारीहरुलाई विशेष प्राथमिकता दिएर जनमुखी स्वास्थ्य सेवा दिदाँ अस्पताललाई अझै राम्रो हुने धारणा समेत व्यक्त गरेका छन् । शहरी क्षेत्रमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौंका भित्री तहका जनताको स्वास्थ्य उपचारमा विशेष भूमिका खेल्दै आएको छ । नयाँ बन्दै गरेको माउबद्री भवनमा अत्याधुनिक प्रविधियुक्त अप्रेशन थेटर सञ्चालन गर्न आवश्यक पहल गरी दिनका लागि मन्त्री गुरुङलाई अस्पताल सञ्चालक कार्यसमितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आग्रह गरेका छन् । अस्पतालका कार्यसमितिका अध्यक्ष डा. श्रेष्ठले विभिन्न निजी स्वास्थ्य प्रदायक संस्थाको तुलनामा छत्रपाटी निःशुल्क अस्पतालले सुलभ शुल्कमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘हामीले विभिन्न संस्थाहरुसँग आर्थिक सहयोग जुटाउँदै अस्पताल सञ्चालन गर्दै आएका छौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडा अध्यक्ष नविन मानन्दरसहितले आवश्यक सहयोग जुटाएको उल्लेख गरे ।’ क्षत्रपाटी निःशुल्क चिकित्सालय सामुदायिक अस्पताल हो । २०१३ सालमा स्थापना भएको सो अस्पतालको व्यवस्थापन स्वयम्सेवकको रुपमा कार्यरत रहेका छन् ।
नेपालमै एमबीबीएसको इन्टर्नसिप दिन नपाएर छटपटाइरहेका विद्यार्थी
काठमाडौं । सर्लाहीका नवीन यादव बंगलादेशमा प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्दै थिए । तर, बंगलादेशमा विद्यार्थीको आन्दोलन चर्किँदा देश नै अशान्त बन्यो । उनी फर्केर नेपाल आए । अहिले उनी नेपालमै बसिरहेका छन् । विदेशमा पढेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था भइदिएको भए अहिले उनी कुनै अस्पतालमा बिरामीको सेवामा व्यस्त हुन्थे । तर, नेपालमा इन्टर्नसिप गर्न नपाउँदा अहिले नेपालमा त्यत्तिकै बस्नुपर्ने उनको बाध्यता छ । हुन त नवीनलाई बंगलादेशमा पढ्न जाने रहर थिएन । उनले नेपालमै पढ्न धेरै प्रयास पनि गरे । तर, सीमित कोटाका कारण स्वदेशमै एमबीबीएस पढ्न पाएनन् । नेपालमै पढ्न नपाउँदा बुबाआमाको सम्पत्ति धितो राखेर उनी परदेश लागे । बोली र भाषा फरक भएको देशमा पक्कै पनि नेपाल जति सहज हुँदैन । र, पनि मिहिनेत गरी पढे । उनले एमबीबीएस पास गरे । तर, जुन देशमा विद्यार्थीले अध्ययन गरे, त्यही देशमा इन्टर्नसिप गर्नुपर्ने नेपालको बाध्यात्मक प्रणालीले उनी एक वर्ष थप बंगलादेशमा बस्नुपर्यो । नवीन यादव डोटीका अनिस खड्का पनि अहिले बंगलादेशबाट फर्केर नेपालमा त्यत्तिकै बसेका छन् । एमबीबीएसको अन्तिम वर्षमा अध्यनरत उनी परीक्षा दिन नपाउँदै नेपाल फर्कनुपर्यो । बंगलादेशमा हिंसात्मक गतिविधि बढ्दै गएपछि नेपाल फर्किन बाध्य उनी अहिले त्यत्तिकै बसिरहेका छन् । ‘अब कहिले सहज अवस्था हुन्छ, कहिले पढ्न पाइन्छ, पहिले कोभिडमा त्यस्तै भयो, अहिले फेरि अवस्था उस्तै आयो,’ अनिसले विकासन्युजसँग भने । उनी पनि पाँच वर्ष बंगलादेशमा पढेर परीक्षा दिइसकेपछि नेपालमै इन्र्टनसिप गर्न पाउँदा आर्थिकदेखि हरेक कुरामा सहज हुने बताउँछन् । बाध्यताले विदेश पढ्न जानुपर्छ नेपालमा पढाइ हुने चिकित्सा शिक्षामा सिमित कोटा छुट्याइको छ । कोटाभन्दा बढी विद्यार्थी पढाउन पाइँदैन । जसका कारण डाक्टर बन्न मन लागेका विद्यार्थी पढाइबाट बञ्चित हुनुपर्ने अवस्था छ । नेपालमा पढ्न नपाउँदा कतिपय विद्यार्थी बंगलादेश, भारत र चीन लगायतका देशमा जानुपर्ने बाध्यता छ । अनिसले आजभन्दा ६ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालयको मेडिकल परीक्षा पास गरे । उनले आफू पढ्न किस्ट मेडिकल कलेज रोजे । उनी भर्ना प्रक्रियाबारे बुझ्दै थिए । उनलाई एकदिन फोन आयो, ‘तीन दिनभित्र ५० प्रतिशत रकम ल्याई भर्ना हुनु आउनुपर्यो ।’ उनलाई कलेजबाट फोन आउँदा शुक्रबार थियो । पछिल्लो दिन शनिबार । आइतबारसम्म पैसा जुटाउन समस्या भयो । अनिश खड्का उनले केही दिनको समय दिन अनुरोध गरे । प्रतिउत्तरमा उनलाई सीट छोड्न भन्ने जवाफ आयो । ‘तिमीले त्यो सिट छोड्याे भने तिम्रै पछाडि झोलामा पैसा लिएर भर्ना गर्न आइसकेका छन्,’ अनिस भन्छन्, ‘यहाँ पढ्न खोज्दा पनि पैसाको बार्गेनिङ हुन्छ,’ विकासन्युजसँग गुनासो गर्दै उनले भने, ‘नेपालमा नाम निकाल पनि पैसा जुटाउन नसकेर बंगलादेश जानुपर्यो ।’ पेप्सीखोलाकी स्तुती कार्की पनि नेपालमा पढन् नपाउँदा विदेश जानुपरेको बताउँछिन् । विदेश पढ्न जाँदा नेपालको भन्दा बढी पैसा खर्च गर्नुपर्ने बताउँदै उनी पढिसकेपछि एक वर्ष गर्नुपर्ने इन्टर्नसिप नेपालमै गर्न पाउनुपर्ने बताउँछिन् । नवीन, अनिस स्तुतिजस्ता धेरै विद्यार्थी बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन् । उनीहरू सबैजना अहिले नेपाल फर्केका छन् । सबैजनाको पीडा एउटै छ । माग पनि नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने रहेको छ । आफ्नै देशमा हेपाह प्रवृति बंगलादेशमा चिकित्सा शिक्षा अध्यन गरिरहेका विद्यार्थीले पढेर नेपाल आउँदा आफूहरूमाथि हेपाह प्रवृत्ति हुने गरेको तितो अनुभव सुनाएका छन् । बंगलादेशमा पढेर आएका ६५ प्रतिशत विद्यार्थी लाइसेन्समा फेल हुने गरेको भन्दै नेपालमै आफूमाथि हेर्ने नजर फरक रहेको उनीहरूले बताएका छन् । स्तुतिले आफ्ना समस्या लिएर सम्बन्धित निकायमा जाँदा जिम्मेवार व्यक्तित्वले नै विभेदात्मक अभिव्यक्ति दिने गरेको अनुभव सुनाइन् । बंगालदेशमा पढेर आएका विद्यार्थीलाई मेडिकल काउन्सिलले समेत कमजोर, नजान्ने , जबर्जस्ती पास भएर आएका भन्ने तरिकाको व्यवहार गरेको उनको गुनासो छ । स्तुति कार्की अहिले अन्तिम सेमेस्टर पढ्दै गरेकी स्तुति यस्ता व्यवहार र अभिव्यक्तिले मानिसकरूपमा दबाब पर्ने गरेको सुनाउँछिन् । नवीनले पनि मेडिकल काउन्सिल, एशोसिएसन लगायतका विभिन्न संस्थाका कर्मचारीबाटै नराम्रो व्यवहार हुने गरेको बताए । ‘नेपालमा पढाइ हुने किताब र बंगलादेशमा विद्यार्थीले पढ्ने किताब एउटै हुन्, तर हामीलाई बंगलादेशबाट पढेर आएपछि कमजोर हुन्छन् भन्ने धरणा राखिएको छ यो गलत हो’, अनिस भन्छन्, ‘३ घण्टाको परीक्षाले हामीले वर्षभरि पढेको कुरालाई मापन गर्न सक्दैन ।’ उनी प्रश्न गर्दै भन्छन्, ‘नेपालमा कन्सलटेन्सी खोल्न हुने, म्यानपावर खोल्न हुने, विद्यार्थीलाई बाहिर पढ्न जाउ भन्न हुने तर विद्यार्थीलाई नेपालमै होल्ड गर्न सकिँदैन भने कस्तो प्रणाली हो यो ?’ आफ्ना समस्या सुनाउँदा नेपाल मेडिकल काउन्सिलले नेपालमा जो पायो त्यही विद्यार्थी आउन थाले भन्ने गैर जिम्मेवारपूर्ण जवाफ दिएको उनीहरूले बताएका छन् । नेपालमै इन्टर्नसिप हुनुपर्ने माग अहिले बंगलादेशमा अध्ययन गरिरहेका करिब तीन हजार विद्यार्थी स्वदेश फर्केका छन् । उनीहरू अहिले चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल लगायतका विभिन्न निकाय धाइरहेका छन् । बंगलादेशमा पढाइ सकेपछि स्वदेशमै इन्टर्नसिप हुनुपर्ने माग गर्दै विभिन्न निकाय धाइरहेका हुन् । त्यहाँ पढेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्केर काम गर्छन् । इन्टर्नसिपमा उनीहरूले बंगाल भाषामा इन्टर्नसिप गर्नुपर्ने हुन्छ । त्यहाँ इन्टर्नसिप गर्दा र नेपालमा आएर काम गर्दा फरक हुने उनीहरूको गुनासो छ । बंगलादेशमा इन्टर्नसिप गर्दा उताकै औषधीको नाम चिन्नपर्छ जुन नेपाल आएर काम हुँदैन । ‘नेपालमा आएर नेपालकै औषधीको नाम सिक्यौँ भने काम गर्न सहज हुन्थ्यो, स्तुति भन्छिन, ‘यहाँ इन्टर्नसिप गर्दा यहाँको मेडिकल सिस्टमलाई पनि बुझ्न सकिन्थ्यो, नागरिकलाई पनि सेवा गर्न सकिन्थ्यो, बंगलादेशमा समस्या निकै भोग्नुपर्यो ।’
डेंगीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि
काठमाडौं । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौं उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् । त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।