सेयर बजारमा १० अर्बको कारोबार, रिभर फल्स पावरमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २८२२ बिन्दुमा झरेको छ । आज ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ । सोमबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम्को ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३६ करोड, साहस उर्जाको ३६ करोड र बुटवल पावर कम्पनीको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा अधिकांश समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै घटेका छन् । माइक्रोफाइनान्स २.३५ तथा विकास बैंक २.३१ प्रतिशतले घटेको छ । बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशतले घटेको छ । अन्य समूह ०.३१ प्रतिशत बढेको छ । आज रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले लाभांश वितरण गर्ने
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले लाभांश वितरण गर्ने भएका छन् । फण्डहरुले गत आर्थिक वर्ष २०८१/८२ को मूनाफाबाट इकाईधनीलाई लाभांश वितरण गर्ने भएका हुन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को प्रतिफल वितरण गर्ने भएका हुन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत प्रतिफल लाभांश गर्ने भएको हो । इकाईधनी बुक क्लोज हुने बारेको सूचना पछि प्रकाशन हुने कम्पनीले जनाएको छ ।
नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा(चिप्लेढुङ्गा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।