कोरियाली भाषा परीक्षामा १५ हजार त्रुटी, पहिलाेपटक अनलाइन भएकाेले धेरैकाे त्रुटी
काठमाडौं । रोजगारा अनुमति प्रणाली अन्तर्गत कोरिया जानका लागि भरेको भाषा परिक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ। पहिलो पटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदनमध्ये केहीले फोटो, केहीले नाम तथा जन्ममितिमा फरक विवरण भरेका हुन्। चैत ९ गतेदेखि १८ गतेसम्म संकलन गरिएका दरखास्तमध्ये अधिकांशको त्रुटि सच्याएर कोरिया पठाइसकेको इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए। यसपटक कोरिया भाषा परीक्षा दिन ७५ हजार ५ सय ८३ जनाले दरखास्त दिएका थिए। दरखास्त दिएकाको आगामी जेठ २७ र २८ गते चार सिफ्टमा परीक्षा लिने व्यवस्था मिलाइएको भण्डारीले जानकारी दिए। नागरिक दैनिकबाट ।
स्कुल र स्टेसनरीको मिलेमतोमा किताब विक्रीवितरण, अभिभावकलाई दिने छुट स्कूललाई कमिशन
पुस्तककाे फाइल फाेटाे काठमाडौं । सरकारले विद्यालयबाट पुस्तक विक्रि गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको छ । विद्यालयको मिलेमतोमा पुस्तक व्यवसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । राजधानीमा नाम चलेका विद्यालयले एउटै पसलमा सूची भिडाएर विद्यालयलाई मोटो कमिसन दिने प्रलोभनमा थप पुस्तक कपीलगायतका सामाग्री भिडाउने गरेको खुलेको हो । मखनमा रहेको पीएस बुक्स एन्ड स्टेशनरीले राजधानीमा नाम चलेका विद्यालयको पुस्तक ठेक्का नै लिएर विक्रि गरेको खुलेको छ । नेपालसमाचारपत्र दैनिकबाट ।
गल्ती नै गल्ती भएको पुस्तक पढाउन प्याब्सनको दबाब, पढ्ने पुस्तकै गलत भएपछि विद्यार्थीले के सिक्ने ?
पुस्तककाे फाइल फाेटाे काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले धेरै त्रुटि रहेको ‘प्याब्सन साइन्स बुक’ पढाउन सदस्य विद्यालयहरूलाई दबाब दिएको छ । प्याब्सनका पदाधिकारीहरूले एसएमएस, भेटघाटमा आफैँले प्रकाशन गरेको ‘प्याब्सन साइन्स बुक’ पढाउन दबाब दिएका हुन् । ‘प्याब्सन साइन्स बुक’ मा धेरै त्रुटि पाइएपछि उसकै सदस्य विद्यालयले समेत पुस्तक पढाउन नचाहेपछि विभिन्न तरिकाले दबाब दिन थालिएको हो । कतिपय जिल्लामा जिल्ला समितिको दबाबमा जिल्लाका सदस्य विद्यालयमा सो पुस्तक पढाउन सहमत गराइसकेका छन् । प्याब्सन सामाजिक संस्था भए पनि आर्थिक स्रोत जुटाउन उसले कक्षा १ देखि १० सम्मका लागि ‘प्याब्सन साइन्स बुक’ प्रकाशन गरेको छ । सो पुस्तक पी पब्लिकेसन्सको नाममा प्रकाशित छ । ‘म पनि प्याब्सनकै सदस्य हुँ, तर धेरै गल्ती भएकाले यो वर्ष प्याब्सन साइन्स बुक लगाउन सकिनँ,’ काठमाडौंका एक विद्यालय सञ्चालकले भने, ‘यो पुस्तकमा धेरै कमजोरी छन्, म्याच मिलाउन भनेको ठाउँमा म्याच हुने कुरै छैनन्, परिभाषालगायतका कुराहरू स्पष्ट छैनन् । यस्ता धेरै त्रुटि छन् ।’ कक्षा १ देखि नै बग्रेल्ती गल्ती कक्षा १ देखि नै ‘प्याब्सन साइन्स बुक’मा धेरै गल्ती रहेका छन् । उदाहरणका लागि कक्षा १ को पुस्तक पेज नं। ८३ मा ‘म्याच द फ्लोइङ’ भन्नेमा एकापट्टि शब्द दिएको छ, तर अर्कोतिर केसँग मिलाउने हो खाली छ । त्यसैगरी, पेज नं। ७५ मा ‘फिल इन द ग्याप’मा खाली ठाउँ नै छैन । पेज नं। ७७ मा व्याख्या गरिएको अनुच्छेद र तस्बिरहरूसमेत उल्टो छन् । प्याब्सनको भन्दा धेरै राम्रा पुस्तक अरू प्रकाशन गृहका रहे पनि रोजेर पढाउन नपाएको विद्यालय सञ्चालकहरूको भनाइ छ । आर्थिक चलखेलका लागि ‘प्याब्सन साइन्स बुक’ पढाउन दबाब दिने गरेको उनीहरूको भनाइ छ । सो पुस्तकको मूल्य दुई सय ५० देखि साढे चार सय रुपैयाँसम्म रहेको छ । पुस्तक पढाउन भन्दा केही फरक पर्दैनः प्याब्सन अध्यक्ष प्याब्सन अध्यक्ष विजय सम्बाहाम्फेले ‘प्याब्सन साइन्स बुक’ पढाउन विद्यालय सञ्चालकलाई भन्दा केही फरक नपर्ने बताए । प्याब्सनले अहिले वितरणको जिम्मेवारी बुद्ध पब्लिकेसनलाई दिएको छ । ‘हामी यही समाजमै बस्ने हो, कसैले भनिदिनुपर्यो भन्दा त्यो काम गर्नुपर्छ,’ उनले भने । सम्बाहाम्फेले आफू साइन्सको विशेषज्ञ नभएकाले गल्ती थाहा नभएको बताए । उनले गल्ती भएमा विशेषज्ञले सुधार गर्नुपर्ने तर्क गरे । सबैको पेलानमा अभिभावक कतिपय विद्यालयले राम्रो पब्लिकेसनका पुस्तक पढाउने गरे पनि धेरैले कमिसनका लागि कमजोर पुस्तकसमेत सिफारिस गर्ने गरेका छन् । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी विद्यालयमा पढाउने अभिभावक तोकिएको पुस्तक र तोकिएकै पसलबाट किन्नुपर्ने बाध्यतामा छन् । दबाब दिन मिल्दैन पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएका थप पाठ्यसामग्री विद्यालयले प्रयोगका लागि कसैलाई दबाब दिन नमिल्ने बताए । पुस्तक छान्न पाउने विद्यालयको अधिकार भएको उनले स्पष्ट पारे । राम्रा पुस्तक छानेर किन्ने विद्यालयको अधिकार भएको उनले बताए । कतिपय निजी विद्यालयले राम्रो पुस्तक छान्नेभन्दा आर्थिक कुरामा बढी ध्यान दिने गरेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट ।