आईएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, आव २०८०/०८१ को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण पारित गरेको छ। साथै उक्त सभाले आव २०८१/०८२ को लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्न प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/०८१ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पूँजी पाँच अर्ब मात्रको २१.०५२६४ प्रतिशत (अक्षरेपी एक्काइस दशमलब शून्य पाँच दुई छ चार प्रतिशत) का दरले हुने रकम एक अर्व पाँच करोड छब्बीस लाख बत्तीस हजार रुपैंया नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरको छ । यसका साथै उक्त सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ । उक्त सभाले आव २०८०/०८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ । सभाध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनी आर्थिक स्थायित्व, आधुनिक प्रविधिको उपयोग, सेवा विस्तार तथा नयाँ बीमा योजनाहरूको विकास गर्दै शेयरधनीहरुको लगानीलाई सुरक्षित राख्दै दीर्घकालीन रूपमा आकर्षक प्रतिफल प्रदान गर्न तदरुकताका साथ लागिरहेको जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा पर्यो उजुरी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारलाई ढाँटेर झुटो विवरण बुझाएर नियुक्ति लिएको आरोप लगाउँदै दीपक बोहराले अध्यक्ष ओझाविरुद्ध उजुरी हालेका हुन् । बोहराले छानविन गरी कारबाहीको मागसमेत राखेका छन् । ‘ओझाले अध्यक्ष नियुक्ति प्रक्रियामा बुझाएको अनुभवसम्बन्धी अधिकांश प्रमाणहरू झुटा हुन्,’ आरोपपत्रमा लेखिएको छ, ‘नेपाल सरकारलाई झुटा विवरण बुझाएर लाखौंलाख बीमितहरूले तिरेको करिब सात खर्ब रुपैयाँको सदुपयोग गरी बीमितको हीत र देशविकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणजस्तो निकायमा नियुक्ति लिन सफल भएका ओझामाथि छानविन गरी तत्काल कारबाही गर्नुपर्छ ।’ उजुरीपत्रमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयसम्बन्धी मापदण्ड २०७३ (पहिलो संशाेधन) ले प्राधिकरणको अध्यक्ष बन्न ३५ वर्ष नाघेको हुनुपर्ने भनिएको भएता पनि ओझाको उमेर ३३ वर्ष मात्रै भएकोले उनी प्राधिकरणको अध्यक्ष बन्न लायक नभएको उल्लेख छ । ओझालाई फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अध्यक्षमा नियुक्त भएदेखि उनको क्षमतामाथि विभिन्न प्रश्नहरू उठ्दै आएका छन्।
आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा सम्पन्न भएको हो । सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारणको विषय पनि टुङ्गिएको छ । उक्त अवसरमा अध्यक्ष हेमराज ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१.४७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् जुन गत आ.व. भन्दा २.८ प्रतिशतको वृद्धि रहेको बताए । साथै आ.व. २०८०/०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको बताए । सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गराउँदै समीक्ष वर्षमा यस कम्पनीले ३.६३ अरब बीमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।