सिटिजन लाइफको मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स सम्पन्न, ४८ शाखा व्यवस्थापक सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीलाई दोलखा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीको मध्यावधि व्यवसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउने उद्देश्यले आयोजित सम्मेलनमा व्यवस्थापन टिम, विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित ७७ जना सहभागी थिए । कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । सम्मेलनको मुख्य आकर्षणका रूपमा चालु आर्थिक वर्षको मध्यावधिसम्म १०० प्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो । यसले शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको कम्पनीको विश्वास छ । साथै, कम्पनीका सेवाहरूलाई थप ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा सरल बनाउन आवश्यक प्रशासनिक सुधारका विषयमा पनि छलफल गरिएको थियो । सेवा प्रक्रिया छिटो, पारदर्शी र सहज बनाउन व्यवस्थापन र शाखा स्तरबीच समन्वय बढाउने विषयमा समेत जोड दिइएको थियो । कम्पनीले आगामी दिनमा नवीनतम डिजिटल सेवा विस्तार, नियामकीय निर्देशनको पूर्ण पालना तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।

आइसीएफसी फाइनान्स ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा सन् २०२५ को वित्तीय संस्थाको विधामा ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२५’ बाट सम्मान गरिएको छ । सुदृढ वित्तीय प्रदर्शन, सुशासन, सेवा विस्तार तथा संस्थागत व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरेबापत मनोनित वित्तीय संस्थामध्येबाट आइसीएफसी फाइनान्स उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको हो । ललितपुरमा आयोजित भव्य समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धकले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरेका थिए । विभिन्न वित्तीय संस्थाहरूको वित्तीय विवरणको विश्लेषण, प्रमुख वित्तीय सूचकाङ्क, सुशासन अभ्यास, कर्जा प्रवाह तथा असुली अवस्था, चुक्ता पुँजीको स्थिति, व्यवसायिक विस्तारको दिगोपन, मानव संसाधन विकासमा गरिएको लगानी, लगानी विविधीकरण रणनीति तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरूको मूल्यांकनका आधारमा कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो । मूल्यांकन समितिका अनुसार पारदर्शी नीति, प्रभावकारी जोखिम व्यवस्थापन, ग्राहक–केन्द्रित सेवा, डिजिटल तथा भौतिक पहुँच विस्तार तथा आम जनमानसमा कायम विश्वासका कारण आइसीएफसी फाइनान्स वित्तीय क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको हो । अवार्ड ग्रहणपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले यस सम्मानलाई सञ्चालक समितिको मार्गदर्शन, कर्मचारीहरूको निरन्तर समर्पण, नियामक निकायको सहयोग, सेयरधनीको विश्वास तथा ग्राहकहरूको निरन्तर साथको परिणाम भएको बताए। उनले सबैप्रति हार्दिक आभार व्यक्त गरे । साथै, वित्तीय साक्षरता अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन, कर्जा पहुँच विस्तार तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ कम्पनी आगामी दिनमा पनि जिम्मेवार र नवप्रवर्तनमुखी वित्तीय संस्थाका रूपमा अघि बढिरहने प्रतिबद्धता जनाएको छ ।

गरिमा सुवर्ण योजनाको सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजनाको रूपमा ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले माघ २१ गते उक्त योजनाको सार्वजनिक निष्काशनका लागि स्वीकृति दिएको हो । यो योजना एक अर्ब रुपैयाँ बराबरको रहेको छ । गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसम्म सहज रूपमा पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका सबै शाखा कार्यालयमार्फत सहजीकरण हुँदै आएको छ । संस्थाले आफ्ना सेवाहरूलाई अझ परिस्कृत, प्रभावकारी तथा ग्राहकमैत्री बनाउन विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।