बीमा समितिमा फेरि पस्यो अख्तियार
काठमाडौं, २७ असोज । बीमा समितिमा पुन अख्तियार छिरेको छ । समिति उच्च ब्यवस्थापनले विगतमा गरेका तीन विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको अनुसन्धान टोलीले समितिका अध्यक्षसहित उच्च ब्यवस्थापनसँग गत साता बयान लिएको छ । समितिका पूर्व कार्यकारी निर्देशक विनोद अर्याललाई पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई शंकास्पद बीमा दाबी भुक्तानी दिइएको र समितिका विभिन्न कोषमा रहेको रकम कम ब्याज आउने कल एकाउन्टमा राखी समितिलाई हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो । ‘समितिका पूर्वकार्यकारी निर्देशकलाई गैरकानुनी रुपमा पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई गैरकानुनी रुपमा शंकास्पद तरिकाले बीमा दाबी भुक्तानी गरिएको र समितिको पैसा कम ब्याज आउने कल एकाउन्टमा राखी हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो, समितिका उच्च ब्यवस्थापन र सरोकारवाला ब्यक्तिहरुसँग गत साता बयान लिइएको छ,’ अख्तियार स्रोतले भन्यो । अख्तियारको अनुसन्धान टोलीले समितिका पूर्वअधिकारी शेखर अर्यालसँग पनि बयान लिइसकेको छ । उनी अर्यालकै कार्यकालमा समितिवाट वाहिरिहेका थिए । अख्तियारले सो विषयमा यसअघि पनि अनुसन्धान गर्दै फाइल थन्क्याउदै गरेको थियो । यसपटक भने अन्तिम टुंगो लगाउने गरी अनुसन्धान थालिएको अख्तियार स्रोतको भनाइ छ ।
अफ्रिकन पुनर्बीमा कम्पनीले बीमा दाबी भुक्तानी दिएन
काठमाडौं, १३ असोज । अफ्रिकन पुनर्बीमा कम्पनीले गत बैशाखको विनासकारी भूकम्पको कारण भएको क्षतिको दाबी भुक्तानी गर्न आनाकानी गरेको छ । अन्य सवै पुनर्बीमा कम्पनीले दाबी भुक्तानीको लागि केहि रकम अग्रिम रुपमा प्रदान गरेका भएपनि सो कम्पनीले अहिलेसम्म भुक्तानी नगरेको हो । अन्य पुनर्बीमा कम्पनीहरुबाट अग्रिम रुपमा केहि रकम प्राप्त भएपनि अफ्रिकन कम्पनीवाट प्राप्त नभएको गुनासो आएको बीमा समितिले जानकारी दिएको छ । नेपाली बीमा कम्पनीले अफ्रिकन पुनर्बीमा कम्पनीसँग आफ्नो ब्यवसायको करिब १० प्रतिशत पुनर्बीमा गराउने गरेका अनुमान समितिको छ । ‘अन्य देशका पुनर्बीमा कम्पनीले अग्रिम रुपमै दाबी भुक्तानी गरेर सजिलो गरिरहेका छन्, तर अफ्रिकन पुनर्बीमा कम्पनीले अहिलेसम्म भुक्तानी नै गरेन भन्ने गुनासो नेपाली कम्पनीले गरिरहेका छन्,’ समितिका एक उच्च अधिकारीले भने । गत बैशाखको विनासकारी भूकम्पको कारण क्षति भएको भन्दै १८ अर्ब रुपैयाँ भन्दा बढीको दाबी परेको छ । यस्तो दाबी मध्ये नेपाली कम्पनीले अहिलेसम्म २ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ अन्तिम दाबी भुक्तानी र १ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ पेश्की स्वरुप दाबी भुक्तानी गरेका छन् । नेपाली कम्पनीले यति रकम बीमा दाबी भुक्तानी गरेकोमा पुनर्बीमा कम्पनीवाट २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ पेश्की पाएका छन् । यो रकममा अफ्रिकन पुनर्बीमा कम्पनीवाट एक रुपैयाँ पनि आएको छैन । अफ्रिकन पुनर्बीमा कम्पनीले अन्तिम भुक्तानी भएपछि सम्पुर्ण कागजात हेरेर भुक्तानी दिने भन्दै अग्रिम भुक्तानी नदिएको बीमा कम्पनीका अधिकारीहरुले बताएका छन् ।
नयाँ जीबन बीमा कम्पनी दर्ता, समितिका अधिकारी बेखबर
