हजुरबा, म र छाेरी
“बाबा कोलोना भाइलच भनेको के हो ?” सानी छोरीले आफ्नै लवजमा जिज्ञासा राखिन् । “जतासुकै बाहिर हिँड्यो भने, पसलको चकलेट, चाउचाउ खायो भने पेटमा ऐया बनाउने डरलाग्दो– लायन (सिंह) जस्तै हो ।” मैले उत्तर दिएँ । छोरीले बुझेको झै गरी टाउको हल्लाइन् । मानौँ समर्थनमा । “बाबा यो कचली (कसरी) आम्छ (आउँछ) ?” “यो गाडी चढेर, हवाइजहाज चढेर आउँछ ।” यो कुरा चाहिँ मैले सही नै भनेको भान भयो । केवल सानो विषाणु “कोरोना भाइरस” ले संसारमै यत्तिका धेरै मान्छेलाई कसरी भयभित तुल्याउन सकेको होला ? आखिर मानिस नै उसको सहयात्री बन्यो । हवाइजहाजमा सररर यात्रा गराउने पनि मानिस र उसँग डराउने पनि मानिस । चीनको वुहानमा गरिएको कठोर निर्णयलाई स्पेन, अमेरिका, भारतदेखि विश्वले नै किन हलुका रूपमा लियो ? आखिर भाइरसले सीमाको नियम देख्थ्यो र ! महामारीको विपद् व्यवस्थापनमा र सचेतनाको अभावले मान्छे भयभित भयो । “यो कोरोना त लिसोझैँ, ऐँझेरुझै या त भनौँ आफैँमा जरा नभएर पनि सीमालीकै आडमा फैलिने पहेँलो लहरोझैँ रहेछ, हजुरबा ।” मलाई मेरो हजुरबाको चित्त बुझाउन समर्थ भएकोमा खुशी लाग्यो । मानौँ म कोरोनाको विशेषज्ञ नै हुँ । मैले मेरा हजुरबादेखि मेरी साढे तीन वर्षे छोरीसम्मलाई कोरोनाको ज्ञात-अज्ञात विषयलाई बुझाउन पाउँदा त खुशी मान्नैपर्छ । नोेबेल कोरोना अर्थात् कोबिड १९ को विश्वयात्राको ताण्डवमा म कति जानकार हुँ कुन्नि । भनिन्छः साबुनपानीले मिचीमिची हात धुनुपर्छ, भिडभाडबाट जोगिनुपर्छ, सामाजिक दूरी कायम राख्नुपर्छ इत्यादि सचेतनाका सन्देश । म आफैँले आफैँलाई अपनाउन सक्छु । कमसेकम मेरै लागि । अर्गानिक विधिमा । तर, म उठ्दा, बस्दा, सुत्दा, फेरि उठ्दा, “प्रिय साथी इन्टरनेट” । सामाजिक सञ्जालका दस्तावेजभित्र उही कोरोनाका नामसँगै घोत्लिन्छु । मानौँ म पनि “घोप्टेयुग” को एकजना सक्रिय कार्यकर्ता । लेखक मेरो हजुरबा भन्नुहुन्छ-“बाँच्नु नै ठूलो कुरा हो । सम्पत्ति त हातको मैलो हो ।” कोरोनाले पैसाका निम्ति नसुत्ने मान्छेलाई पहिलोपटक जीवन रक्षाका निम्ति घरमा सुत्न दियो । पैसाको तनाव भिर्नेले पहिलोपटक जीवनरक्षाको बारेमा सोच्यो । २१ औँ शताब्दीको युगमा सङ्कटको पहाडभित्र एकपटक प्राकृतिक जीवनको सन्देश प्रवाह भइरहेको छ । अलिकति प्रकृतिले रम्यता पस्कँदै छ, आत्मनिर्भर रहने वन्यजन्तु स्वच्छन्द विचरण गर्दै छन् । पूर्वीय “नमस्कार” संस्कृतिको विश्वव्यापीकरणको विषयले पनि विज्ञानसँग नातो गाँस्यो । अनि, प्रश्न तेर्सिन्छ– विज्ञान भनेको सर्वेसर्वा हो ? “हुलमुलमा जिउ जोगाउनु, अनिकालका बिउ जोगाउनु” हजुरबाको उक्ति आजकै सन्दर्भपरक । स्वर्ण अक्षरमा लेख्न योग्य । तब मैले भनेँ-“हजुरबा ! हुलमुलमा जिउ जोगाउनु भनेको ‘लकडाउन’ हो । अनिकालमा बिउ जोगाउनु भनेको चाहिँ ‘भोकमरीबाट बच्ने उपाय खोज्नु’ हो ।” छोरीका लागि उत्तर दिएँ– “छोरी लकडाउन भनेको ‘ज्ञ–ज्ञानी’ बन्ने हो । घरमै बसेर पढ्ने हो ।” छोरी विद्यालय जान नपाएकैमा खुशी छिन् । घरमै बसेर रमाएकी छिन् । हरेक मान्छे संसारमा नयाँ रहेछ अनि हरेक समस्या पुरानै हो । हरेक मान्छेले समस्यालाई भिर्छ, अनि संसारबाट जाने क्रममा यही धर्तीमा छोड्छ । म विनाशकारी कोरोनाको उक्ति परिवर्तित वंशजतिर घोत्लिन चाहेँ । डार्विनका विचारसँग । लुप्त गुण हुँदै फुत्त–फुत्त आवागमन गर्ने पुर्ख्याैली समानता बोकेका उस्तै सरुवाहरूको इतिहास । आततायी पीडाको इतिहास । १३–१४ औँ शताब्दीतिरै “प्लेग” नामक रोग आएछ । सायद सम्बन्धका हिसाबमा त्यो कोरोनाको जिजुबा पर्ने हुन सक्छ । उसले पनि बढी आवागमन हुने क्षेत्र र शहरतिरै अड्डा जमाएछ । सन् १३४७ देखि १३५२ को “ब्ल्याक डेथ” ले युरोप (इटाली) बाट कान उखेल्न थालेको रहेछ । यो कोरोनाको मावलीतिरको जस्तो लाग्यो । कंशको जस्तो स्वभाव भएकैले लगभग ४० प्रतिशत अर्थात् २० करोड युरोपका मानिसको प्राणलाई सर्लक्कै निलिदिएको रहेछ । मानिस नवीन उपचार प्रविधि, सुविधा, शिक्षा र रोजगारको केन्द्र भन्दै शहरमा भिड गर्छ । बसिखाने अपेक्षामा मनुष्य पिरो नयन बोकेर बाक्लो समाजमा एक्लो जीवन जिउँछ । अमेरिका, युरोप, अस्ट्रेलियातिर हुरिन पाए नाक फुलाउँछ । सन् १५२० मा एसिया, युरोप हुँदै मेक्सिको, अमेरिकासम्म यात्रा गरेको कोरोनाकै काका पर्ने “बिफर” ले लगभग ५ करोड ६० लाख मानिसको ज्यान लिएको रहेछ । सन् १८५५ मा चीन (युनान) बाट जन्मिएर भारतको भूमिमा ताण्डव मच्चाएको “तेस्रो प्लेग” पनि कोरोनाको नजिककै परिचित हुन सक्छ । यसले पनि १ करोड २० लाख मानिसको जीवनलीला समाप्त गरिदियो । १९१८ मा “स्पेनिस फ्लु” ले विश्वमा करिब ५ करोड मानिसको प्राण हरण गर्यो । यस विरुद्धको खोपको विकास पनि सन् १९४० मा मात्र भयो । कोरोना विरुद्धको औषधी वा खोप निर्माणका लागि सायद अहिलेको प्रविधि र मानिसको बुद्धिमता नै विपत्तिका सहायक बन्छ । यसको पाशविकता र कोरोनाको अनुहार मिल्छ । त्यतिखेरै प्रयोग भएको “क्वारेन्टाइन” शब्दको अर्थलाई म आज बल्ल बुझ्न–बुझ्न लागेको जस्तो हुँदै छु । त्यतिखेर नै सामाजिक दूरी कायम राख्न भनेर विद्यालय, मन्दिर, मस्जिद आदि भिडभाडलाई बन्द गरिएको रहेछ । तर, मैले मेरा हजुरबा र छोरीलाई “क्वारेन्टाइन, आइसुलेसन, लकडाउन” आदिको अर्थलाई अझै राम्रोसँग बुझाउन सकेकै छैन । हजुरबाले भन्नुभयो-“२०२८ सालमा घोर अनिकाल बिहोरियो ।” मैले सोचेँ– तबदेखि आजसम्म हाम्रो कृषिप्रधान देशले कसरी आफूलाई समृद्ध तुल्यायो र ! बरु खेतीयोग्य जमिनमा प्लटिङ भए । बरु आपसी राजनीतिक विद्रोहलाई प्राथमिकता दिइरहियो । आखिर राजनीतिक विषय मात्र ठूलो भयो । सामाजिक, सांस्कृतिक, पर्यावरणीय जीवनका विषय छायाँमै रहे । मुलुकमा ठूला–ठूला राजनैतिक क्रान्ति र परिवर्तनका कुरा आए । नेपाल बन्द भन्दै गरिएका काटाकाट र मारामारको ताण्डवले सिन्दुर पुछिए, काख र कोख रित्तिए । परिणामतः शान्ति, संवाद र सहकार्यकै बाटो निर्णायक रहेछ । २०४५ र २०७२ का भूकम्पले पनि मानवताको चेतना र आत्मनिर्भरता सिकाएन । वर्षेनी भयङ्कर बाढी आए, डुबान भए तर पनि सतर्कताका बारेमा सोच्न सकिएन । यी त आखिर प्राकृतिक विपत्ति थिए । “नाकाबन्दी” छिमेकीद्वारा गरिएको मानवनिर्मित विपत्तिले पनि हामीलाई स्वाभिमानी र आत्मनिर्भर हुन सिकाएन । हुन त त्यतिखेर दाउरा बालियो, ग्याँस खानीको सर्वेक्षण समेत भएका समाचार आए, विकल्पका थुप्रै तरिका बजारमा सुझावको झोला भिरेर आए अनि नाकाबन्दी खुल्दानखुल्दै विलय भए । आखिर-विकास, अवसर, अध्ययन, स्वास्थ्योपचारको अभिलासाले शहरीकृत गरायो । अझ बढी त द्वन्द्वकालले थुप्रै परिवारलाई नै शहरतिर लघार्यो । भूकम्पले समेत गाउँ फर्काउन सकेन । बरु राहतलाई तह लगाउनका लागि गाउँमा सानो टहरो बनाइयो । चाहे त्यो बिस्याहार होस् । राहतकै आहत भयो । नक्कली र सक्कली पीडित अनि सक्कली र नक्कली दाता । गाउँको जग्गा बाँझो राखेर भाडाको कोठामा बास्मतीको भुजा ज्यूनार गर्ने हामी पसलेसँग भन्छौँ– “यो सब्जी ताजा हो र ! बासी जस्तो छ ।” कोरोनाले मानिसको बुद्धिको बिर्को खोल्दिए महामारीरूपी अभिशाप पनि बाँच्नेको लागि वरदान हुनेथ्यो । गाउँको जग्गा बाँझो राखेर भाडाको कोठामा बास्मतीको भुजा ज्यूनार गर्ने हामी पसलेसँग भन्छौँ– “यो सब्जी ताजा हो र ! बासी जस्तो छ ।” कोरोनाले मानिसको बुद्धिको बिर्को खोल्दिए महामारीरूपी अभिशाप पनि बाँच्नेको लागि वरदान हुनेथ्यो । एकजना मलेसियामा कार्यरत दाइले भन्नुभयो– “मलाई घरको यादले दुःखाउँछ । घरमा आउन पनि मिल्दैन । पैसा सकियो । हामीलाई काम नगरेको दिनमा तलब पनि दिँदैन । एटियमसम्म जान सकिया छैन । खै कसरी बाँच्ने !” गरिबीले हृदयलाई गाँठो पारेर परदेशमा डन्डा मार्छ । आखिर बेरोजगारिताको पीडा र गरिबीले थिचेको छ । वास्तवमा कृषियोग्य जमिनमा महल ठड्याएर आयातित