सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। हाल बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । सीईओ पदावधि सकिन लागेका कारण बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

काठमाडौं ।  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।  

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

काठमाडौं । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ ।  'बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौं उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ', बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले भने ।   बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ ।  बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन ।