गण्डकी विकास बैंकद्वारा १५० जना विधार्थीलाई झोला वितरण
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्र्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित बाल कल्यायण आधारभुत विद्यालयकाका विधार्थीहरुलाई झोला वितरण गरेको छ । कक्षा १ देखि ५ सम्मका करिब १५० जना साना बालबालिकाहरुलाई विद्यालय परिसरमा झोला वितरण गरेको हो । बैंकका सञ्चालक बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, पोखरा मनपा वडा नं.२५ का वडा सदस्य जितबहादुर कार्की, दलबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानध्यापक लगायतले संयुक्तरुपमा वितरण गरेका हुन् । उक्त कार्यक्रमको सञ्चालन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गरेका थिए ।
सेञ्चुरी कमर्सियल बैंकले वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी सुविधा दिने
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टी सुबिधा प्रदान गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५ फागुन १९ गते गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो । बैंकले एक करोड पचास लाख रुपैयाँको बैंक ग्यारेण्टी पाँच बर्षको लागि जारी गर्ने जनाएको छ । नगद मार्जिन २० लाख र कमिशन ४ लाख रुपैयाँको सुविधा प्रदान गरिने छ । साथै, बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि दिइरहेको जनाइएको छ । उक्त सुबिधा दिने निर्णयपछि वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
कृषि विकास बैंकको नाफा ५७ करोड
विराटनगर । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ५७ करोड ५२ लाख १२ हजार नाफा आर्जन गरेको छ । बैंकले रु १४ अर्ब ७५ करोड ९२ लाख लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा रु १४ अर्ब ५२ करोड ३१ लाख लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको हो । अघिल्लो आवमा बैंकले रु १२ अर्ब ८९ करोड ९४ लाख ४७ हजार लगानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष रु एक अर्ब ६२ करोड ३६ लाख ६५ हजारभन्दा बढी रकम लगानी गरेको बैंकका सूचना अधिकारी जीवन घिमिरेले जानकारी दिएका छन् । गत आर्थिक वर्षमा रु आठ अर्ब ४३ करोड ३४ लाख निक्षेप सङ्कल गर्ने लक्ष्य लिएको बैंकले सो अवधिमा रु सात अर्ब ४२ करोड ९६ लाख निक्षेप सङ्कलन गरी ८८ प्रतिशत प्रगति हासिल गरेको थियो । यो लक्ष्यको तुलनामा रु एक अर्ब तीन करोड ३८ लाख कमी हो । बैंकले गरेको लगानीमा शङ्कास्पद नेक्सानी व्यवस्थामा रु ३३ करोड ४९ लाख ८२ हजार रकम राखेको छ । उक्त बैंकले गत आर्थिक वर्ष कृषि कर्जातर्फ इलाममा रु चार अर्ब ३५ करोड ६५ लाख, झापामा रु आठ अर्ब ६५ लाख ८५ करोड, धनुकटा र तेह्रथुममा रु एक अर्ब ८९ करोड, सुनसरीमा रु एक अर्ब २० करोड र मोरङमा रु एक अर्ब २७ करोड लगानी गरेको थियो । त्यस्तै, उद्योगतर्फ इलाममा रु एक करोड १७ लाख, झापामा रु सात करोड ७७ लाख, धनकुटा र तेह्रथुममा रु ७१ लाख, सुनसरीमा रु सात करोड ९३ लाख र मोरङमा रु दुई करोड ६० लाख लगानी गरेको सो बैंकले जनाएको छ । यसरी, कूल एक लाख ४६ हजार ४३० सेवाग्राही रहेको बैंकमा ५४ हजार १६७ जना सक्रिय छन् । मेची र कोशी अञ्चल कार्यक्षेत्र रहेको बैंकमा ३३ वटा शाखा, एक क्षेत्रीय कार्यालय र मोरङमा एक तालिम केन्द्र छन् । बैंकले खानी, कृषि, उद्योग, होटेल तथा पर्यटन, निर्माणसम्बन्धी, घरायसी कर्जा, आयात–निर्यात कर्जा, जलविद्युत्, चिया र अलैँची, नगदेबाली जस्ता क्षेत्रमा लगानी गर्नुका अतिरिक्त सरकारको अनुदानको काम, सरकारी कारोवार, स्थानीय निकायको खाता, सामाजिक सुरक्षा भत्ता वितरण, वन र विद्यालयमा संस्थागत उत्तरदायी निर्वाह गर्दै विदेशी मुद्रा खरिद– बिक्री गर्ने गरेको छ । रासस