बीमा कम्पनीले भारतीय एक्चुअरीलाई भुक्तानी गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

काठमाडौं । नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्भे र भ्यालुएसन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत परिपत्र २०८१ मा महत्त्वपूर्ण संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘नेपाली बीमा कम्पनीहरूले विशेषज्ञ सेवाहरू एक्चुअरी, सर्भे र भ्यालुएसन लगायतका लागि प्राकृतिक व्यक्तिलाई गर्नुपर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बीमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन्,’ राष्ट्र बैंकको संशोधित निर्देशनमा भनिएको छ ।

नेपाल लाइफको लिडरसीप एक्सीलेन्स अवार्ड सम्पन्न, ४४० भन्दा बढी अभिकर्ता सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसीप एक्सीलेन्स अवार्ड २०२५’ सम्पन्न भएको छ । 'लायन वर्षः लिड, रोअर, रिपिट' नारासहित साउन १६ देखि १८ गतेसम्म द सोल्टी काठमाडौंमा सम्पन्न कार्यक्रममा देशभरिबाट छानिएका ४४० उत्कृष्ट एजेन्सी तथा एजेन्सी मेनेजरहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, सेल्स प्रमुख तथा पेशागत बीमा संघका प्रतिनिधिहरूले नेपाल लाइफले आर्थिक वर्ष २०८१/८२ मा पहिलो बीमा शुल्कमा १० अर्ब रुपैयाँको ऐतिहासिक उपलब्धि हासिल गरेकोमा अभिकर्ता र कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षका रणनीति र लक्ष्य साझा गरेका थिए । तीन दिने कार्यक्रमको दौरान उत्कृष्ट कार्य सम्पादन गर्ने १११ एजेन्सी मेनेजर र ३२९ व्यक्तिगत कोडधारी अभिकर्तालाई सम्मान गरिएको थियो । यसै क्रममा ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो । एजेन्सी मेनेजरतर्फबाट मदन भट्ट (प्रथम), स्नेहा भट्ट (द्वितीय) र बसन्ती शर्मा (तृतीय) तथा व्यक्तिगत कोडतर्फबाट सुमित्रा भट्ट (प्रथम), अर्बिन राजबंशी (द्वितीय) र आयुष कुँवर (तृतीय) बन्न सफल भए । उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा मोटिभेशनल स्पीकर तथा हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो, जसले समापन समारोहमा उत्साह थपेको थियो । नेपाल लाइफले बीमा अभिकर्ता र कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्रेरणा, संरचना सुधार र सेवाको चुस्त व्यवस्थापनमार्फत कम्पनीलाई अझ सबल बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।

जलविद्युत बीमाका चुनौती विषयमा इप्पान, बीमक संघ र पुनर्बीमा कम्पनीबीच छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, इप्पान नेपाल, बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ । जलविद्युत क्षेत्रको बीमाका सम्बन्धमा देखिएका समस्या एवम् चुनौतीहरू, इप्पानले उठाएका विषय र त्यस सम्बन्धमा नेपाल बीमक संघ तथा पुनर्बीमकहरूको धारणा लगायतका विषयमा छलफल गरी समाधान पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जलविद्युत क्षेत्रको बीमामा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै सेवालाई दिगो एवं राम्रो बनाउने र लागत न्यून गर्ने सन्दर्भमा पहल सुरु गरिएको बताए । कार्यकारी निर्देशक सुवेदीले इप्पानले उठाएका जलविद्युत क्षेत्रको बीमा सम्बन्धी विषयहरूलाई प्राधिकरणले गम्भीर रूपमा लिएको उल्लेख गर्दै जलविद्युत र बीमा, व्यवसाय सँगसँगै सेवा पनि भएकाले यस सम्बन्धी समस्याको समाधानका लागि सन्तुलित विन्दु खोज्नुपर्ने र हाम्रो देशको जस्तै सामाजिक तथा आर्थिक परिवेश भएका र जलविद्युत विकास गर्दै आएका अन्य देशहरूको अभ्यास समेतलाई हेर्नुपर्ने आवश्यकता औंल्याए । कार्यकारी निर्देशक सुवेदीले जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण, बीमा सचेतना अभिवृद्धि र जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समस्याहरूको समाधानका लागि आन्तरिक संयन्त्रलाई सबल बनाउनका लागि प्राधिकरणले पहल गर्ने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले जलविद्युत क्षेत्रको बीमामा देखिएका समस्या एवम् चुनौतीहरूको समाधानका लागि सम्बद्ध सरोकारवालाहरूबाट सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा इप्पानका पदाधिकारीहरूले जलविद्युत क्षेत्रको बीमाको प्रिमियममा हाल कायम रहेको बीमादरको व्यवस्था हटाउनुपर्ने, खुला बजार अर्थतन्त्रमा माग र आपूर्तिका आधारमा बजारले नै बीमादर निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने, जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण गर्नुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमक संघका पदाधिकारीहरू र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नेपालमा जलविद्युत क्षेत्रमा अत्यधिक जोखिम भएको भन्दै अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूले जलविद्युत क्षेत्रको बीमाको पुनर्बीमा गर्न नमानेको, अत्यधिक जोखिमका कारण स्वदेशी पुनर्बीमकले पनि कतिपय अवस्थामा पुनर्बीमा गर्न नसकेको, जोखिम बढेसँगै प्रिमियम नबढेमा आगामी दिनमा जलविद्युत क्षेत्रको पुनर्बीमा नै गर्न नसक्ने अवस्था आउनक्ने देखिएको, जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समस्याहरू समाधान गर्दै अघि बढ्न जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण र सम्बद्ध सबैको सहभागितामा जलविद्युत क्षेत्रको बीमापुल बनाउनु आवश्यक रहेको लगायतका विचार व्यक्त गरेका थिए । कार्यक्रममा इप्पानका पदाधिकारीहरू, नेपाल बीमक संघका पदाधिकारीहरू र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।