ङादी ग्रुप पावरको लाभांश घोषणा
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांश पारित गरी वितरणका लागि कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा हुनेछ । साधारण सभाले लाभांश प्रस्ताव पारित गर्नेबाहेक, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । साथै, कम्पनीले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन तथा समितिबाट भएका निर्णय र कार्य अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश, सात प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभर बढ्दो रगतको मागलाई ध्यानमा राख्दै कम्पनीले सातै प्रदेशमा एकसाथ साताव्यापी रक्तदान अभियान सञ्चालन गरेको हो । कम्पनीका अनुसार कोशी प्रदेशमा ५३ युनिट, मधेश प्रदेशमा १६७ युनिट, बागमती प्रदेशमा ६३९ युनिट, गण्डकी प्रदेशमा ७९ युनिट, लुम्बिनी प्रदेशमा ४३५ युनिट, कर्णाली प्रदेशमा ४४ युनिट तथा सुदूरपश्चिम प्रदेशमा २२ युनिट गरी जम्मा १४३९ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सहकार्य र उत्साहजनक सहभागिताका लागि कम्पनीले सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी, रक्तदाता तथा सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ । २२औं वर्षमा प्रवेश गरेको शिखर इन्स्योरेन्सले आगामी दिनमा अझ सबल, सरल र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
मुक्तिनाथ विकास बैंकले महराजगञ्ज प्रहरीवृतलाई दियो दुई थान मोटरसाइकल
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त सहयोग शान्ति–सुरक्षा प्रवर्द्धनमा उपयोगी हुने अपेक्षा गरिएको छ । एक समारोहबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले प्रहरीवृत महराजगञ्जका प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । बैंकले गरेको सहयोगले प्रहरीलाई संवेदनशील क्षेत्रहरूको निगरानी, समयमै सूचना संकलन तथा समाजमा शान्ति–व्यवस्था कायम राख्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । बैंकका अनुसार सुरक्षित समाज निर्माण सबैको साझा दायित्व भएकाले नागरिक सुरक्षामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग गर्नु संस्थाको सामाजिक जिम्मेवारी हो । यस सहयोगले प्रहरीको दैनिक कार्यसम्पादन सहज हुने बैंकको विश्वास छ ।