बीमा शुल्कको एक चौथाई रकम मात्रै दाबी भुक्तानी
काठमाडौं, १८ साउन । जीबन बीमा कम्पनीहरुले आफूले आर्जन गरेको बीमा शुल्कको एक चौथाइ रकम दाबी भुक्तानीमा खर्च गर्ने गरेका देखिएको छ । गत आर्थिक बर्षको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिले दिएको जानकारी अनुसार सवै जीबन बीमा कम्पनीले आफूले आर्जन गरेको बीमा शुल्कको २४ दशमलब २६ प्रतिशत रकम दाबी भुक्तानी गर्ने गरेका पाइएको छ । गत आर्थिक बर्षको चैत मसान्तसम्ममा जीबन कम्पनीहरुले १६ अर्ब ९५ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तै सोही अवधिमा कम्पनीहरुले ४ अर्ब ११ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । यो रकम आर्जन भएको बीमा शुल्कको २४ दशमलब २६ प्रतिशत हो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले भने आफूले आर्जन गरेको बीमा शुल्क भन्दा पनि बढी रकम दाबी भुक्तानी गरेको छ । सो अवधिमा संस्थानले १ अर्ब ३० करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा २ अर्ब २६ करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम आर्जन भएको बीमा शुल्कको १७३ दशमलब २३ प्रतिशत हो । यस्तै बीमा शुल्कको सवैभन्दा कम अंश दाबी भुक्तानी गर्ने कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । सो कम्पनीले आर्जन गरेको बीमा शुल्कको १ दशमलब ५८ प्रतिशत मात्रै दाबी भुक्तानी गरेको छ । समितिले दिएको जानकारी अनुसार एशियन लाइफले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सोही अवधिमा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको तथ्यांकले देखाएको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको बीमा शुल्कको ३२ दशमलब ३४ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीले २ अर्ब ४ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा ६६ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानीमा खर्च गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको बीमा शुल्कको ११ दशमलब ८८ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा ६४ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले आफूले आर्जन गरेको बीमा शुल्कको ६ दशमलब ४२ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा ३ अर्ब ७० करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा २३ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको बीमा शुल्कको ३ दशमलब १९ प्रतिशत रकम दाबी भुक्तानीमा खर्च गरेको छ । कम्पनीले सो अवधिमा १ अर्ब ५३ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा ४ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको बीमा शुल्कको ७ दशमलब ६५ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा ४६ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा ३ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको बीमा शुल्कको ५ दशमलब ३७ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा ३४ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा १ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको बीमा शुल्कको १९ दशमलब ४७ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा ९३ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा १८ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
