इसेवाको रिफर एण्ड अर्न अफर, ‘इसेवा चलाउँदा ३० रुपैयाँ बोनस’

काठमाडौँ । इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ । नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्बजनिक गरेको जनाएको छ । यो अफर अन्तरगत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका समपर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ । इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए । उनले भने–‘डिजिटल नेपाल निर्माणका लागि सबै निकायले जोड दिइरहेका बेला हामीले पनि इसेवा मार्फत यो अभियानलाई सार्थक बनाउन रिफर अफर सञ्चालन गरेका हौँ ।’ इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

मनमैंजुमा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को तारकेश्वर नगरपालिकावडा नं ११,काठमाडौंस्थित मनमैंजु शाखा उद्घाटन भएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय(प्रदेश न.३)का प्रमुख बिकास खरेलले मंगलबार शाखा उद्घाटन गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमाबोल्दै मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थानमा सर्वसाधरणसम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे । त्यसैगरी बैंकका उपप्रादेशिक प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।

शाइन रेसुङ्गा बैंकले सार्वजनिक गर्यो मेरो बचत खाता

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” सार्वजनिक गरेको छ । बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले रु.१ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुरयाउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्ष रुपमा आर्थिक कृयाकलापमा सहभागी बनाउने योजना अनुरुप कार्य गरिरहेको बैंकले जानकारी गराएको छ ।