सामग्रीमा परनिर्भर हामी आफ्नै कोठेबारीलाई घृणा गर्दैछौँ । सङ्कटमा शहर त विरानो हुन्छ । एक्लो भीडमा विक्षिप्त छ मान्छे । गुणात्मक शिक्षा र स्वास्थ्यको भौतिक चाहनाको लालसमा कङ्क्रिट महलको घना बस्तीमा भूत जस्तो हुन्छ । पलायनवादी सोचभित्र परनिर्भरताको पराकाष्ठालाई झेल्दै छ । तनाव ओढ्छ अनि तनाव बिसाउँछ । कृत्रिमताभित्र टेकेर प्राकृतिक जीवनको आलापमा दुःखी हुन्छ । कौसीको गमलामा धनीया पत्तामा पर्यावरणीय सुख चाहन्छ । हजुरबा भन्नुहुन्छ– “शहरमा त महामारीको महासङ्कट आइपर्यो भने सबैभन्दा पहिला अत्यन्तै निम्न वर्गबाट पीडा सुरु हुन्छ ।” हो, हुनेलाई मस्ती नहुनेलाई सास्ती हुन्छ । तर, यदि सचेत जनता भएका स्थानमा महाविपत्ति आयो भने सबैभन्दा बढी पीडा धनाढ्यहरूमा हुन सक्छ । किसानहरूले आफ्ना लागि अन्नपात सङ्कलन गरेर राखेकै हुन्छन् । लास जलाउँदा त भीआइपीको दर्जा हुने स्थानमा अनि न्यायको भिख माग्दै गरेका मृतात्माहरू सायद चिहानमा कोटा पद्धतिलाई खोतल्दा हुन् । विडम्बना महामारीका लप्का सेलाउँदै जाँदा उही शहर व्यापार, लुट, ठग, घुसखोरीमा उसै गरी जाग्दै जान्छ । उसै गरी चलायमान हुन्छ । उसै गरी आत्महत्याका घटना बढ्लान् । त्यसपछि नवउदारवादले वरदान बनाइदिएको निजीकरणको मारमा गरिबले गरिबकै स्थानमा कोच्याइदिन्छ । सार्वजनिक सेवाको गुणस्तर वृद्धिमा अधिनायकवाद र नवअधिनायकवादको कालोधन बटुल्ने पासो थापिन्छ । च्याँखे दाउमा । दुहुनु गाई बनाएर । सरकारी काम र कार्यालयमा अविश्वासको बादलले ढाकिरहन्छ । हैरानी र बेचैनीले अड्डा जमाउँछ । मानवताको ठूलो तगारो । चुनावी नारामा, घोषणापत्रमा, नीति तथा योजनामा कोरिएका स्वप्नाभित्र स्वतन्त्रताको ऐठन हुन्छ । आधा शताब्दीकै अन्तरालमा प्रकृतिको प्रतिद्वन्द्वी बन्यो मानिस । आखिर प्रकृतिले आफ्नै अनुकूलताको अपेक्षा गरेको पनि त हुँदो हो । प्रविधिकै आडमा “कोरोना नियन्त्रण क्याम्पसुल” बनाउन प्रकृतिप्रदत्त जीवनको अपेक्षा मान्छेलाई हुन्छ । हजुरबाले भन्नुभयो– “आगामी पुस्ताका लागि पनि त योजना उन्नुपर्ने हो ! हामीले उनेका ‘बसुधैव कुटुम्बकम् र परोपकार नै धर्म हो’ भन्ने उक्तिको त ख्याल भएन नै ।” महामारी बाजा बजाएर पनि त आउने होइन । हाम्रा पुर्खाले प्रविधिसँग यति धेरै अन्तरसम्बन्ध गाँसेका हुँदा हुन् त आज मानिसको अस्तित्व नै सङ्कटको घेरामा पौडँदै हुन्थ्यो होला । महामारीको सहकर्मी पनि प्राविधिक दम्भ नै भयो । गरिब मान्छेले अप्ठ्यारोसँग जसरी सामना गर्न सक्छ त्यसरी विलासीले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक दुवै बलमा सक्षम हुन्छ गरिब मानिस । समस्या ओढेर समस्या निल्दै समस्या ओकल्छ उसले । मानौँ ऊ समस्यामा विद्यावारिधि हो । सायद शताब्दीगत महामारीका आततायी दृश्यबाट लुछिएर मान्छे त्राहीत्राही भइरहन्थ्यो । कोरोनाले गरिब मार्ने महामारीको इतिहासलाई पल्टाएर सम्पन्नमै पीडाको मुसल प्रहार गरिदिएपछि फेरि प्राकृतिक, जैविक जीवन पद्धतिको मूल्यबोध हुनुपर्ने हो । अनि, पैसा ठूलो कि जीवन ? वैश्विक भविष्य कल्पनाको गहिराइ अचम्मको । गरिबी र खाद्यसङ्कटको डढेलोमा विश्व पिल्सिरहँदा मानवताको महल नढलोस् । मेरो हजुरबाले मलाई जीवन ठूलो भन्नुहुन्छ । मेरी सानी छोरी बिचरा अबोध छिन् त्यसैले “पैसा ठूलो” भन्छिन् तर तिनको भावनामा मानवता ठूलो छः वसुधैव कुटुम्बकम् । गरिब मान्छेले अप्ठ्यारोसँग जसरी सामना गर्न सक्छ त्यसरी विलासीले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक दुवै बलमा सक्षम हुन्छ गरिब मानिस । समस्या ओढेर समस्या निल्दै समस्या ओकल्छ उसले । मानौँ ऊ समस्यामा विद्यावारिधि हो । मलाई समस्याका चाङभित्र घोत्लिन विवस बनायो । नेपालमा २०२० मा १५ प्रतिशत अर्थात् ४५ लाख मानिस अति गरिब मान्छे नै विश्वमा जसरी नै पीडामा पिरोलिने सम्भाव्यता रहने देखियो । केवल व्यवस्थाले किनभने गरिबी मान्छेको व्यवस्थामा बाँधिएको पासो हो । मानिस जन्मँदै गरिब जन्मँदैन । मरेर जाँदा धनीले धन लैजाँदैन । कामबाट बिदा नै नपाउनेको आलापमा सायद मेरी छोरीको जस्तो तोते लवजको जिज्ञासामूलक वचन सुन्ने रहर हुँदो हो । “एकान्तवास” को नियमलाई तोड्छ । कल्पनै नगरेको विश्वव्यापी जटिलताले तल्लो दर्जा दिइने महत्वपूर्ण कर्मवादी व्यक्तित्वमा गाँस र सासको समस्याले पिरोल्छ । जनताले कसरी बुझ्ने ? “लकडाउन” भनेको गाडी, पसल, सामाजिक सम्बन्धलाई बन्द गर्नुपर्ने अवस्था हो ! सरकार स्पष्ट सूचना नदिएकोमा गल्ति सम्झँदैन । अनि शिक्षाको उज्यालोबाट बञ्चित रहर बुझ्न नसक्ने, बुझ्न चाहेर पनि बुझ्न नजान्नेको मनोविज्ञानसम्म सोच्न सक्दैन तब निरीह मान्छे दण्डित हुन्छ । मानिस समस्या रहुन्जेल सचेतनाको ढोल पिट्छ अनि उही छेपारे । युद्ध विभीषीकाभित्र आफैँले निम्त्याएको मृत संवेदनामा जीवनको मूल्यलाई क्षणभरमा समाप्त गराउने मानिस नै हो । प्रकृति खुशी हुँदा गरिबलाई यसले दुःखी बनायो । आफ्नो जीवनरक्षाको आलापमा मानिस कोठाभित्र किन बन्दी बन्यो ! भलै पशुप्राणीबाट आयातित रोग हो तर मानिस बुद्धिमताको सदुपयोग नगरेरै पीडाको सिकार हुन्छ । संसारको मुखमा माक्सको मखुन्डो लगाइदियो अनि दम्भको मखुन्डो अलिकति उतारिदियो । लाखौँको प्राण लिएर ताण्डव मच्चाएको कोरोनाले धरावासीमा रक्तबीज बनेर भयभित तुल्याउँदा डाक्टरले भगवान् बन्नु छ । विना हतिहारको युद्धमा विजयको ध्वजा कसरी फहराउने ? विज्ञानले क्याप्सुल रच्नु छ । संसारको मुखमा माक्सको मखुन्डो लगाइदियो अनि दम्भको मखुन्डो अलिकति उतारिदियो । लाखौँको प्राण लिएर ताण्डव मच्चाएको कोरोनाले धरावासीमा रक्तबीज बनेर भयभित तुल्याउँदा डाक्टरले भगवान् बन्नु छ । विना हतिहारको युद्धमा विजयको ध्वजा कसरी फहराउने ? विज्ञानले क्याप्सुल रच्नु छ । देहान्तभन्दा एकान्त अवश्य ठूलो हो । हजुरबा भन्नुहुन्छ– “यो विज्ञानको हार हो ?” म भन्छु-“पुँजीवादको पतन हुनुपर्छ ।” तर म दोधारमा छु । दानवीरहरूलाई देख्दा– मानवतावादको प्रारम्भ हो कि अन्त्य ? मानवताभन्दा ठूलो जात हुँदैन अनि दया र प्रेमभन्दा ठूलो धर्म छैन । सबै शास्त्रका कुरा धर्मसँग तोलेर ज्ञान बिर्सन पारङ्गत मान्छे हामी । विज्ञान जान्दा शास्त्र बिर्सनुपर्छ भन्न जान्ने अनि सियो पनि अर्काकै भरमा परेर किन्ने हामी । पुर्खाको सीप र कलालाई पुनर्विकास नगर्ने, बरु छोड्ने अनि पुर्खालाई रुढीवादी भन्न जान्ने हामी । पुर्खाको नैतिक शिक्षाले आज व्यावहारिक चित्र देखाउँदा हामी शङ्काको घेरामा निर्लज्ज छौँ । अल्पज्ञान भिरेर । दिव्योपदेशभन्दा मार्क्सवाद ठूलो हुनुको अर्थ नवसामन्तको जन्म हो ? दम्भले उन्मत्त हुँदा मान्छे स्वार्थ कुइरोमा हराएको छ । प्रविधिले मान्छेलाई जन्माएको होइन, मान्छेले प्रविधिलाई जन्माएको हो । मेरो हजुरबुवा युट्युबमा महाभारत हेर्नमा व्यस्त हुनुहुन्छ । अनि भन्नुहुन्छ– “महत्वाकाङ्क्षी नेतृत्वका उत्तराधिकारी र आसेपासे दुर्योधन र दुस्सासन बनेपछि, अवसरवादी मामा शकुनीले अत्याचारको पासा फ्याँकेपछि पाण्डुपुत्रजस्ता असल, सत्यवादी, कर्मवादी, बलशालीले आँखाअघि धर्मपत्नीको वस्त्रहरण भएको देखेर पनि चुप बस्नुपर्छ ?! उल्टो वनवास, गुप्तवास, लाक्षगृहजस्ता विनागल्तीको सजाय भोग्नुपर्छ । काण्डैकाण्डमा फसाइएपछि त भिष्मपितामह, द्रोणाचार्य, कृपाचार्यजस्ता महारथी पनि द्रौपदीजस्ती रजश्वला भएकी नारीको वस्त्रहरणमा अन्धो बनेर सहन गर्छन् । प्रतिकार गर्दैनन् । अनि भिषण युद्धको पीडामा छिया–छिया भएका कुन्ती र गान्धारीको पीडालाई कसले बुझ्छ ?” प्रकृति, जीवन र समाजको संरचनामा भोकको पीडाले थिचेपछि अहिलेको मान्छे अराजक बन्छ । प्रकृतिका हरेक सजीव तथा निर्जीवको अस्तित्व आवश्यक र अनिवार्य छ । मानिस एक्लै यो धर्तीमा बाँच्न चाहने निहित स्वार्थले अन्य प्राणीको जीवन समाप्त पारिरहन्छ भने त्यसको सजाय मान्छेले नै भोग्नुपर्छ । जैविक विकासको सारमा मानिस प्रकृतिप्रदत्त हुन सक्नुपर्छ नत्र विनासको डङ्का बजिरहनेछ । शक्ति, सम्पत्ति र सम्मानको घुम ओढेर । खाद्य सङ्कटको स्वीकारोक्तिमा त्रसित मनहरूले आर्थिक मन्दी, बेरोजगारिताको चुनौती क्षितिजमा पहाड बनेर ठडिँदै छ । मान्छेले स्वअहम् र महत्वाकाङ्क्षाले निम्त्याएका विपत्तिसँगका प्रतिविपत्तिका माझमा जुध्नु पर्ने सम्भाव्यतामा जकडिन्छ । तर, चिन्ता होइन चिन्तनको खुबी मानिसभित्र छ । आयातित चुनौतीको भारीमा थिचिएर राजनीतिक र सामाजिक सङ्कटको दायराभित्र हामी विछिप्त छौँ । समृद्धिको स्वप्नाभरि ऐठनले सताइरहँदा ग्रामीणीकरणको विकासमा नेपाल अघि बढ्न सक्छ । पेटपूजाको चुनौतीलाई उघारेर प्रवेश गरेपछि राजनीति तथा घरेलु जीवनको प्रताडना हुन्छ । भूकम्पीय समस्याबाट तङ्ग्रिन नपाउँदै बाढी, डुवान अनि कोरोनाको पीडा एकपछि अर्को लामबद्ध आइरहे । दातृ निकायसँग भिख मागेरै जीवन कतिसम्म चल्ला ? हजुरबा भन्नुहुन्छ-“मागेर धनी र दिएर गरिब होइँदैन ।” कोरोनाभन्दा कडा भ्रष्टचारको भाइरसले गरिब मुलुक आक्रान्त हुन्छ भने तिल पहाड बन्छ । ऋणको बोझमा थिचिएर देश कसरी तङ्ग्रेला ? तर, भित्री चाहनाले मानिसलाई विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीको माग गर्दैछ । अनि आत्मस्वाभिमानी माटो सुहाउँदो आत्मनिर्भरताको । हामी साना र मझौला उद्योग र रोजगारीको अपेक्षामा छौँ । अनि आर्थिक स्रोत व्यवस्थापन र परिचालनमा विश्वसनीयता र पारदर्शिता नहुँदा, अनुशासनहीनताको मुसल बोकेर धमिलो पानीमा माछा मार्नेको लर्को लाग्छ । श्रमजीवीहरू रोगका लागि भनेर घरभित्र बसेर शोक र भोकको प्रतिशोध साँध्न सडकमा उत्रिए भने विश्व जोखिम प्रतिवेदनका पानाले अर्थतन्त्रको जोखिमसँग भूराजनीतिको सामाजिक र प्राविधिक खतरा मडारिन सक्छ । सङ्क्रामक रोगसँग उपरोग र जोखिमसँग उपजोखिमका सिँढीहरूमा भोक संस्कृति, भोक पीडाले लघार्छ तर त्यसपूर्व पुर्ख्याैली पेसा कृषि र आत्मनिर्भर बन्ने संस्कारसँग नातो गाँस्नुपर्छ । युरोपियन युनियनतिरका सबल र सम्पन्न राष्ट्रमा बजेको कोरोनाको ढोलसँग हामीले गरिब हुनुको पीडामा मन किन कुँड्याउने ? देश–विदेशको आवागमनको घनचक्करबाट जोगिनुको मजा नै बेग्लै छ । आत्मबलमा कमजोर नहोइयोस् पनि । तब त सङ्कटको पूर्वाभास हुँदा, दिगो समाधानमा बाँच्ने आधार रहला । सोच र संरचनाको कसीभित्र लघारिएको मानिस जैविक अस्तित्वको विश्वव्यापी खोजीमा लुटपुटियोस् । जोखिमको कालो सुरुङमा नफसोस् । अधिनायककै कुहिरोभित्र काग नबनोस् । मलाई विज्ञका विचार र सिद्धान्तले घच्घच्यायो । सबैले अर्थतन्त्रका जोखिमका प्राक्कल्पनाका ठेली हाम्रा लागि पस्किए पनि हामी नेपालीपनाबाट सयौँ कोश टाढा पुग्यौँ । हाम्रो पनाभित्रको विज्ञानभित्रको जादुमा हिरा फल्छ अनि हामी अर्काको सुनको बोटतिर लम्कियौँ । नीति बनायौँ, कार्यान्वयन गर्न जानेनौँ । इतिहासलाई गाली गरेर पनि त समाधान हुँदैन । भौतिकवादका लामा सूत्रभित्र प्रकृति, विज्ञान र अर्थशास्त्रको सामीप्यताले समाज मनोविज्ञानको गाडी चल्नुपर्छ । स्वास्थ्यविज्ञानको पोल्टामा शिक्षाको निःशुल्क व्यवस्थालाई हालिदिने हो भने सायद गरिबले खानका लागि मर्नु पर्दैन । सामाजिक सोच परिवर्तन (प्याराडाइम सिफ्ट) को एउटा विश्वव्यापी लर्को चल्ला । अझ ईश्वरीय सत्तासँग लडेको भौतिकवादी सोचभन्दा माथि मानवतावादले श्रमजीवीका आवाजलाई किन बाँधिन्छ ? त्यो कुण्ठा नेपाली धर्तीमा बेमौसमी बाजा हो, नबजोस् । अभावले चोरी, डकैती, लुटपाट हुन्छ तब मान्छेले जीवनमा पैसालाई सर्वेसर्वा मानिदिन्छ । मान्छेले नै छापेको पैसाको अभावमा मान्छे गरिब बन्छ । पेट भोकै रहेर बाँच्नुभन्दा मर्नु निको भन्ने भएकैले नियम विपरीत कार्यकलापमा मान्छे निर्लज्ज बन्छ । नेपाल आमा भोकको राजनीतिबाट भन्दा व्यवस्थापकीय अप्ठ्यारोको गुमराहमा चिन्तित छिन् । आगो लागेपछि कुवा खन्ने शैलीले घाटा पनि हुन्छ र दुःख पनि पाइन्छ । एउटाको गल्तिलाई धेरैले भोग्नुपर्छ । जैविक वास्तविकता बिर्सन्छ अनि प्रकृतिले बाँचेर उभ्रिने लाखौँ, करोडौँ टन खाद्यान्नलाई दुरुपयोग गरिदिन्छ । कँज्याएर राख्छ । दोस्रो विश्वयुद्धको मोहोडामा संसार चलायमान होला तर नेपाल पेट्रोल, डिजेल, ग्याँसको महङ्गीको विकल्पमा पूर्वतयारी गर्ने आधारलाई आन्तरिक विद्युतको विकास सुन्दर बाटो बन्छ । आर्थिक मन्दीले कैयौँ उद्योग डुब्नाले नेपालीहरू स्वदेशमै आउँछन् र आऊन् पनि । ४० प्रतिशत युवाशक्ति भएको सक्षम देशले माटो सुहाउँदो कर्मका मार्गलाई चालोस् । देश तब व्यवस्थापकीय सक्षमताको अभावको रडाकोभित्र फस्छ जब भद्रगोल राजनीतिक कार्यशैलीको गोलघरमा घुम्छ । राजनीतिभन्दा अझै ठूलो कुरा त बाँच्नु नै रहेछ । राजनीतिमा असन्तुष्टि नै असन्तुष्टिको मुस्लो हुन्छ । समाज विकासभित्र समाधान र आगामी विकासको खुशी नै खुशी हुन्छ । तब राजनीतिलाई समाजलाई कँज्याउन सक्दैन, समाजले राजनीतिक नेतृत्वलाई खबरदारी गर्छ । बफादार र भागिदारको निःस्वार्थ सोचमा । सोचको गुलामी बोकेर काण्डैकाण्डमा फस्ने लालची स्वभावको खबरदारीमा । स्वास्थ्यमन्त्रीका च्याम्बरमा लामा आदर्शमुखी आशावादका बहस रबरझैँ तन्किरहनुको के तुक ? किनकि, भीडमा मान्छे धेरै भएकाले समस्या धेरै हुन्छन् भने “गाउँ फर्कौँ” न त ! शहरिया अस्थायी जिन्दगी होइन, महङ्गो घडेरी किनेर घर बनाउने दीवास्वप्ना पनि होइन बरु गाउँकै घरलाई महल बनाउने “गाउँ फर्क अभियान बोकेर ।” स्वाभिमानी जिन्दगीमा । पैसा तिरे पनि घरबेटीको टोकसो सहनुपर्ने काठमाडौँका अँध्यारा कोठाका पीडामा के आनन्द छ ! अप्ठ्यारोको अन्तिम आधार गाउँ । “कोरोना राजनीति” को अर्को चर्को लर्कोले झर्को नलगाओस् । राहत वितरणभित्र पनि राजनीतिको दुर्गन्धमा चुनावी स्वार्थको दुर्गन्ध नआओस् । लिएर खाने र दिएर नाम कमाउने अर्को चर्को बजार । भोकै पर्दैन र भोकै मर्दैनः कहिलेसम्म ? अनि राहत मापदण्डको पोको ? कतै “हाइटी गीत” रच्नुपर्ने त होइन ? सामाजिक अराजकता र जसको शक्ति उसको भक्तिले सत्यतामै भ्वाङ पर्न थालेपछि बिब्ल्याँटो राजनीति चलिरहन्छ । गौँडा-गौँडामा छेकिएकाहरूको आलापले स्वदेशमा पनि त स्वाभिमानी बन्ने हक खोसिएपछि मान्छे दुख्छ ! गरिबीको मनोदशाभित्र, बाध्यताभित्र । परदेशमा रेमिट्यान्सको घ्याम्पा भर्नेलाई ? रोजगार कटौती र स्वदेश फिरौती भएपछिको चापका लागि ग्रामीण विकासका योजना बनून् । “कोरोना राजनीति” को अर्को चर्को लर्कोले झर्को नलगाओस् । राहत वितरणभित्र पनि राजनीतिको दुर्गन्धमा चुनावी स्वार्थको दुर्गन्ध नआओस् । लिएर खाने र दिएर नाम कमाउने अर्को चर्को बजार । भोकै पर्दैन र भोकै मर्दैनः कहिलेसम्म ? अनि राहत मापदण्डको पोको ? कतै “हाइटी गीत” रच्नुपर्ने त होइन ? सामाजिक अराजकता र जसको शक्ति उसको भक्तिले सत्यतामै भ्वाङ पर्न थालेपछि बिब्ल्याँटो राजनीति चलिरहन्छ । आखिर मुटुरोग, क्यान्सर लगायतका दीर्घरोगीलाई नै कोरोनाको पीडाबाट ग्रसित हुनुपर्ने स्वास्थ्यकर्मीको मत छ । सबै सङ्क्रमितले मृत्युवरण गर्नुपरेको मात्रै पनि त छैन आखिर मृत्युलाई जित्ने क्षमता पनि त हुने रहेछ । ग्रामीण अर्थतन्त्रको विकासतिर लम्कने बाटोबाट नेपालले आफ्नो महामारीको ढाल र तरबारलाई सजिलै व्यवस्थापन गर्न सक्छ । यो तिललाई पहाड बनाउने धृष्टता होइन । हामी त स्वदेशमा ३ महिना काम गर्ने १२ महिना खाने र २४ घण्टा गाली गर्ने आदतका पार्टी न हौँ । अनि, अर्काको देशमा गाडीभित्र एकहातले गाडी चलाउँदै अर्को हातले पाउरोटी चपाउने बेफुर्सदिला हौँ । पैसाको चाहना । हैकमवादी सोचले मान्छेलाई कँज्याउँदा अनैतिकताको ढाड सेक्ने दुर्शक्तिले नेपाल आमाका आँशु पिउन बाँकी राखेका छैनन् । राजनैतिक विद्रोहका स्थानमा जैविक अस्तित्वको विद्रोहले पाइलो सार्न थाल्दा तब ग्रामीण विकासमुखी समाजवाद सङ्कटको सारथी हुन सक्छ । विनासपछिको विकासको बुद्धि नहुने धक्कुबाजले कोरोनासँग मानवतालाई बोध गर्दैन । धर्मशास्त्रलाई गाली गर्ने तर विश्लेषणीय व्यावहारिकता नखोतल्नेहरू बठ्याइँ छाँटिरहनेछन् । दोस्रो विश्वयुद्धपछिकै घातक नरसंहारको घटनाले विश्व व्यवस्थामा हलचल आउला, विश्व अर्थ-राजनीतिले नेपाली घरेलु राजनीतिमा प्रहार होला । कथित समाजवादीले उदारतावादको आडमा शासकीय महत्वाकाङ्क्षाको मुख्याइँ लाद्न सक्छन् । तब प्रकृति र सम्पदाको निजीकरण गरिँदाको पीडाबोध मानिसमा हुन्छ । अनि “साम्यवाद” सिद्धान्त किन भिरिरहनुपर्छ ? रामराज्य खोज्न वा बुद्धत्वको अहिंसाभित्रै मानवताको “राजर्षि जनकवाद” जन्मेला । के फरक पर्छ विकास र आनन्दको नवीन शिल्पचित्र कोरिए ! विपद्मा सहयोगी बन्नेभन्दा ठूलो राजनीति के हुन सक्ला ? चाहे कोरोनारूपी महामारी नआएको होओस् तर पनि नेपालीपनाको मौलिक विकास नै हाम्रो भविष्य हो ।