बीमा समितिमा २ जना ग्रीन कार्ड होल्डर, एक जना भागिसके, एकजना कानुन बनाउदै
काठमाडौं, १७ साउन । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमै २ जना विदेशी ग्रीन कार्ड वाहक रहेको तथ्य फेला परेको छ । एक जना समितिको संचालक समिति सदस्य छन् भने अर्का एक अधिकृत २ बर्षे बेतलबी विदा लिएर अमेरिका पुगिसकेका छन् । सुरजविक्रम शाही समितिको संचालक सदस्य रहेका सुरज विक्रम शाहीसँग अमेरिकाको ग्रीन कार्ड रहेको स्रोतले दाबी गरेको छ । उनी समितिमा विज्ञ सदस्यका रुपमा सरकारले मनोनित गरेको हो । विदेशी ग्रीन कार्ड वाहकलाई सरकारी सेवामा कुनै अवसर नदिने सरकारले बताउने गरेपनि अमेरिकी ग्रीन कार्ड वाहक शाही प्रश्तावित बीमा ऐनको मस्यौदा बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । ‘विदेशी नागरिक बनेको ब्यक्तिलाई सरकारी सेवामै रहन नदिने नीति सरकारको छ भनिएको छ, तर एक जना त्यस्तै ब्यक्ति नेपाली बीमा क्षेत्रको भाग्य र भविष्यको रेखा कोर्ने बीमा ऐनको मस्यौदा बनाउदै छन,’ समिति स्रोतले भन्यो । शाहीसँग अमेरिकाको ग्रीन कार्ड रहेको स्रोतको दाबी छ । दीपक ढकाल यस्तै अमेरिकाकै ग्रीन कार्ड बाहक एक जना अधिकृत भने २ बर्षको बेतलबी विदा लिएर अमेरिका पुगेका छन् । उनले करिब ३ महिना आगाडी विदा लिएको स्रोतले जानकारी दियो । यसरी बेतलबी विदा लिएर अमेरिका जाने अधिकृत दीपक ढकाल हुन । उनलाई अमेरिकाको डिपी परेको र त्यसैको आधारमा २ बर्षे बेतलबी विदा लिएर अमेरिका पुगेको स्रोतले जानकारी दियो ।
युनाईटेड इन्स्योरेन्समा सीईओ हटाउन सेयरधनीको माग, बीमा समितिले सञ्चालक समितिसँग स्पष्टीकरण माग्यो
काठमाडौं, २६ असार । सरकारी छाप, दस्तखत किर्ते तथा ठगीको मुद्दा खेपिरेहको यूनाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालको बारेमा बीमा समितिले स्पष्टी करण मागेको छ । बराल विराद्ध लागेको आरोप के के हो, उनी विरुद्ध कहाँ कहाँ मुद्दा र अनुसन्धान चलिरहेको छ भन्ने जानकारी दिन बीमा समितिले यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई पत्र काटेको छ । bikashnews.com समिति सम्बद्ध स्रोतका अनुसार सरकारी छाप, दस्तखत किर्ते तथा ठगी जस्तो जगन्य अपराधमा संलग्न व्यक्तिलाई यूनाईटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट निलम्बन गर्न माग गर्दै कम्पनीका केही सेयरधनीहरुले बीमा समितिमा निवेदन गरेका छन् । तीन पृष्ठ लामो उक्त निवेदनमा कम्पनीमा संस्थागत सुशासन खलबलिदैन गएको, आफ्नो लगानी रहेको कम्पनीको बदनाम भएको, संस्थाको गुडविल खस्कदै जादाँ लगानी जोखिममा परेको, केही प्रवद्र्धकले आफ्नो स्वार्थअनुसार तजविजमा काम गर्न विवादस्पद व्यक्तिलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको सेयरधनीको निवेदनमा उल्लेख छ । कम्पनीको बद्नाम हुँदै जाँँदा कम्पनीप्रति लगानीकर्ताको विश्वास गुमेको, कम्पनीले हालै जारी गरेको हकप्रद सेयर समेत सबै बिक्री नभएको उनीहरुले उल्लेख गरेका छन् । सरकारी मुद्दा लागेको व्यक्तिलाई सार्वजनिक पदमा राख्न नमिल्ने सेयरधनीको भनाई छ । सरकारी मुद्दा लागेपछि तत्कालिन गभर्नन विजयनाथ भट्टराई, नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष सुकतरत्न कंसाकार लगायत धेरै व्यक्ति निलम्बनमा परेको उदाहरण समेत सेयरधनीले पेश गरेको छन् । यूनाईटेड इन्स्योरेन्स कम्पनीमा सरकारी, विदेशी कम्पनी, सर्वसाधारण, विनोद कुमार चौधरी, रविभक्त श्रेष्ठ लगायत ठूला व्यवसायीहरुको लगानी छ । बीमा समितिले कम्पनीको सञ्चालक समितिसँग स्पष्टीकरण माग गर्दैै बुधबार गोप्य पत्र पठाएको छ । उक्त पत्र विहीबार यूनाईटेड इन्स्योरेन्स कम्पनीमा दर्ता भएको छ । बीमा समितिले काटेको पत्रका जवाफ दिने समयसीमा भने तोकिएको छैन । यसअघि बीमा समितिले जेठ १८ गते मात्र शेखर बराललाई लुम्बिनी इन्स्योरेन्समा कार्यकारी प्रमुख रहँदा अनियमितता गरेको भन्दै ७ लाख ६० हजार विगो र १० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । बीमा समितिले प्रष्टीकरण मागेर चिठ्ठी लेखेको पत्र हात नपरे पनि जानकारी आफूले पनि पाएको सञ्चालक समितिका एक सदस्यले बताए । तर कम्पनीका अध्यक्ष आशिष शर्मा विदेशमा रहेकोले सञ्चालक समितिको बैठक कहिले बस्ने भन्ने तय भएको छैन । आफ्नै बारेमा बीमा समितिले सञ्चालक समितिसँग स्पष्टीकरण माग गर्दै पठाएको पत्र दर्ता बुझेपछि थप तनावमा परेको बराल तत्काल कार्यलयबाट बाहिरिएका थिए । बरालसँग प्रष्टीकरण माग गर्दै समितिले मात्र होइन, प्रहरी अपराध अनुसन्धान महाशाखा, केन्द्रीय अनुसन्धान व्यूरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला अदालत लगायत निकायबाट निरन्तर पत्रहरु गईरहेको छन् । आफू नभएको बेलामा आएका यस्ता गोप्य पत्र बुझ्ने र त्यसलाई गोप्य राख्ने जिम्मेवारी उनले सिर्जा लोहनीलाई दिएका छन् । शेखर बराल र सिर्जा लोहनीबीचको सम्बन्ध अत्यान्तै राम्रो छ । उनीहरुबीच पुरानो सम्बन्ध छ । लुम्बिनी इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख हुँदा बरालले सोही कम्पनीमा लोहानीलाई नियुक्ती दिएका थिए । लुम्बिनी इन्स्योरेन्समा असिष्टेन्ट मेनेजर रहेकी लोहनीलाई बरालले यूनाईटेडमा एक तह बढुवा गर्दै डेपुटी मेनेजरमा नियुक्ति दिएका छन् । लुम्बिनी इन्स्योरेन्स कम्पनीले ब्रखास्त गरेपछि बराल यूनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । सहायक जिल्ला न्यायधिवक्ता डम्बर प्रसाद काफ्लेले नेपाल घरेलु तथा साना विकास बैंकबाट कर्जा प्रवाह गर्दा सरकारी छाप, दस्तखत किर्ते गरी बैंकबाट २ करोड ८० लाख रुपैयाँ ठगि गरेको आरोपमा बरालसहित १४ जना विरुद्ध मुद्दा दर्ता गरेका छन् । सरकारी वकिलले नेपाल घरेलु तथा साना विकास बैंकका तत्कालिन कार्यकारी अध्यक्ष सीताराम प्रसाई, महाप्रबन्धक तुलसीप्रसाद उप्रेति, नायव महाप्रबन्धक शेखर बराल, सहायक महाप्रबन्धक बद्री गोविन्द श्रेष्ठ, सञ्चालकहरु जङ्गबहादुर श्रेष्ठ, कैलाशभक्त रन्जित, बासुदेव गिरी, बिबी गुरुङ र पुरुषोत्तम प्रसाद शर्मा, कर्जा विभागका कन्चन नाथ पराजुली र सन्जीव पन्त, जग्गा रोक्का गर्न जाने कर्मचारी सन्तोष कुमार श्रेष्ठ, धितो मूल्याङकनकर्ता प्रमोदबहादुर थापा, कर्जा माग गर्ने होसियार सिंह गुरुङ र उनकी श्रीमती चन्द्रकला राई विरुद्ध मुद्दा दर्ता गराएको छन् । मुद्दा दर्ता गरिएका मध्ये सीताराम प्रसाई, तुलसीप्रसाद उप्रेति र कञ्चननाथ पराजुलीलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । अभियुक्त शेखर बराललाई काठमाडौं जिल्ला प्रहरीले पक्राउ गरे पनि डीआईजी गोविन्दप्रसाद निरौलाको दवावपछि तारिखमा छुटेका छन् । असार ३ गते दर्ता भएको मुद्दाको पूर्ण विवरण यूनाईटेड इन्स्योरेन्सका सीईओसहित १४ जना विरुद्ध मुद्दा दर्ता, सरकारी छाप, दस्तखत कीर्ते गरी ४५ लाख खाएको आरोप