सेयर किन्न बैंक खातामा पैसा अनिवार्य हुनुपर्ने
काठमाडौं । सेयर खरिद गर्न चाहने व्यक्तिको बैंक खातामा रकम अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ‘नीति तथा कार्यक्रम’ मा यस्तो व्यवस्था अघि बढाउने घोषणा गरेको हो । बोर्डको नीतिमा उल्लेख गरिएको छ, ‘’ दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ ।’ त्यस्तै, आईपीओ (प्राथमिक निष्काशन) मा आवेदन दिने क्रममा बैंक खाताको रकम रोक्का हुने व्यवस्था पनि अघि सारिएको छ । यसका लागि आस्वा सदस्य बैंकरवित्तीय संस्थाले सिडिएस मार्फत ‘एपीआई’ प्रणाली प्रयोग गरी आवेदन भेरिफिकेसनको साथै रकम रोक्का गर्ने प्रणाली लागू गरिनेछ । बोर्डका अनुसार, धितोपत्र बजारको प्रणालीगत जोखिम कम गर्न, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न र बजारमा जनविश्वास बढाउन यी सुधारहरू आवश्यक छन् । साथै, बोर्डले इक्विटी डेरिभेटिभ बजारको पूर्वाधार निर्माण, मर्चेण्ट बैंकर, दलाल व्यवसायी, सामूहिक लगानी कोष लगायतका संस्थाहरूले पेश गर्नुपर्ने विवरणहरूको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरीवेक्षण प्रणाली ल्याउने, र सूचीकृत कम्पनी वर्गीकरणलाई सुधार गर्ने नीति पनि सार्वजनिक गरेको छ । त्यस्तै, आईपीओबाट उठाइएका रकम वास्तवमै तोकिएको उद्देश्यअनुसार प्रयोग भएको छ कि छैन भन्ने अनुगमन सुरु गर्ने निर्णय पनि बोर्डले गरेको छ । दलाल व्यवसायीले लगानीकर्ताको आदेश अनुसार सेवा दिन आवश्यक प्राविधिक पूर्वाधारहरू प्रभावकारी छन् वा छैनन् भन्ने मूल्यांकनको अनुगमन व्यवस्था पनि गरिनेछ ।
एक्सेल डेभलपमेन्ट बैंक २१औं वर्षमा प्रवेश, वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले स्थापनाको २० औं वर्ष पार गर्दै २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले साउन ६ गते विविध कार्यक्रमहरूसहित २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट विहान ६:३० बजे सुरु गरिएको प्रभातफेरी कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी प्लेकार्डहरूसहित बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । त्यसै दिन, बैंकले मेची प्रादेशिक अस्पताल भद्रपुर र नेपाल अपाङ्ग संघ, झापा शाखाका बिरामीहरूलाई फलफूल वितरण गर्ने समाजिक उत्तरदायित्व कार्यक्रम पनि सञ्चालन गरेको थियो । यस अतिरिक्त, बैंकका सबै शाखा कार्यालयहरूले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई चकलेट वितरण गर्दै उत्सव मनाएका थिए । २० वर्षको यात्रामा झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ स्थानमा शाखा विस्तार गरिसकेको बैंकले अब कोशी प्रदेशका अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकले स्थापनाकालदेखि अहिलेसम्म साथ र सहयोग गर्ने संस्थापक, सेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ आधुनिक, प्रविधिमैत्री र विश्वासिलो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट
काठमाडौं । चितवनको भरतपुरमा अवस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले धितोपत्र बोर्डको नियमावली र निर्देशिकाअनुसार आवश्यक स्वीकृति प्राप्त गरेपछि शेयर निष्कासन प्रक्रिया अघि बढाउने बताएको छ । सो कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । आयोजित औपचारिक सम्झौता कार्यक्रममा होटल सिराइचुली तर्फबाट अध्यक्ष चुडामणी खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा होटल सिराइचुलीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको पनि उपस्थिति रहेको थियो । भरतपुर–१० मा अवस्थित सिराइचुली होटल एक आधुनिक र सुविधासम्पन्न चारतारे होटल हो । होटलमा समकालीन आवास, मल्टिकुजिन रेस्टुरेन्ट, ३ वटा बैंक्वेट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पूल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायतका सेवा उपलब्ध छन् । होटलको विशेषता भनेको हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न मिल्ने सिटी सेन्टर लोकेशनमा रहेको शानदार सुविधा हो, जसले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने कम्पनीको विश्वास छ ।