अर्थत्रन्त्र चलायमान बनाउने र भोकमरीबाट बचाउने चुनौति
महामारीको शाब्दिक अर्थ, ‘महा’ भन्नाले धेरै ठूलो, र ‘मारी’ भनेको मृत्यु वा घातक भन्ने हो । महामारी भनेको कुनै रोग वा रोगजन्य जीवाणु अथवा विषाणुले कुनै स्थानबाट उत्पति भई एक ठाउँबाट अर्को ठाउँमा विभिन्न माध्यमबाट एकैपटक फैलिएर सोचेभन्दा बढि जनसङ्ख्यामा असर पार्दछ भने त्यस्ता रोगलाई महामारी भनिन्छ । यदि उक्त रोग एक देशबाट अन्य देशहरुमा फैलिएर विश्वभर असर गर्दछ भने त्यसलाई ‘विश्वब्यापी महामारी’ (पाण्डेमिक डिजिज) भनिन्छ । अहिले विश्वभर फैलिएको ‘कोभिड –१९ नामक कोरोना भाईरस’ (विषाणु) को महामारी पाण्डेमिक खालको हो । सन् १९६० मा पत्ता लागेको भएतापनि यस कोरोना भाईरसको बारेमा गम्भिर रुपमा अनुसन्धान र रोकथामको उपायका बारेमा आधुनिक चिकित्सा जगतले खासै चासो देखाएन । सोहि कारण यस्तो प्राणघातक सरुवा रोग आज आएर मानव जगतको लागि गम्भिर चिन्ताको विषय बन्न पुग्यो । जनगणतन्त्र चीनको वुहान राज्यबाट उदाएको कोभिड १९ नामक कोरोना भाईरस (विषाणु) ले विश्वका २ सय १३ भन्दा बढि देशमा लाखौंको संख्यामा संक्रमण फैलाएर लाखौंको संख्यामा नै मानिसहरुले मृत्युवरण गरिरहेको स्थिति छ । अहिलेको स्थितिलाई नियन्त्रण लिन ढिला भए या कठीन भए मानव संहारको स्थिति भयाभह नहोला भन्न सकिन्न । महामारीको विश्वब्यापी फैलावट र स्थिति केलाउँदा हरेक पटक फैलिएका महामारीले विश्व परिवेश र मानचित्रमा सामाजिक, सामरिक, आर्थिक, मनोबैज्ञानिक तथा साँस्कृतिक मानकहरु परिवर्तन गरेको देखिन्छ । संसारमा विभिन्न समय र कालखण्डमा पित ज्वरो (एल्लो फिवर), स्पानिस फ्लू, अमेरिकन पोलियो, एसियन फ्लू, एड्स, सार्स, स्वाईन फ्लू, अफ्रिकन इबोला, जिका भाइरस, तथा विभिन्न जैविक रुप र चरणमा पटक पटक फैलिएको प्लेग रोग जस्ता महामारी रोगहरुले लाखौं मात्र नभएर करोडौंको संख्यामा मानिसको मृत्यु भएको पाईन्छ । कुनै समय क्षयरोग, कुष्ठरोग तथा बिफर जस्ता रोगको महामारीले समेत मानव जगतलार्ई सताएको देखिन्छ । महामारी रोगको अध्ययन गर्दा यसका तीन कुरा अति महत्वपूर्ण हुन्छन् । १. रोगको उत्पति र बारम्बारता, २. रोगको फैलावट, ३. रोगको निर्धारक तत्व । कोरोनाको महामारीको अध्ययन गर्दा यसको उत्पति चीनको वुहान राज्य हो तर उत्पति या संक्रमणको श्रोत के हो ? अहिलेसम्मको अध्ययनले अनुमान मात्र गरेको छ तर यकिन गर्न सकेको छैन । कोरोनाको रोग पाक्ने अविधि औषत १४ दिन हुने भएकाले संक्रमण हुनासाथ लक्षण चिन्ह देखिन्दैन तर विस्तारै मानिसको स्वासप्रश्वास प्रणालीमा संक्रमण गरि उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, ढाड दुख्ने तथा जीउ दुख्नेजस्ता लक्षण देखा पर्दछ र क्रमश सास फेर्न कठीन हुने, न्यूमोनिया र मृत्यु हुने गर्दछ । यो रोग सर्ने तरिका वा माध्यम भनेको थुकको छिटासंगको प्रत्यक्ष या अप्रत्यक्ष संसर्ग नै हो । तर त्यो थुकको छिटा (ड्रपलेट्स) संक्रमित ब्यक्तिले स्वास फेर्दा, बोल्दा, खोक्दा या हाच्छ्युँ गर्दा हावामा, ब्यक्तिको हातमा सम्पर्कमा आउँछन् । निरोगी ब्यक्तिले रोगी ब्यक्तिसंग सम्पर्कमा आउँदा, हात मिलाउँदा, अंकमाल गर्दा, जुठो खाँदा, वा कपडा, तौलिया, भाँडाकुँडा आदिको माध्यमबाट संक्रमण सर्दछ र फैलिन्छ । यो रोगको फैलावट दर, संक्रमणदर, र घातकतादर (मृत्युदर) अन्य सामान्य विषाणु वा रोगको भन्दा कयौं गुणा बढि देखिन्छ । रोग फैलिनका लागि निर्धारक तत्वहरुको भूमिका एकदम महत्वपूर्ण हुन्छ । रोगलाई श्रोतबाट बोकेर ल्याउने विभिन्न माध्यमहरु हुन्छन् । रोग सार्ने र फैलाउने कार्यमा जानाजान वा अन्जानवस ती निर्धारक तत्वहरुले कार्य गरिरहेका हुन्छन् । जस्तै, कोरोनाको महामारीका निर्धारक तत्वहरुमा सामूहिक खानपान, भोज, भिडभाडमा जानु, हात मिलाउनु, मास्क नलगाउनु, बाहिरी बस्तु वा ब्यक्तिको सम्पर्कपछि हात नधुनु, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख नछोप्नु, मानिसहरुले आन्तरिक तथा बाह्य आवतजावतमा सतर्कता नअपनाउनु, ब्यक्तिगत भौतिक दूरी कम्तीमा ३ कदम नराख्नु, रोगको लक्षण देखा पर्दा अस्पताल नजानु तथा क्वारेन्टाइनमा नबस्नु हो । लेखक कोरोना महामारीको विश्वब्यापी प्रकोपबाट बच्नका लागि विभिन्न उपायहरु छन् । ती रोकथाम र नियन्त्रणका उपाय या तरिकाहरुबाट रोगमाथिको विजय हाँसिल गर्न सकिन्छ । ती प्रयासहरु यस प्रकार छन् । १.संक्रमणको कारण र श्रोत पत्ता लगाउनुपर्दछ । २.चेन अफ इन्फेक्सन पत्ता लगाई रोगको सर्ने प्रकृयामा अवरोध गर्नुपर्दछ । ३.जनचेतना विस्तार एवम् रोगको संक्रमण, सर्ने तरिका, बच्ने उपाय तथा उपचारपद्धति, रोकथाम र नियन्त्रणबारे आम रुपमा सूचना सम्प्रेषण गर्नुपर्दछ । ४.समाज र राष्ट्रका सबै अंग तथा निकायहरु बीच सघन छलफल र सहकार्य एवं समन्वयन गर्नुपर्दछ । ५.रोगको प्राकृतिक र जैविक स्थिति पत्ता लगाई त्यस विरुद्धको बायोमेडिकल र उपचारात्मक पद्धतिबारे अनुसन्धान र प्रयोग तत्काल सुरु गर्नुपर्दछ । उपचार र रोकथाम अनुमानका आधारमा होईन अनुसन्धान र प्रयोगका आधारमा गरिनुपर्दछ । ६.रोग लागेका, रोगको लक्षण भएका तथा रोगको सम्भावित जोखिम क्षेत्रमा रहेकाहरु लाई जाँचपड्तालको पहिलो पंक्तिमा राखी क्वारेन्टाइन, आइसोलेसन तथा उपचारमा क्रमश लैजाने सुरक्षित विधि अपनाउनुपर्दछ । ७.रोगीलाई विशेष अस्पताल वा सघन उपचार सुविधायुक्त कक्षमा आईसोलेसनमा राखी अति उच्च सतर्कताका साथ उपचार गर्नुपर्दछ । ८.यो अति उच्च संक्रामक सरुवा रोग भएकाले उपचारमा संलग्न चिकित्सक तथा उपचारिकाहरुलाई समेत उच्च सतर्कताका साथ पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्टको उचित प्रयोग गर्ने ब्यवस्था मिलाईनुपर्दछ । ९.आवश्यक्ता अनुसार मानिसको अत्यधिक आवतजावत तथा भेटघाट रोक्न आंसिक वा पूर्ण रुपमा निषेधाज्ञा वा लकडाउन गरि आम जनतालाई घरमै क्वारेन्टाईनमा रहन निर्देशन वा अपिल जारी गर्नुपर्दछ । १०. योे विश्वब्यापी प्रकृतिको महामारी भएकाले अन्तर्राष्ट्रिय सीमा नाका, हवाई, जल, तथा स्थलगत आवागमनलाई रोक्नुपर्दछ । प्रकृयाको सुरुवात यसै विन्दुबाट गर्नुपर्दछ । महामारी रोक्न र नियन्त्रण गर्न सबै संघसंगठन, राजनीतिक दल, सुरक्षा निकाय, सरोकारवाला तथा देश बिदेशको आर्थिक, भौतिक, प्राविधिक तथा अन्य किसिमको सहयोग र समर्थन प्राप्त गर्ने कार्य गर्नुपर्दछ । विश्वब्यापी रुपमा हुने आर्थिक गतिविधि कत्तिको प्रभावित बन्छ र कुन हदसम्म मन्दि हुने हो भन्ने कुरो महामारीको अन्त्य कति छिटो गर्न सकिन्छ भन्ने कुरामा भर पर्दछ । कोरोना महामारीको अनियन्त्रित फैलावट हेर्दा यसले विश्वव्यापी आर्थिक संरचनामै ठूलै हलचल र परिर्वन गर्ने संकेत देखिएकोछ । महामारीले हाम्रो जस्तो विकासोन्मुख देशमा स्वास्थ्य जनिक समस्या र मानवीय संकटका अलावा अन्य धेरै कुरामा प्रभाव पार्दछ । यो मानव स्वास्थ्यसँग सम्वन्धित गम्भीर प्राकृतिक प्रकोप अन्तर्गत जैविक विपत्ती भए पनि यसको नियन्त्रणका लागि प्रयोग गरिने विधि तथा उपायहरुका कारण स्वास्थ्य लगायत सामाजिक, सामरिक र विश्व अर्थव्यवस्थामा गम्भिर पहिरो जाने चेष्टा देखिईसकेको छ । विश्वब्यापी रुपमा हुने आर्थिक गतिविधि कत्तिको प्रभावित बन्छ र कुन हदसम्म मन्दि हुने हो भन्ने कुरो महामारीको अन्त्य कति छिटो गर्न सकिन्छ भन्ने कुरामा भर पर्दछ । कोरोना महामारीको अनियन्त्रित फैलावट हेर्दा यसले विश्वव्यापी आर्थिक संरचनामै ठूलै हलचल र परिर्वन गर्ने संकेत देखिएकोछ । विश्वब्यापी रुपमा यस रोगको बिरामीदर र मृत्युदर बढ्दै जाँदा मुलुकहरुको साधारण तथा पूँजिगत खर्च कटौति भई रोगको निबारण र नियन्त्रणमा खर्च हुन्छ । पूँजीगत र उत्पादक खर्च घट्दा अनुत्पादक खर्च बढ्न जान्छ जसले उत्पादन र रोजगारीमा ह्रास ल्याउँदछ । विश्व अर्थत्रन्त्र मुख्यतया निम्न कुरामा चलायमान छ । १.औधोगिक उत्पादन २.अन्तर्राष्ट्रिय ब्यापार ३.पर्यटन ४.ब्यवसाय ५.कृषिजन्य उत्पादन र ब्यापार ६.खनिज तथा तेल उत्खनन ७.शिक्षा तथा बिज्ञान प्रविधि ८. पूर्वाधार निर्माण तथा वैदेशिक रोजगार । यी सबै कुराको चलायमान गति कम वा ठप्प हुँदा अर्थतन्त्रको सूचकहरु क्रमश घट्दै जान्छन् । यस्तो बेला अर्थब्यवस्थाका प्रचलित विश्वब्यापी मान्यता र सिद्धान्तहरुले काम गर्ने छैनन् । यो महामारी स्वास्थ्य संकटमात्र नभई मानव जगतको अस्तित्व माथिको प्रश्न हो ? यो रोगले लिने आकारले र रोग निवारणमा लाग्ने समयावधिले नै मानवीय र आर्थिक क्षतिको गहिराई धेरथोर हुने आँकलन गर्न सकिन्छ । नेपालको सन्दर्भमा रोग वा महामारीले गर्ने मानवीय क्षतिका साथै आर्थिक गविविधि न्यून र सुन्य हुनाले, उत्पादन, व्यापार, ब्यवसाय, उद्योगधन्दा, कलकारखाना, रोजगार, बस्तुको उपभोग, माग र आपूर्तिमा कमी, मँहगी, खाद्यान्न अभाव, भोकमरी, विकास निर्माणमा असर, पर्यटन, कृषि, शिक्षा तथा सामान्य स्वास्थ्य क्षेत्र नै तहसनहस हुने स्थिति हुनसक्छ । सर्वप्रथम त यातायातमा प्रतिवन्धसंगै आपूर्ति र निर्यातमा समस्या हुन्छ । पर्यटन आवागमन र गतिविधि ठप्प हुन्छ । पर्यटन क्षेत्र र यसमा आश्रित प्रत्यक्ष र अप्रत्यक्ष गरि करीव १० लाख मानिसको रोजगार र आयआर्जनमा समस्या पर्छ । आपूर्ति र निर्यातमा हुने रोकावटले कृषिजन्य उत्पादन तथा उद्योगधन्दाको उत्पादन कटौति हुन्छ । त्यहाँ आश्रित लाखौं मानिस रोजगार विमुख हुन्छन् । तिनको क्रयशक्ति कमजोर हुन्छ र रोजिरोटीमा गम्भिर असर पर्दछ । उत्पादनमा हुने कटौती र कमीले खाद्यान्न अभाव र भोकमरीको संकट आईपर्छ । नेपालबाट बैदेशिक रोजगारमा जाने देशहरु समेत यो रोगको प्रकोपले थलिंदै गएका कारण ब्यापक रुपमा कामदारको कटौति र केहि महिना या वर्षसम्म नयाँ कामदारको मागमा कमी आउने हुँदा बैदेशिक रोजगारमा आश्रित जनता बेरोजगार बन्दछन् । विप्रेषण (रेमिट्यान्स) मा कमी भई बैदेशिक मुद्राको आर्जन रोकिने तथा सञ्चिती घट्ने र शोधानान्तर स्थिति नकरात्मक बन्ने स्थिति आउँछ । रोजगार खोसिँदा आयआर्जन र क्रयशक्ति मात्र घट्दैन, खाद्यान्न अभाव, गरिबी र मानसिक प्रताडनाको कारण राज्यमा चोरी, डकैति, लुटपात, हत्या, हिंसा जस्ता सामाजिक अपराधको उदय हुन्छ । त्यसैले हरेक महामारी पछिको दोश्रो चुनौति भोकमरी हो । सरकार वा राज्यले आफ्नो दायित्वको रुपमा ढुकुटी हुञ्जेलमात्र जनतालाई भोकमरीबाट बचाउन सक्छ तर जब ढुकुटी रितिदै जान्छ अनि भोकमरी पछि राष्ट्रिय अनिकाल सुरु हुन्छ । खेतबारीमा फसल छैन, ढुकुटीमा अन्न छैन भने पैसा, धनसम्पति या भौतिक जायजेथाले भोकमरी मेट्दैन । त्यसकारण अर्थब्यवस्था ढल्न नदिन तत्काल आवश्यक पहलकदमी लिनु पर्दछ । हरेक महामारी पछिको दोश्रो चुनौति भोकमरी हो । सरकार वा राज्यले आफ्नो दायित्वको रुपमा ढुकुटी हुञ्जेलमात्र जनतालाई भोकमरीबाट बचाउन सक्छ तर जब ढुकुटी रितिदै जान्छ अनि भोकमरी पछि राष्ट्रिय अनिकाल सुरु हुन्छ । खेतबारीमा फसल छैन, ढुकुटीमा अन्न छैन भने पैसा, धनसम्पति या भौतिक जायजेथाले भोकमरी मेट्दैन । त्यसकारण अर्थब्यवस्था ढल्न नदिन तत्काल आवश्यक पहलकदमी लिनु पर्दछ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतले विश्व अर्थतन्त्रमा १५० वर्ष यताकै गम्भिर क्षति हुने र आर्थिक बृद्धिदर नकरात्मक विन्दुमा जाने आँकलन गरिरहेका छन् । हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुक तासको घर जस्तै हो, जो सानोतिनो हावाको झोक्काले सजिलै लडाउन सक्छ । नेपालको अर्थब्यवस्था र विकास निर्माणलाई आर्थिक, भौतिक लगायत हरतरहले सहयोग गर्ने दातृराष्ट्रहरु समेत यस विश्वव्यापी संकटको चपेटामा पिल्सिरहेकाले हामीलाई पहिले झैं ऋण, दान, अनुदान सहयोग गर्न सक्ने अवस्थामा रहनेछैनन् त्यसो भएकाले हामीले आफ्नै बुतामा आधारित आत्मनिर्भर अर्थतन्त्रको लागि आवश्यक योजना र ब्यापक तयारी गर्नुपर्दछ । अब के के गर्नुपर्छ नेपालले ? १.सन् १९९० मा प्रजातन्त्रको पुनरोदय संगै सरकार मातहतका कलकारखाना र उद्योगहरुलाई आर्थिक उदारीकरण र नीजिकरणका नाममा बेचबिखन गरि तिनको नामो निसान मेटाइदिने काम भयो । यसले औद्योगिक विकासको अधोगति र आत्मनिर्भर उन्मुख विकासको गतिक्रमलाई उल्टो दिशामा धकेलिदयो । त्यसर्थ सर्वप्रथम, कृषिमा आधारित उद्योगधन्दालाई पुनर्जीवन दिनुपर्दछ । तत्काल अत्यावश्यकीय वस्तुहरुको उत्पादन गर्ने उद्योग कलकारखानालाई अति उच्च सतर्कताका र सुरक्षाको भरपर्दो ब्यवस्था मिलाई खोल्न र चल्ने ब्यवस्था मिलाउन सकिन्छ । काम गर्ने कामदारको खानपान र बसोबास लाई अस्थाई रुपमा भएपनि घर जान नपर्ने गरि बन्दोबस्त गर्ने तथा उत्पादित बस्तुको बजारीकरण र सुरक्षित उपभोगका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्दछ । लकडाउनका कारण बन्द भएका साना तथा घरेलु उद्योग, निजी तथा सरकारी मझौला तथा ठूला उद्योगहरुको ब्यवसायिक कर्जालाई ब्याज मिनाह, कर छुट र ऋणको व्याजमा सहुलियत दिने जस्ता ब्यवस्था गरिनुपर्दछ । उद्योगहरुको दीर्घकालिन अस्तित्व तथा क्षमता बृद्धिका लागि प्रोत्साहन दिई रोजगार क्षमता र उत्पादन क्षमतामा बृद्धि हुने वातावरण निर्माण गर्नुपर्दछ । २. पर्यटनमा आधारित व्यवसाय, होटल, रेष्टुराँ, टुरिष्ट एजेन्सी तथा ट्रेकिङ एजेन्सी, तथा बजारको पुनर्जीवन दिन तत्काल समय लाग्ने भएकाले उनिहरुको व्यवसायिक ऋणमा सहुलियत, ब्याजमा मिनाह, करमा छुट, विद्युत महशुल छुट जस्ता कुरामा नीतिगत निर्णय गरिनुपर्दछ । तथापी हस्तकला, पस्मिना जस्ता पर्यटनजन्य बस्तुको उत्पादनमा निरन्तरता दिन प्रेरित गर्नुपर्दछ । ३. गरिवीको रेखामुनि रहेका, रोजगार गुमाएका श्रमिक, मजदुर, सिमान्तकृत, असमान सामाजिक तथा आर्थिक संरचनामा परेका, लैंगिक, भाषिक तथा जातिय विभेदमा परेका निम्न आर्थिक स्थितीका घर परिवारको उद्धार र जिविकोपार्जनका लागि सरकारले आर्थिक राहतका प्याकेजलाई स्थानीय निकाय मार्फत पारदर्शी ढंगले वितरण गर्ने ब्यवस्था यथासीघ्र मिलाउनुपर्दछ । ५. महामारी, दैवि तथा प्राकृतिक बिपत्ति तथा प्रकोपहरुमा काम गर्न सक्ने क्षमतावान र्यापिड रेस्पोन्स टीम बनाउनका लागि सेना, प्रहरी, स्वास्थ्यकर्मी तथा नागरिक समेतलाई (स्काउट सहितको टीम बनाई) तालिम दिई, उपकरण र अत्याधुनिक प्रविधिका स्रोत साधनहरु जुटाई हरबखत तयारी हालतमा राख्नुपर्दछ । यी सम्पूर्ण अंगहरुलाई आपशी समन्वयनको वातावरण बनाइनुपर्दछ । हेलिकप्टर, दमकल तथा एम्बुलेन्स समेतको पर्याप्त उपलब्धता हुने ब्यवस्था मिलाउनुपर्दछ । ६. अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि लगानीमैत्री मौद्रिक नीति, वित्तीय नीति सहितको वातावरणको सिर्जना गर्नुपर्दछ । पूर्वाधारमा बृहत लगानी, कृषिजन्य उत्पादनमा बृद्धि, साना तथा घरेलु उद्योगको ब्यापक बिस्तार विकास गरिनुपर्दछ । स्वास्थ्य, शिक्षामा लगानी, बैदेशिक रोजगारमा गएका युवाहरुलाई त्यहाँको शीप र प्रविधिको विस्तार गरि स्वदेशमै उद्यम, उत्पादन र सेवामा काम गर्न प्रेरित गर्नुपर्दछ । ७. कृषि उत्पादनलाई निर्वाहमुखी होईन व्यवसायमुखी बनाउन कृषि कम्पनीहरु स्थापना गरि सहकारीमार्फत सामूहिक रुपमा मौसमी तथा बेमौसमी र बहु-प्रजातीय खेती प्रणालीलाई आधुनिक कृषि औजार र उन्नत वीऊ-वीजन तथा शीप र क्षमतावान कृषि बैज्ञानिक सहितको तालिमप्राप्त युवाशक्तिलाई कृषिमा आकर्षित गराई उत्पादनमा बृृद्धि गरि आत्मनिर्भर मात्र होईन निर्यात समेत गर्न सक्ने बनाउनु पर्दछ । ८. औषधिजन्य सामग्रीको उत्पादन, मेडिकल तथा सर्जिकल उपकरण निमार्ण तथा मर्मत, व्यक्तिगत सुरक्षा कवचहरुको उत्पादन गर्नका लागि उद्योग खोल्ने तथा बजारीकरणका लागि सहजिकरण गर्नुपर्दछ । साथै बायोमेडिकल इञ्जिनियरिङको जनशक्ति उत्पादन गरिनुपर्दछ । मेडिकल रिसर्च तथा ल्याबोरेटोरीको क्षेत्र र क्षमता बिस्तार गरि अन्तर्राष्ट्रिय स्तर र मापदण्डको बनाईनुपर्दछ । ९. हरेक देश र भूगोलभीत्र रहेको स्थानीय रहनसहन रीतिथिती, सामाजिक परम्परा, साँस्कृतिक प्रतिष्ठान तथा मौलिक शीप र जीवनशैलीहरुलाई जीवीतै राख्न मानवता र सहिष्णुता, सामाजिक जीवन र परम्परागत उपचार विधि तथा जडीबुटि उपचार पद्धतिलाई समयानुकुल र परिष्कृत गर्दै प्रयोगमा ल्याउन आवश्यक प्रकृया र विश्वसनीय वाताबरण बनाउनुपर्दछ । मानव सभ्यतामा प्रभाव र मानव जातिको भविष्य । भनिन्छ, ब्रम्हाण्डको उत्पति पछि यस धर्तीमा उदाएका सात जीवमध्ये मानिस मात्र एउटा जीव हो, जो अहिलेसम्म जीवित छ वा अस्तित्वमा छ । अहिले ब्रम्हाण्डमा भएका अन्य जीवहरु समयक्रम संगै जीव विकासको क्रममा उत्पति भएका हुन् । विभिन्न समयक्रमसंगै आउने परिवर्तन, प्रकोप, महामारी वा जैविक संकटले कतै मानव जगतको अस्तित्व नै डायनोसरको जस्तो वा अन्य जीवहरुको जस्तो त हुने होईन भन्ने आशंका समेत कतिपय बैज्ञानिक, विश्लेषक तथा मानवशाष्त्री चिन्तकहरुले गर्न थालेका छन् । यद्यपी आधुनिक चिकित्सापद्दति र औषधीय अनुसन्धानको तीब्रता र सफलता हेर्दा यो रोगको महामारी माथि विजय हाँसिल गर्न २१ औं सताब्दीको मानव जगत असफल होला भनिहाल्न सकिंदैन । ‘ब्ल्याक डेथ’ नाम दिईएको प्लेग रोग सवैभन्दा लामो समयसम्म फैलिएर विश्वभरमा करीव २० करोड मानिस मारिएको इतिहास छ । त्यस्तो अवस्थाबाट समेत आफ्नो अस्तित्व जोगाएर आएको मानव जगतले अहिलेको महामारी थेग्न र त्यसलाई पराजित गर्न सक्नेमा विस्वस्त रहन सकिन्छ । यसले हामीलाई सिकाएको पाठ कोरोना संक्रमणको रोकथामका लागि ब्यक्तिगत सुरक्षाकवच यो महामारीले विश्वमानचीत्रमा रहेका देशहरुको हैसियत र भौतिकताबादी चिन्तन र दम्भलाई चकनाचुर बनाईदिएको छ । विकास, समृद्दि, सरकार, युद्ध, वैभव, शक्ति, सामर्थ्य सबै अप्राकृतिक र क्षणिक हुन् भन्ने कुराको पाठ हामीलाई सिकाएको छ । हामीले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राख्ने दुष्चेष्टा गर्यौं, आफूलाई प्राकृतिक दुनियाँ भन्दा अलग र माथिल्लो हो भन्ठान्यौं । प्राकृतिक अवयवहरुलाई जथाभावी रुपमा चलाउँदै, उपभोग गर्दै र बिनास गर्दै गयौं तर सापेक्षित संरक्षण र सम्वद्धनमा ध्यान दिएनौं । पारिस्थितिक पद्धति र पर्याबरणको ख्यालै नगरि भौतिक विकासका नाममा प्रकृतिको बिनास गर्दै गयौं । यस ब्रम्हाण्डमा मानिस बाहेक अन्य चराचर जगत पनि छ, उनीहरुको पनि जीवन छ, अस्तित्व छ र आवश्यक्ता छ भन्ने कुराको हेक्का राखेनौं त्यसर्थ प्रकृति भित्रै रहेका स–साना माइक्रोसकोपिक जीवहरुले आफ्नो अस्तित्व बचाउन विभिन्न जैविक गुणलाई परिवर्तन गर्दै जाँदा कोरोना जस्तो शुक्ष्म जीवले भयंकर र संक्रामक रुपमा आफूलाई फैलाई मानव जगतको अस्तित्व र पृथ्वीमा उस्को स्थायीत्वका लागि गम्भिर व्यवसाधन खडा गरिदिएको छ यो नै विश्वब्यापी चुनौतिको विषय हो । अबको विश्व प्रकृतिमैत्री विकास सहित थलचर, जलचर सवैको सामूहिक सहअस्तित्वको विश्व हो । एकले अर्कालाई नासेर होईन सवैले स्वतन्त्रतापूर्वक बाँचेर प्राकृतिक श्रृष्टिलाई बचाईराख्नुपर्दछ । महामारी र विपत्तिले राजनीतिक सीमा, भूगोल, धर्म, सम्प्रदाय, संस्कार र संस्कृतिमा भेद गर्दैन । यो जहाँपनि र जहिलेपनि आउन सक्छ र प्रभावित गर्न सक्दछ । आधुनिकताको नाममा हाम्रा कतिपय गतिविधि फेरिंदा जीवनशैली तडकभडक हुँदै जाँदा सामान्य विषाणुले महामारीको रुपमा विश्वमा थुप्रै पटक धेरै जनधनको क्षति गरेको इतिहास छ । पूर्वीय सभ्यतामा नमस्कारले शिष्टाचार अभिब्यक्ति दिन्थ्यो पाश्चात्य संस्कारमा हात मिलाउने, अंकमाल तथा चुम्बन गर्ने शिष्टाचार । अहिले पश्चिमा भन्दा पूर्वीय संस्कार नै बढि बैज्ञानिक र स्वथकर रहेछ भन्ने तथ्य प्रमाणित भएकोछ । नेपाल, भुटान तथा भारतवर्षका देशहरुमा रहेको यो संस्कार अव विश्वब्यापी स्वस्थकर शिष्टाचारको सभ्यता भएको छ । हामीलाई काँटा चम्चाको प्रचलनले हात धुने बानी विर्साइदियो, टिस्युपेपरको प्रयोगले शौच पछि पानीको प्रयोग अनावश्यक बनायो, ब्यस्तताले रेडिमेड खानालाई प्रश्रय दियो र घरबाहिरी खानपिनले घरमा पाक्ने ताजा खाना हरायो । हाम्रो जीवनशैली नै अस्वस्थकर बनाईदियो । धुँवा, धुलो र प्रदुषणले नयाँ नयाँ रोगको उत्पति र विस्तारमा सहयोग पुर्यायो । यी सबै कुराले मानिसको स्वास्थ्य र अस्तित्वमाथि नै खतराको घण्टी बजायो । मानवजतिको भविष्य मानिसकै हातमा हुनुपथ्र्यो तर अव प्रकृतिको हातमा छ भन्ने अवस्था देखा पर्यो । आफ्नो अस्तित्व रक्षार्थ विश्व मानव जगत सजग र संवेदनशिल हुनुपर्यो । यस महामारीलाई पराजित गर्दै मानव जीवनलाई श्रृष्टिको उन्नत जीवनको रुपमा स्थापित गर्दै अस्तित्व रक्षाको लडाईंमा विजय प्राप्त गर्न सक्नु नै हाम्रो लागि आज ठूलो चूनौति र संगसंगै मानव भविष्यको स्थायीत्व लागि कार्य गर्ने अवसर समेत प्राप्त भएको छ । आजको यो विद्यमान दुर्दसाबाट मुक्ति पाउन हामीले जुन विधिहरु अपनाएका छौं त्यसैलाई निरन्तरता दिई संक्रमितको सफल उपचार र नियन्त्रणका उपायहरुलाई अवलम्वन गर्दै आगामी दिनमा जीवनशैलीमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ । बिराटचौक, मोरङ [email protected]
ग्लोबल थिंकिङ र ग्लोबल गभर्नेन्सकाे आवश्यकता
जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो, कोरोना भाइरस । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि छ प्रकारको भाइरस मात्र मान्छेमा सङ्क्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । चीनको हुवेई प्रान्तको वुहान शहरको एउटा सामुन्द्रीक खाद्यान्न बिक्रीकेन्द्रमा सन् २०१९ डिसेम्बर २३ मा पहिलो पटक एक महिलामा देखिएको यो भाइरस समूहको “कोरोना” आजको मितिसम्म आइपुग्दा अपवादका केही देशबाहेक बिश्वका सम्पूर्ण देशहरुमा सङ्क्रमित भएको छ । ज्वरो आउनु, थकान महशुस हुनु, लगातार खोकी लाग्नु, श्वास–प्रश्वासमा समस्या आउनु नै कोरोना भाइरसका मुख्य लक्षणहरु हुन् भने यसबाट बच्ने उपायहरु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । यसको अलवा नियमित रुपमा साबुन–पानीले मिचीमिची हात धुने, माक्सको नियमित प्रयोग गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख ढाक्ने, स्वास्थ्य सेवा लिने बेला बाहेक अन्य समयमा आफ्नो घर वा बासस्थानमै बस्ने, आफूमा देखापरेका लक्षणहरुको ख्याल गर्ने लगायतका क्रियाकलाप अप्नाउँदा यस भाइरसबाट सुरक्षित रहन सकिन्छ । कोरोना भाइरस आफैंमा जैविकतत्व नभएपनि र भाइरस परिवारको सबैभन्दा कमजोर भाइरस भएपनि यसले आफूलाई वातानुकुलित वातावरणमा परिवर्तन गर्नसक्यो भने मानवीय जीवनलाई कति घातक बनाउँदोरहेछ भन्ने कुरा विश्वव्यापीरूपमा यस भाइरसको सङ्क्रमणको दरलाई हेर्ने हो भनेपनि पुष्टि हुन्छ । यसैकारणले पनि हामी कोरोना भाइरसलाई कोरोना महामारीको रुपमा लिइरहेका छौँ । सन् २०२० अप्रिल १९ सम्म विश्वको कुल जनसङ्ख्या ७,७७,७९,३७,७६० (worldometers.info)_को २३,५९,३४६ (०.०३०५ प्रतिशत ) जनसङ्ख्या कोरोना भाइरसको कारण सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितहरुमध्ये ६,०६,७०५ (२५.७१५ प्रतिशत ) जना औषधि उपचारपछि निको भएका छन् भने १,६१,९५१ (६.८६५ प्रतिशत ) जना व्यक्तिहरुको कोरोना सङ्क्रमण्का कारण मृत्यु भएको छ । तसर्थ, माथि उल्लेखित तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यो भाइरस मानव जीवनका निम्ति कति घातक छ भन्ने यथार्थताको पुष्टि हुन्छ । याे लेख तयार गर्दासम्म नेपालमा कुल सङ्क्रमित ३१ जनामध्ये ४ जनाको पूर्ण उपचारपश्चात् घर फर्केका छन् भने बाँकी २७ जना देशका विभिन्न अस्पतालमा उपचाररत छन् । संक्रमितकाे संख्या दिनदिनै बढिरहेकाे छ । लेखक विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण ट्रान्समिसनका चारवटा चरणलाई उल्लेख गरेको छ । संक्रमणको ट्रान्समिसन प्याटर्नलाई हरेर सोही अनुरुप राष्ट्रिय तथा स्थानीयस्तरमा तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनले भनेको छ । चार चरणका आ–आफ्ना विशेषताहरु निम्न प्रकार छन् ः चरण एकः ‘नो केस’ यस चरणमा देश वा क्षेत्रमा कुनै पनि केस पुष्टि नभएको अवस्थालाई जनाउँछ । चरण दुईः स्पोराडिक केस ‘छिटपुट घटना’ यो चरणमा एक वा एक भन्दा बढी केसहरु जुन ‘इम्पोर्टेड’ वा स्थानीय स्तरमा पत्ता लागेका हुन्छ । विशेष गरी सङ्क्रमित क्षेत्रबाट फर्किएका व्यक्तिहरुमा पुष्टि भएसँगै त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य सङ्गठनले स्पोराडिक केसमा वर्गीकरण गरेको छ । चरण तीनः क्लस्टर केस (समूहगत घटना) त्यस्ता देश तथा क्षेत्र जहाँ केसहरु समूहगत रुपमा देखिँदै छन् र भूगोलमा एकसाथ एकै प्रकारले देखिँदै छ भने त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य सङ्गठनले क्लस्टर केसमा राखेको छ । चरण चारः कम्युनिटी ट्रान्समिसन यस्तो अवस्था महामारीको रुप हो । यस्तो क्षेत्रमा अधिकमात्रामा सङ्क्रमितको सङ्ख्या स्थानीय रुपमा फैलिँदै जानु हो । सङ्क्रमणको ट्रान्समिसन चेन पनि जोडिएका हुँदैन । त्यस्तै, ल्याव परीक्षणबाटै मात्र सङ्क्रमित पुष्टि हुन सक्छ, लागेको शङ्का पनि हुँदैन । असम्बन्धित समूहगत केसहरु विभिन्न क्षेत्रमा फैलिन्छन् । अहिलेसम्म कोरोनाको विश्वव्यापी अवस्था हेर्दा विश्वका केही विकसित राष्ट्रहरु चौथो चरणमा गुज्रिरहेको देखिन्छ जसकारण महामारी व्यापक रुपमा फैलिरहेको हामी पाउँछौ । चार चरणमध्ये हाम्रो देश नेपाल बैशाख दाेस्राे सातासम्म दोस्राे चरणमा गुज्रिरहेको छ । मृतकको सङ्ख्या हालसम्म धेरै मात्रामा क्रमशः संयुक्त राज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायतमा देखिएको छ । जर्मनी, चीन, बेल्जियम, दक्षिण कोरियामा सङ्क्रमित धेरै देखिएता पनि मृत्युदर कम देखिएको छ । चीनको सबैभन्दा बुद्धिमत्तापूर्ण निर्णय नै वुहानलाई लकडाउन गरेर सङ्क्रमणलाई फैलिन नदिनु हो । सङ्क्रमणको शुरुवाती चरणमै सङ्क्रमणको केन्द्रलाई यसरी घरबन्दी गरेर चीनले यसलाई आफ्नो देशमा र अन्यत्र भयावह रुपबाट फैलिन दिएन । यसो गर्दा चीनमा पूरै देशलाई नै घरबन्दी गर्नुपर्ने अवस्था पनि सृजना भएन । घरबन्दीमा रहेको जनसङ्ख्यासम्म दैनिक आवश्यकताका सामानहरुको आपूर्तिका लागि उत्कृष्ट वितरण प्रणालीको आफ्नो सक्षमता पनि चीनले संसारसामु पेस गर्यो । वुहान घरबन्दीमा गएकै बेला विश्व स्वास्थ्य सङ्गठन र विशेषज्ञहरुले कोरोना भाइरस संसारभरि फैलिन सक्ने र यसका लागि सबैले आवश्यक तयारी गर्नुपर्ने कुरा औंल्याएका थिए । तर धेरै देशहरुले यसलाई गम्भीर रुपमा लिएनन् । विश्वको महाशक्ति राष्ट्र अमेरिका र यूरोपका धेरै शक्तिराष्ट्रले यसलाई चीनको मात्रै समस्याका रुपमा लिए र कतिपय स्थितिमा ‘चिनियाँ भाइरस’ र ‘वुहान भाइरस’ नाम दिएर हाँसोको विषय बनाए । भाइरस रोकथामका निम्ति पर्याप्त पूर्वतयारीमा ध्यान दिएनन् जसकारण आज अवस्था भयावह भएको छ । दक्षिण कोरिया, ताइवान र जर्मनीजस्ता देशहरु शुरुबाटै कोरोनविरुद्धको तयारीमा लागे । कोरियाले शुरुदेखिनै व्यापक टेष्टिङ्गलाई जोड दियो, दिनमा दश हजारसम्म टेष्टहरु गरियो । सङ्क्रमित भेटिनेबित्तिकै आइसोलेसनमा राखेर उपचार गर्ने, कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने र क्वारेण्टाइनमा राख्ने कामलाई व्यापक बनाइयो । टेष्टिङ्ग सङ्क्रमणको लक्षण देखिएकामा मात्र होइन सम्भावना भएका सबैमा गरियो । यसैले कोरिया अहिलेसम्म अरु थुप्रै देशजस्तो पूर्ण घरबन्दीमा जानुपर्ने स्थिति आएको छैन । घरबन्दीमा नगएपनि कोरियाले भीड नियन्त्रण, सार्वजनिक स्थलमा भौतिक दूरी कायम राख्ने, अरु देशबाट प्रवेश गरेकाहरुलाई क्वारेण्टाइनमा राख्ने, विद्यालय बन्द गर्ने आदि जस्ता कदम भने चालेको छ । नेपालमा देखिएका अधिकांश कोरोना सङ्क्रमितहरु भारतबाट आएका मानिसहरुमा देखिएको छ, त्यसैले यो अवस्थालाई मध्यनजर राख्दा हामी कुनै पनि समय तेस्रो सङ्क्रमणको अवस्थामा गुज्रिनु पर्ने देखिन्छ । जबसम्म भारतमा यसको नियन्त्रण हुँदैन, नेपाल माथिको खतरा सधैँ रहनेछ । तसर्थ, कम्तीमा भारतमा सङ्क्रमण नरोकिने समयसम्म नेपाल भारत सिमालाई पूर्ण नियन्त्रण गर्न टड्कारो आवश्यकता छ अहिलेसम्मको अवस्थामा हाम्रो देश नेपाल दोश्रो चरणमा गुज्रिरहेको हुनाले हामी कोरोना महामारीबाट केही सुरक्षित छौँ भन्ने हो तर तत्कालै केही आधारभूत कदमहरु चालिएन भने हामी तेस्रो चरणमा प्रवेश गर्न सक्दैनौं भन्ने छैन । हाम्रो देश नेपालको लागि अब कोरोना महामारीलाई तेस्रो चरणमा प्रवेश हुन नदिनु नै मुख्य चुनौती बनेको छ जुन हामीले केही सावधानी अपनाएर पूरा गर्न सक्छौं । यो भाइरस नेपालमा उत्पति नभएर हामीले भ्रमणको क्रममा लिएर आएका हौँ । यसलाई नेपालको परिपेक्षमा हेर्दा दुई चरणमा विश्लेषण हुनु पर्ने देखिन्छ । पहिलो, भारत बाहेकबाट नेपालमा प्रवेश गरेको अवस्था । हामीले अन्य तेश्रो राष्ट्रहरुलाई नेपाल प्रवेश रोकेको अथवा अन्तर्राष्ट्रिय हवाई सेवा बन्द भएको झण्डै एक महिना नाघिसकेको छ । यो एक महिनाको अवधिलाई परीक्षणकाल राख्ने हो भने यो चरणबाट हामी सुरक्षित अवतरण हुदैछौं भन्न सकिने अवस्था छ । दोश्रो, भारतबाट प्रवेश भएकाबाट हुने सङ्क्रमणको अवस्था । अहिले हामी यही चरणमा लडिरहेका छौं र यो अवस्था कहिलेसम्म रहन्छ भन्न सक्ने स्थिति छैन किनकी नेपाल भारतको सिमाना खुल्ला छ र लुकिछिपी आउने क्रमलाई रोक्न सजिलो छैन । साथै अहिले नेपालमा देखिएका अधिकांश कोरोना सङ्क्रमितहरु भारतबाट आएका मानिसहरुमा देखिएको छ, त्यसैले यो अवस्थालाई मध्यनजर राख्दा हामी कुनै पनि समय तेस्रो सङ्क्रमणको अवस्थामा गुज्रिनु पर्ने देखिन्छ । जबसम्म भारतमा यसको नियन्त्रण हुँदैन, नेपाल माथिको खतरा सधैँ रहनेछ । तसर्थ, कम्तीमा भारतमा सङ्क्रमण नरोकिने समयसम्म नेपाल भारत सिमालाई पूर्ण नियन्त्रण गर्न टड्कारो आवश्यकता छ जसको लागि नेपाल सरकारले भारत सरकारसँग बुँदागत रुपमा छलफल गरी यथासिग्र आपसी समझदारी गर्नु जरुरी देखिन्छ जुन आजको दिनमा आम नेपाली नागरिकको चाहनाको विषय पनि हो । त्यस्तै गरी सम्भावित सङ्क्रमित व्यक्तिहरुको पहिचान गरेर कोरोना भाइरस (कोभिड–१९) को परिक्षण जतिसक्दो छिटो गर्नुपर्दछ, सँगै उनीहरु बसेको स्थानलाई आइसोलेट गरेर राख्नुपर्दछ र त्यो स्थानको वरिपरिको समुदायमा रहेकाहरुको पनि द्रुतगतिमा कोरोना भाइरस (कोभिड–१९) को परिक्षण गर्नुपर्दछ । हाम्रो देश नेपालमा अर्को चुनौती भनेको श्रमिक,मजदुर वर्गको उचित व्यवस्थापन गर्न नसक्नु पनि देखिएको छ । नेपाल सरकारले उनीहरुलाई