सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बर्दिवासमा नेपाल बैङ्क लिमिटेडको शाखा स्थापना
काठमाडौँ । नेपाल बैंक लिमिटेडले महोत्तरी जिल्लाको वर्दिवासमा शाखा स्थापना गरेको छ । उक्त शाखाको शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले उत्पादनशील क्षेत्रमा लगानी बढाई देशमा उत्पादन रोजगारी र आय अभिवृध्दिमा योगदान बढाउन बैकलाई आग्रह गरे । नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले बैकले उपलव्ध गराउने व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे । उक्त कार्यक्रममा वर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र स्थानीय व्यवसायी रामकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रदेश २ को बैंकको प्रादेशिक कार्यालय प्रमुख प्रतिभा डंगोलको अध्यक्षतामा सम्पन्न उक्त समुद्घाटन समारोहमा प्रदेश नम्बर २ उच्च अदालतका न्यायाधीश सीताराम मण्डल, वर्दिवास न.पा वडा नम्बर १४ का अध्यक्ष भरत हमाल लगायत उद्यमी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
लक्ष्मी बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने
काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेडले देशभर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरूतथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ। सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाह र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।