माध्यमिक तह तृतिय श्रेणी पदको नतिजा सार्वजनिक, मधेसबाट सबै फेल
काठमाडौं । शिक्षक सेवा आयोग माध्यमिक तह तृतिय श्रेणीको नतिजा सार्वजनिक भएको छ । आयोगले ०७८/१२/१७ र ०७९/०३/११ गते लिएको लिखित परीक्षाको मंसिर १० गते शनिबार सूचना प्रकाशित गर्दै सो नतिजा प्रकाशन गरेको हो । जसमा प्रदेश १ मा २४, बागमती प्रदेशबाट २ जना, गण्डकी प्रदेशबाट ५ जना, लम्बिनी प्रदेशबाट जना, कर्णाली प्रदेशबाट ७ जना र सुदुरपश्चिम प्रदेशबाट १४ जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् । तर, मधेस प्रदेशमा ८ जनाको लागि आवेदन खुलाइएकोमा एक जनाले पनि नाम निकाल्न सफल नभएको आयोगको सूचनामा उल्लेख गरिएको छ । लिखित परीक्षामा नाम निकालेका परीक्षार्थी मध्ये गणित र विज्ञान विषयको अन्तवार्ता यही मंसिर २८ गते सम्वन्धित प्रदेशमा पर्ने शिक्षा विकास निर्देशनालयमा हुने आयोगले सूचनामा उल्लेख गरेको छ । आयोगको सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्
मध्यपश्चिम विश्वविद्यालयद्वारा महिला हिंसा विरुद्दको अभियान ‘ओरेन्ज डे’ मनाउने
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्धको अभियान ओरेन्ज डे मनाउने निर्णय गरेको छ । मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयद्वारा आयोजित एक अनलाइन छलफल कार्यक्रम मार्फत विश्वव्यापी रुपमा मनाईने महिला हिंसा विरुद्दको अभियान अर्थात ओरेन्ज डे विभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरेको छ । उक्त छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्द बहादुर सिंहले ‘महिला हिंसाको विरुद्धमा मध्यपश्चिम विश्वविद्यालय’ अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म सोह्र दिन विभिन्न कार्यक्रम भौतिक रुपमै संचालन गर्ने र मध्यपश्चिम विश्वविद्यालयले यसको नेतृत्व गर्ने कुरा उल्लेख गरेका छन् । सो अभियानलाई कार्यान्वयन गर्न मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप-प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति रहने विश्वविद्यालयले जनाएको छ । जसमा विश्वविद्यालयका उपकुलपति, सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीनहरु, कार्यकारी निर्देशकहरु, लगायत विभिन्न विभागका प्रमुख र निर्देशेक रहने निर्णय भएको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरुमा समेत सो अभियानलाई कार्यान्वयन गर्न क्याम्पस प्रमुख सम्मिलित समिति गठन गरी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।
आइएलटिएस परीक्षा सञ्चालन गर्न नायर र ब्रिटिश काउन्सिलबीच सम्झौता
काठमाडौं । नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर) र ब्रिटिश काउन्सिलबीच सम्झाैता भएकाे छ । अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीका लागि आइएलटिएस परीक्षा सुरु गर्न नायरले काउन्सिलसँग सम्झौता गरेको हाे । सम्झौता पत्रमा नायरका तर्फबाट अध्यक्ष प्रेम पाण्डे र ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर म्याक्सिम रइमानले हस्ताक्षर गरेका छन् । नायर र काउन्सिलबीच आइएलटिएस परीक्षामा कसरी राम्रो अंक ल्याउने भन्ने बारे विद्यार्थीहरुलाई नियमित तालिम र कार्यशाला गोष्ठीहरु गर्ने पनि सहमति भएको छ । यस्तै, नायरले स्थापना गरेको अष्ट्रेलियन एजुकेसन इन्फरमेसन सेन्टर (एइआइसी) लाई प्रभावकारी बनाउन पनि ब्रिटिश काउन्सिलले सहयोग गर्ने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय, काउन्सिल र शैक्षिक परामर्शदाताहरुले काउन्सिलिङका लागि उक्त सेन्टरको हल प्रयोग गर्न पाउनेछन् । विद्यार्थीहरुले सेन्टरमा रहेको पुस्तकालय तथा त्यहाँका ४२ विश्वविद्यालयका सबै पुस्तकालय निशुल्क प्रयोग गर्न पाउनेछन् । विद्यार्थीलाई लक्षित गरी बनाइएका डिजिटल ल्याब, लाइब्रेरीहरुको प्रवद्र्धन गर्न ब्रिटिश काउन्सिलले सहयोग गर्ने छ ।