४.२० अंकले घट्यो नेप्से, वित्त र लघुवित्त बाहेक सबै समूह राताम्मे
काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचक ४.२० अंकले घटेको छ । ०.३३ प्रतिशतले परिसूचक घट्दा १२५९.६४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आइतबार १६९ कम्पनीका १४ लाख ६७ हजार ४ सय ६७ कित्ता सेयर किनबेच हुँदा ४७ करोड ४१ लाख ५१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज वित्त र लघुवित्त समूह बाहेकका सबै समूह राताम्मे भए । बैंकिङ समूह ३.४९, होटल समूह ४.७१, विकास बैंक समूह ३.७, जलविद्युत समूह १०.२८, निर्जीवन बीमा समूह २४.५६, उत्पादनमूलक समूह १९.६१, अन्य समूह १.५१, जीनव बीमा समूह २३.०७ र म्युचुअल फण्ड ०.०९ अंकले घटेका छन् । त्यसैगरी वित्त समूह १.०३ र लघुवित्त समूह ०.२३ अंकले बढेका छन् । बजार घटेको दिन स्वरोजगार लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने हिमाल पावर पार्टनर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, गरिमा विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको सेयर सबैभन्दा बढी किनबेच भएको नेप्सेले जनाएको छ ।
नयाँ रेकर्डमा सुन, तोलाको ६६ हजार ३ सय, अझ बढ्ने संकेत
काठमाडौं । आइतबार प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय पुगेको छ । शुक्रबार ६५ हजार ८ सयमा कारोबार भएको सुन एक्कै दिन ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढे पछि त्यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चीन र अमेरिकी व्यापार विवादका कारण सुनको मूल्य उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बजार भन्न सकिने अवस्थामा छैन,’ उनले भने ‘अझै उकालो लाग्न सक्नेछ ।’ त्यस्तै आइतबार प्रतितोला चाँदी ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
एनसीसी बैंकको एजीएम भदौ २३ गते, १५.८९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव
काठमाडौँ । नेपाल क्रेडिड एण्ड कमर्श बैंक लि(एनसीसी बैंक) को २० औँ र २१ औँ बार्षिक साधारण सभा(एजीएम) भदौ २३ गते हुने भएको छ । साउन १७ गते बसेको सञ्चालक समितिको बैठक राष्ट्रिय सभा प्रदर्शनीमार्गमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले आव २०७३/०७४ र २०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र साही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बैंकको हालको चुक्ता पूँजी रु. ७ अर्ब १ करोड, ८५ लाख ८७ हजार ३ सय को १५.८९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन पनि हुने छ । साधारण सभाले एनसीसी बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाम्ने र गाभिने(मर्ज गर्ने) वा प्राप्ति(एक्वीजिशन)गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति तथा दायित्व तथा कारोबार मूल्याङ्कन(डीडीए) गर्ने, अन्तिम सम्झौता गर्ने र सो प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव कपिल ज्ञवालीले जनाएका छन् । साधारण सभा प्रयोजनका लागि बैंकको सेयर दाखिला खारेजको काम साउन २६ गते १ दिन बन्द रहने छ । साधारण सभामा एफपीओ निष्काशन गर्ने, सहायक कम्पनी स्थापना गरी धितोपत्र व्यवसायीको कार्य गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव ज्ञवालीले जनाएका छन् ।