६ महिनामा सरकारको खर्च ६ खर्ब ९० अर्ब नाघ्यो, राजस्व ५ खर्ब ७७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा चालु खर्च ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ, पुँजीगत खर्च ४९ अर्ब ४३ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कलाई आधार मान्दै नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसमध्ये कर राजस्व ५ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ र गैरकर राजस्व ६१ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ । सरकारको नगद मौज्दातमा उल्लेखनीय वृद्धि देखिएको छ । २०८२ पुस मसान्तसम्म राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ४६ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ, जसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ मात्र रहेको थियो ।  यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ३९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने कुल स्रोत परिचालन ९१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमध्ये नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व ६९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने प्रदेश सरकारहरूले आन्तरिक स्रोत तथा अन्य माध्यमबाट २१ अर्ब ८३ करोड रुपैयाँ राजस्व परिचालन गरेका छन् । सरकारको खर्च र राजस्व परिचालनको यो अवस्थाले चालु खर्च उच्च रहँदा पुँजीगत खर्च अझै कमजोर रहेको संकेत गर्छ । 

चालु खाता ४ खर्ब २९ अर्बले बचतमा, शोधनान्तर स्थिति कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार (आज) सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको तथ्यांक अनुसार  ६ महिनामा  शोधनान्तर स्थिति ५०१ अर्ब २४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ५४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । 

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशत

काठमाड‍ौं । हुलास फिनसर्भ हायर पर्चेजले दोस्रो त्रैमासिकमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ ।  आर्थिक वर्ष २०८२/८३ को २०८२ पुस ३० सम्मको दोस्रो त्रैमासिकमा खुद नाफा ९९.३३ प्रतिशत अर्थात १३ करोड ४४ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको अनअडिटेड वित्तीय विवरणमा उल्लेख छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा भने ६ करोड ७४ लाख मात्र थियो ।  त्यस्तै, कम्पनीले कर्जा तथा अग्रिम पोर्टफोलियोसमेत दोब्बरभन्दा बढी विस्तार गरेको छ । वित्तीय विवरणअनुसार यस अवधिमा १० अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १०० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।  ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयाँ अर्थात २२०।०७ प्रतिशतले बढेको हो । लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गर्दै सञ्चालन नाफालाई २१ करोड ९९ लाख रुपैयाँसम्म पुर्‍याएको वित्तीय रिपोर्टमा उल्लेख गरिएको छ ।  नन–पर्फर्मिङ लोन (एनपीएल) अनुपात ४.६८ प्रतिशतबाट घटेर ३.०५ प्रतिशतमा झरेको छ । यसले सम्पत्तिको गुणस्तरमा पनि कम्पनीले सुधार भएको देखाएको छ । कम्पनीले भनेको छ, ‘विगतभन्दा सुधारिएको रिकभरी प्रक्रिया र क्रेडिट अनुगमन प्रणाली महत्त्वपूर्ण भूमिका खेलेको छ, प्रमुख वित्तीय सूचकांकहरूमा पनि सकारात्मक सुधार आएको देखिएको छ ।’ प्रतिसेयर आम्दानी (ईपीएस) ३२.३९ रुपैयाँ, इक्विटी प्रतिफल (आरओई) १६.५६ प्रतिशत र नेटवर्थ प्रतिशेयर खुद सम्पत्ति मूल्य १९५.६२ रुपैयाँ पुगेको छ ।  बाह्य अवरोध र चुनौतीहरूका बाबजुद पोर्टफोलियोमा गुणस्तर सुधार, सञ्चालन दक्षता र दिगो वृद्धिमा केन्द्रित हुँदै सफलता प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ । सम्पत्तिको गुणस्तर थप बलियो, जिम्मेवार कर्जा विस्तार र सरोकारवालाको दीर्घकालीन हित संरक्षण गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।