पोखरामा ग्रीन बैंकका दुई शाखा विस्तार

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले पोखरा महानगरभित्र थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका हुन् भने छोरेपाटन शाखाको उद्घाटन बैंकका सञ्चालक कृष्ण शंकर श्रेष्ठले गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानिय स्तरबाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानिय बैंक हुने बताए । सोही कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्बन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको र गण्डकी प्रदेशको उत्कृष्ट बैंक बनाउने लक्ष्य रहेको बताए । बैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, आईपिएस जस्ता सुविधा दिंदै आएको छ ।

१२ बैंकले कमाए ६ अर्ब ६० करोड नाफा, ग्लोबल आईएमईको सबैभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ वाणिज्य बैंकले ६ अर्ब ६० करोड ८३ लाख नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उनीहरूले सो अवधिमा कमाएको नाफा गत आवको सोही अवधिकोभन्दा ३६ करोड ४८ लाखले बढी हो । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरूले गत आवकोे यो अवधिमा ६ अर्ब २४ करोड ३५ लाख नाफा आर्जन गरेका थिए । चालु आव साउनदेखि असोजसम्मकोे यो अवधिमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ भने बढी नाफा कमाउने दोस्रो बैंकको एभरेष्ट बैंक परेको छ । प्राइम कमर्शियल बैंकले पहिलो त्रैमासमा ६५ करोड ९७ लाख नाफा आर्जन गरेको छ भने प्रभु बैंकले ६२ अर्ब ८४ करोड नाफा कमाएको छ । सरकारी स्वामित्वका ३ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरण प्रकाशित हुन वाँकी छ भने वित्तीय विवरण सार्वजनिक गरेका कृषि विकास बैंकको नाफा गएको आवकोभन्दा बढेको छ भने नेपाल बैंकको नाफा घटेको छ । चालु आवको यो अवधिमा कृषि विकास बैंकले ६० करोड ७३ लाख नाफा गरेको छ । सो नाफा गएको आवकोभन्दा ५ करोड ५९ लाखले बढी हो । नेपाल बैंकको नाफा भने चालु आवको यो अवधिमा ३३ करोड २० लाखले घटेको छ । नेपाल बैंकले जस्तै सिद्धार्थ र सिटिजन्स बैंकले पनि नाफा घटाएका छन् भने वाँकी ९ बैंकले गएको आवको तुलनामा नाफा बढाएका छन् । गत आवमात्रै बजारमा प्रवेश गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले चालु आवको पहिलो त्रैमासमा १८ करोड ५८ लाख नाफा गरेको छ । १२ वाणिज्य बैंकले पहिलो त्रैमासमा गरेको नाफा:

अजोड इन्स्योरेन्स ३ महिनामा २० करोड बीमा शुल्क आर्जन गर्न सफल, नाफा ७८ लाख रुपैयाँ

काठमाडाैं । अजोड इन्स्योरेन्सको विजनेश ग्रोथ राम्रो देखिएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा कम्पनीले करिव २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको समिक्षा अवधिमा ३ हजार ७३५ बीमा लेख जारी गरेकोमा यस वर्षको समिक्षा अवधिमा २६ हजार ४४३ बीमा लेख जारी गरेको छ । विजनेश विस्तारसँगै कम्पनीमा बीमा दावी पनि बढेको देखिन्छ । चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ५ करोड ३६ लाख बीमा दावी भुक्तानी गरेको छ भने थप ४ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ । चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको यस कम्पनीले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारी गरिरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा छ भने प्रतिसेयर कुल सम्पत्ति मुल्य १६० रुपैयाँ रहेको छ । तर प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ११ पैसा मात्र छ । असोज मसान्तसम्ममा कम्पनीले करिव ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।