एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले १४०१६७ क्रमाङ्कका परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी २०७२ सालको परीक्षासम्म दुई वर्षका लागि निष्काशन गरिएको छ । रासस
एसएलसी पूरक परीक्षा आजदेखि सुरु, २१ गतेसम्म सञ्चालन हुने
भक्तपुर, १४ साउन । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जानकारी दिए। एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात ग्रेड वृद्धिपरीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको थियो । परीक्षा २१ गतेसम्म सञ्चालन हुनेछ । रासस
त्रिवि सेवा आयोगको अध्यक्षमा शर्मा
चैतन्य शर्मा काठमाडौं, ६ साउन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा चैतन्य शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसबमोजिम तीन वर्षका लागि उनलाई आज नियुक्त गरेका हुन् । यसअघिका अध्यक्ष प्रा डा ईश्वरचन्द्र दत्तको कार्यकाल सकिएपछि त्रिविका रसायनशास्त्रका पूर्व सहप्राध्यापक तथा पूर्व उपनियन्त्रक शर्मालाई नियुक्त गरिएको हो । विघटित उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष शर्मा मदन भण्डारी मेमोरियल कलेजका पूर्व क्याम्पस प्रमुख पनि हुन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहने समितिले सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ । रासस