लाभांश रकम यथाशीघ्र बुझिलिन एनआईसी एशियाको अनुरोध

काठमाडौँ । एनआईसी एशिया बैंक लि.ले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझि लिन बाँकी भए सो लाभांश रकमको पूर्जी बुझ्न अनुरोध गरेको छ । सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट लाभांश प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुमा बैंकले अनुरोध गरेको हो । साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

महालक्ष्मीको साधारण सभाबाट १७.८९ प्रतिशत लाभांश पारित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबारका १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको जनाइएको छ । बैंकले हालसम्म करिब रु. ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।

बेष्ट फाइनान्स र नेपाल रेडक्रसबीच सामाजिक कार्य गर्ने सम्झौता

काठमाडौँ । बेष्ट फाइनान्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्नका लागि नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखा बीच सम्झौता गरेको छ । सो सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको तर्फबाट सचिव माधव अधिकारी र फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले हस्ताक्षर गरेका छन् । फाइनान्सले यो आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम, स्वस्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच विविध सचेतनामुलक निबन्ध लेखन प्रतियोगिता सञ्चालन, सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री तथा सेनिटरी प्याड वितरण जस्ता कार्यक्रम गर्दा नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गर्ने गरी सम्झौता गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बेष्ट फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाईएको छ ।