साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका
काठमाडौं। काठमाडौं महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले व्यवस्थापन गर्न एकीकृत प्रणाली लागू गरिएको जानकारी दिए । सञ्चालनमा रहेका एक हजार ८५६ सहकारीलाई एकीकृत गरी ७०० बनाउने लक्ष्य लिइएको छ । सहकारी ऐन २०७४ तथा कामपाको सहकारी ऐन २०७४ मा एकीकृत गर्न सकिने प्रावधान रहेको छ । एकीकृत हुन दुई सहकारी एकअर्कामा तयार रहनुपर्छ । दुई महिनाअघि मात्र कापमाले वडा नं २४मा रहेकोे विराज बचत तथा ऋण सहकारी र वडा नं १३ को सप्तदीप बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी ‘सप्तदीप बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन प्रक्रिया शुरु गरिएको थियो । त्यस्तै वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरी ‘सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन भइरहेको छ । एकीकृत हुने सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट भइसकेको विभागले जनाएको छ । यसैगरी कामपा २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ । कामपा कार्यपालिका बैठकले एक महिनाअघि सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । विसं २०६४ मा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक विसं २०७४ बाट सम्पर्क्विहीन भएको जनाइएको छ । प्रशासन विभाग प्रमुख ढकालका अनुसार सो सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा लानुपर्ने कानूनी प्रावधान रहेको थियो ।
बजार विस्तारमा आक्रामक बन्यो प्राइमलाइफ इन्स्योरेन्स
काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ अन्तर्गत वुटवलमा एकैदिन ३ कार्यालय शुभारम्भ गरेको छ । कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाटमा तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हाे । उक्त तीनै कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरेका हुन् । सम्पुर्ण नेपाली नागरिकलाई जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले कार्यालय विस्तार गरेको उनले बताए । कम्पनीले बजारमा ल्यायका विभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउदै गत वर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप जानकारी गराउदै यो बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहक मैत्री भएको भट्टराईले प्रस्ट्याएका छन् । कम्पनीका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो ।
कृषि विकास बैंक र राष्ट्रिय कृषक समूहबीच कर्जासम्बन्धी सम्झौता
काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध विशेष गरी सिमान्तकृत, भूमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताएका छन् । साथै, विभिन्न सामाजिक सामुदायिक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् । उपाध्यायका अनुसार कृषि विकास बैंक सदैव कृषकको बैंक रही आएको र आगामी दिनमा समेत बैंकले कृषि तथा पशुपालनको व्यवसायिकीकरण र आधुनिकीकरणमा अग्रणी भुमिका निभाउने प्रतिबद्धता व्यक्त गरे । यस्तैगरी, राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बैंकसँग गरिएको सम्झौताबाट दूरदराजमा रहेका उपेक्षित गरीब कृषकहरुलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरुको आर्थिक स्तर माथि उठाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरे । बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार बैंकले राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आबद्ध देशका ५७ जिल्लाका करिब ५ हजार २ सय कृषक समुह तथा सहकारीका १ लाख कृषकहरुलाई कृषि तथा पशुसँग सम्बन्धित परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउने बताएका छन् । साथै, महासंघको सिफारिसमा स्थानीय कृषकहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालिम, बाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम संचालन समेत गर्ने छ ।