काठमाडौं, १३ असोज । बीमा समितिमा नयाँ जीबन बीमा कम्पनी दर्ता भएको छ । भदौ पहिलो साता महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी दर्ता भएको हो । समितिले लामो समयदेखि नयाँ कम्पनी दर्ता रोकेको भएपनि ६ भदौमा नयाँ कम्पनी दर्ता भएको छ । समितिमा लामो समयपछि नयाँ कम्पनी दर्ता भएपनि अनौठो रुपमा कम्पनी दर्ता भएको छ । समितिका बरिष्ठ अधिकारी तथा पदाधिकारीलाई कुनै जानकारी नै नदिइ एक जना उपनिर्देशकले कम्पनी दर्ता गरेर फाइल आफैसँग राखेका हुन् । समितिले यसलघि नै नयाँ कम्पनी दर्ता नगर्ने अनौपचारिक निर्णय गरेको छ । तर समितिका उपनिर्देशक कुन्दन सापकोटाले आफूले कार्यवाहकको जिम्मेवारी पाएको दिन आफू माथिका कसैलाई पनि नसोधी कम्पनी दर्ता गरेका हुन् । ‘नयाँ कम्पनी दर्ता नगर्ने र कसैले दर्ताको लागि ल्याए दरपिठ गरेर फर्काउने निर्णय भएको थियो, तर नयाँ कम्पनी दर्ता गर्ने जिम्मेवारी पाएको अधिकारी (उपनिर्देशक राजकुमार अर्याल) बिदामा बसेका दिन कार्यवाहक जिम्मेवारी पाउनु भएका कुन्दनजी (उपनिर्देशक कुन्दन सापकोटा) ले कसैलाई पनि नसोधी नयाँ कम्पनी दर्ता गरिदिनु भएछ,’ समितिका एक उच्च अधिकारीले भने । नयाँ कम्पनीको नाम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीका प्रश्तावित प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई रहेका छन् । उनी यसअघि एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुन् । हाल उनी महालक्ष्मी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रहेका छन् । कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व प्रमोटरहरुकै लगानी रहेको छ । नयाँ कम्पनी दर्ता भएपनि यसबारे आफूलाई कुनै जानकारी नभएको समितिका निर्देशक श्रीमान कार्कीले बताए । ‘नयाँ कम्पनी दर्ता भएको बारे मलाई कुनै जानकारी छैन, सिद्धार्थ लाइफ इन्स्योरेन्स कम्पनी दर्ताको लागि आएको र उसलाई दरपिठ गरेर पठाएको सुनेको हूँ, बाँकी कुरा थाहा भएन,’ निर्देशक कार्कीले भने । स्रोतले दिएको जानकारी अनुसार समितिका उपनिर्देशक सापकोटाको विषेश पहलमा नयाँ कम्पनी दर्ता भएको हो । भदौ ४ गते नयाँ कम्पनी दर्ता गर्नको लागि महालक्ष्मी इन्स्योरेन्सका अधिकारी समितिमा पुगेका थिए । तर सो दिन समितिका अधिकारीहरुले नयाँ कम्पनी दर्ता गर्ने निर्णय नभएको भन्दै दर्ता नगर्न समितिका कानुन हेर्ने उपनिर्देशक राजकुमार अर्याललाई निर्देशन दिएका थिए । आफू माथिका अधिकारीको निर्देशन अनुसार अर्यालले कम्पनी दर्ता नगरी फिर्ता पठाएका थिए । तर भदौ ६ गते ब्यक्तिगत कामको लागि अर्याल विदामा बसेका र सो दिन उनको जिम्मेवारी अर्का उपनिर्देशक कुन्दन सापकोटालाई दिइएको थियो । आफूले कार्यवाहक जिम्मेवारी पाएकै दिन सापकोटाले नयाँ कम्पनी दर्ता गर्न तोक लगाएको र उनको तोक अनुसार कम्पनी दर्ता भएको हो । तर नयाँ कम्पनी दर्ता नगर्ने समितिको निर्णय विपरित नयाँ कम्पनी दर्ता भएको भन्दै फाइल आगाडि बढेको छैन । कम्पनीले बुझाएको सम्पूर्ण फाइल सापकोटाले आफैसँग राखेका स्रोतको भनाइ छ । नयाँ कम्पनी दर्ता भएपछि ३ महिनाभित्रमा कम्पनीलाई कारोवार स्वीकृति दिने वा स्वीकृति नदिने जानकारी गराउनु पर्ने ब्यवस्था भएकोले समितिका अधिकारी दोहोरो समस्यामा परेका बताइएको छ ।