पर्याप्त मात्रामा राहत सामग्री दिएर यथास्थानमा व्यवस्थापन गर्न सक्नुपर्छ, हैन भने उचित वातावरण मिलाएर उनीहरुको घरसम्म पुर्याइदिनुपर्छ । यदि यो विषयमा सरकारले वेलामै ध्यान पुर्याउन सकेन भने भोकमरीको समस्या जुन अर्को एउटा महामारी भएर देखापर्न सक्छ र स्थिति झन् जटिल बन्न सक्छ । भाइरसको महामारीपूर्ण गाडी तीव्र गतिमा कुदिरहेको छ । गाडी मोड्न समय र फराकिलो स्थान चाहिन्छ । यो आफैं आउने हैन, हामीले ल्याउने वा मिलाउने हो । व्यवस्थाका आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, साँस्कृतिक सबै पक्षमा कोरोना महामारीको बृहत् र दीर्घकालीन असर पर्नेछ भन्ने लाग्दैन किनभने वर्तमान विश्वका सबै देश, उत्पादन प्रणाली र राज्य व्यवस्थासमेत परस्परमा अत्यन्त अन्तरसम्बन्धित र अन्तरनिर्भर भैसकेका छन् । विश्व समाजको हरेक कुना, तह र तप्कामा मुद्रा र मार्केटको प्रभाव यति भित्रसम्म प्रवेश गरेको स्थिति छ कि यसबाट पछाडि फर्कन असम्भव छ । अहिले आर्थिक उत्पादन प्रणाली एक हदसम्म केही महिनालाई आंशिक रूपमा ठप्प वा निलम्बित भइरहेको स्थिति मात्र हो । साथै मुद्रा र मार्केटको हैसियत अहिले आंशिक रूपमा निलम्बित छ । केही समयपश्चात् हालको निलम्बित उत्पादन प्रणाली र प्रक्रिया सुचारु भएपछि संरचनाले आफ्नो पूर्वरूप लिनेछ । विश्व अर्थव्यवस्थामा कोरोना भाइरसको महामारीले ल्याएको आर्थिक मन्दीको परिणामको हिसाबकिताब त हुनेछ तर विश्व अर्थव्यवस्था पूर्वरूपमै फर्कनेछ किनभने सम्पूर्ण कुराहरूको पूर्वाधारमा क्षति पुगेको वा भत्केको स्थिति होइन । विकसित देशहरू र कामको अवसर प्राप्त खाडी देशबाट कामदारहरू फर्काइन्छन् होला भन्ने जो त्रास छ, त्यसरी त ती देश नै चल्ने छैनन् । बरु अहिलेको सङ्कटमा घरबाट टाढा रहनुपरेकाहरू कहिल्यै विदेश नजाने गरी फर्कने सम्भावना पनि उत्तिकै छ । यसर्थ नेपालजस्तो देशको निमित्त कृषि प्रणालीमा नयाँ खेती पद्धति सुरु गरेर आत्मनिर्भरताको पक्षमा हिँड्न सकिन्छ । स्थानीय समुदायलाई आत्मनिर्भर हुनेगरी विकास र समृद्धिको नयाँ मोडेलहरू लागू गर्न सकिन्छ । नेपालजस्तो परनिर्भर मुलुकका लागि अर्थव्यवस्थालाई नयाँ ढङ्गबाट सोच्ने र कार्यान्वयन गर्ने योभन्दा राम्रो अवसर अरू हुने छैन । विश्वभर नै आपूर्ति प्रणाली र मूल्य शृङ्खला (भ्यालु चेन) खलबलिएको छ । यो प्रणालीलाई पुरानै ढाँचामा फर्किन अवश्य नै केही समय लाग्नेछ । हामीले सामान आयात गर्ने देशहरूको प्राथमिकता आफ्नो आन्तरिक माग पूर्ति गर्नुमै हुनेछ । हामीले हाम्रा साना तथा मझौला उद्योगहरूलाई पूर्णरूपमा सञ्चालन गरेर आधारभूत आवश्यकतामा आत्मनिर्भर हुन सक्यौं भने आन्तरिक रोजगारी सिर्जनाका साथै आयात प्रतिस्थापन र निर्यातका नयाँ सम्भावना पहिचान गर्न सक्नेछौं । यसले नेपाली अर्थतन्त्रमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव देखाउनेछ । अब बन्ने नीति तथा योजनाहरूमा यो महामारीले सिकाएका पाठ अवश्य समावेश गरिनेछ, मानव जातिका आधारभूत प्राथिमकताहरू केके हुन्, तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय अबको दशकमा बन्ने आर्थिक नीतिहरूको प्राथमिकतामा पर्नुपर्छ । यो महामारीले सिकाएको ठूलो पाठ सायद यही नै हुनुपर्छ । विज्ञहरूले अप्रिल र मे महिनामा यो रोगको उच्च पिकटाइम हुन सक्छ भनिरहेका छन् । केहीले गर्मीको याममा यो रोगको प्रभाव कम हुँदै जान्छ भन्दैछन् भने अरूले गर्मीमा कम भएता पनि आउने हिउँदमा कोरोना फर्कन सक्छ भन्दै छन् । कोरोनाको औषधि तथा भ्याक्सिनका निम्ति अमेरिका तथा चीनलगायत अन्य मुलुकमा लगातार प्रयास भइरहेछ । तर, विज्ञहरूको भनाइअनुसार भ्याक्सिन सर्वसाधारणका निम्ति उपलब्ध हुन कमसेकम १ देखि २ वर्ष लाग्न सक्छ । केही गरी कोरोना भ्याक्सिन सर्वसाधारणलाई उपलब्ध हुन वर्षौं लागे महामारीका राजनीतिक, आर्थिक र सामाजिक प्रभाव लामो समयसम्म चलिरहनेछन् । मानिसको दैनिक जीवनमा धेरै किसिमका व्यावहारिक परीवर्तन आउनेछन् । अहिले कोरोना महामारीबाट जोगिन सामाजिक दूरी कायम गर्ने कुरा निकै सुनिएको छ तर केही विज्ञहरु यसलाई भौतिक दूरी भन्नु पर्दछ भनिरहेका छन् । यस्तो महामारीको बेलामा मानिसहरु भौतिक दूरी कायम राख्दै सामाजिक रुपमा भाइचाराको सम्बन्ध बढाउन एवं एक आपसमा सहयोगी बन्दै महामारीबिरुद्ध जित हाँसिल गर्न अग्रसर रहनुपर्दछ । सामाजिक दूरी अप्नाउँदै अघि बढिरहे भविष्यमा मानिस यसैमा अभ्यस्त हुँदै जानेछन् जसकारण मानिसको दैनिक जीवनको प्रक्रियालाई नै असर पार्न सक्छ । मानिसहरुमा एकान्तमा बसिरहने बानीको विकास हुँदै जानसक्छ, फलस्वरुप समाजमा हुने सामाजिक, साँस्कृतिक,राजनैतिक एवं विकासका विविध कार्यहरुमा उनीहरुको न्यून उपस्थिति रहन सक्छ । यसो हुँदा विभिन्न आयोजनाहरुको पूर्णतामा ढिलासुस्ती आउन सक्छ जसले अन्तत्वगोत्वा मानव समुदाय (उपोभक्ता) लाई असर पुर्याउने देखिन्छ । पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ किनभने कुनै देशले एक्लै महामारीविरुद्ध लड्न सक्दैन । कोरोना महामारीका कारणले विश्वका अधिकांश उद्योग, कल–कारखानाहरु बन्द छन् । सडकमा अत्यावश्यक सवारी साधनहरु मात्र गुडेका छन् । तसर्थ यो समयमा वातावरणमा प्रदुषण साह्रै न्यून छ, वातावरण सफा छ । त्यस्तै उद्योग एवं कल–कारखानाहरुबाट निस्कने हरित गृह ग्याँसहरु जस्तै कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड लगायतका हानिकारक ग्याँसहरुको उत्पादनमा भारी गिरावट आएको छ, फलस्वरूप वायुमण्डलमा जलवायु परिवर्तनको जोखिम केही मात्रामा घटेको छ तर भविष्यमा कोरोना महामारीको अन्त्यपश्चात् खासगरी बिकसित राष्ट्रहरुले आर्थिक मन्दीलाई परास्त गर्नको खातिर उत्पादनमा व्यापक वृद्धि गर्ने हेतुसँगै अत्याधिक अनुपातमा उद्योग एवं कल–कारखानाहरु सञ्चालनमा ल्याएर पुनः हरित ग्याँसहरुको अधिकतम् वृद्धि गर्दै वायुमण्डलमा प्रदुषणका साथै जलवायु परिवर्तनको उच्च जोखिम निम्त्याउन सक्ने खतरा उत्तिकै बढेर गएको छ । घरपालुवा जनावरहरुको रेखदेखमा मानिसले समय अहिले पनि दिएका छन्, पछि पनि राम्रो हेरचाह हुनेनैछ किनभने तिनीहरु मानिसको समिपमै रहने प्राणी हुन् तर जङ्गली जीव–जन्तुको सवालमा परिवेश फरक हुन सक्छ । आजको परिप्रेक्षमा चिडियाखाना, निकुञ्जमा रहेका जनावरहरुलाई मानिसले चाहेर पनि राम्रोसँग हेरचाह गर्न सकिरहेका छैनन् परन्तु वन–जङ्गलमा निस्फिक्री जीवन बिताउने जनावरहरुको लागि भने अहिलेको महामारी र महामारीपश्चात्को अवस्थामा तात्विक भिन्नता होला जस्तो लाग्दैन । भविष्यमा मानव निर्मित परिधिभित्र रहेका जीव–जन्तुहरुको रक्षार्थ सुरुवाती चरणमा केही अप्ठ्यारो भएतापनि पछि समयानुकुल बिस्तारै मानिसहरुले उचित व्यवस्थापन गर्नेनै छन् भन्ने लाग्दछ । पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ किनभने कुनै देशले एक्लै महामारीविरुद्ध लड्न सक्दैन । सङ्कटले जहिले पनि नयाँ अवसर सँगैसँगै लिएर आउँछ । निरङ्कुश बजार पनि हैन र निरङ्कुश राज्य पनि हैन । चाहिएको के हो त भन्दा सामाजिक दायित्वसहितको स्वतन्त्रता जसको प्राप्ति केवल आफ्नो सोचलाई न्यासनल थिंकिङबाट ग्लोबल थिंकिङमा रुपान्तरण गर्न सकेमा मात्र सम्भव छ । कोरोना महामारीले कठिन एवं विषम् परिस्थितिसँग जुध्न र त्यहाँबाट पार पाउनको निम्ति विश्वका सबै राष्ट्रहरु एकीकृत रुपमा योजनाबद्ध रुपमा अघि बढ्नुको विकल्प छैन भन्ने सन्देश दिएको छ । आउने दिनहरुमा पनि यस्ता महामारी आउन सक्छन्, त्यो अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न सके मात्र महामारीबिरुद्धको लडाईंमा जित हाँसिल गर्न सकिन्छ भन्ने सत्यतालाई मनन गर्न जरुरी छ जहाँबाट विश्वमा रहेका आम मानव समुदाय एवं सारा जीवजगत्को सर्वोपरी हित हुनेछ । पोखरा–२१,कास्की [email protected]