अपि पावरले विद्युत उत्पादन क्षमता बढाउँदै, ५० मेगावाटको दिव्य ज्योति हाइड्रो प्राप्त गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले विद्युत उत्पादन क्षमता बढाउने योजना अन्तर्गत दिव्य ज्योति हाइड्रोपावर प्रालि प्राप्त गर्ने निर्णय गरेको छ । कम्पनीले लमजुङ जिल्लामा प्रवर्द्धन भइरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना आफ्नो स्वामित्वमा ल्याउने भएको हो । कम्पनीका अनुसार, आयोजनाको आर्थिक र प्राविधिक मूल्यांकनपछि निर्माण र सञ्चालनका लागि उपयुक्त देखिएकाले दिव्य ज्योति हाइड्रोपावर प्रालिका विद्यमान सबै सेयर खरिद गर्ने निर्णय गरिएको हो । यसपछि कम्पनीको सम्पूर्ण व्यवस्थापन अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ ।

२७८५ बिन्दुमा झर्‍यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २७८५ बिन्दुमा झरेको छ । आज ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनाइटेड मोदी हाइड्रोको २७ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड र नेपाल रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आजको कारोबारमा व्यापारबाहेक अरु समूहका सूचकको उतारचढाव १ प्रतिशत मुनि नै सीमित रहेको छ । व्यापार सबैभन्दा धेरै १.५० प्रतिशतले घटेको छ । बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशतले घटेको छ । विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशतले बढेको छ ।

धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डमा प्रवेश गरेका हुन् । यसअघि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक बनेका थिए । तर व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएपछि पद रिक्त रह्यो । सो पदमा महासंघले ढकाललाई पठाउने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए । उद्योग–व्यवसायमा चार दशकभन्दा बढी समय बिताएका ढकाल नेपालको वित्तीय क्षेत्रमा पनि तीन दशकदेखि सक्रिय छन् । उनी हेरिटेज ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्, जसअन्तर्गत हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापारलगायत दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।