लुम्विनी इन्स्योरेन्समा पहिरो गयो, सीईओ र डेपुटी सीईओले पनि खुट्टा उचाले

१४ फागुन/लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट एकपछि अर्को गर्दै कर्मचारीले छोडिरहेका छन् । हालसालै एक दर्जन कर्मचारीले लुम्बिनी छोडेर युनाईटेड इन्स्योरेन्स प्रवेश गरेका छन् भने प्रमुख कार्यकारी अधिकृत शेखर बराल र सहायक प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले पनि अन्य कम्पनीमा जान खुट्टा उचालेका छन् । स्रोतका केन्द्रीय कार्यलयबाट कम्तिमा पाँच जना कर्मचारीले छाडेका छन् । यादव पाठक, सविना महर्जन, लक्ष्मण पराजुली, दीपक खत्री लगायतले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेड इन्स्योरेन्समा प्रवेश गरेका हुन् । त्यस्तै, ठमेल शाखाका अर्का एक कर्मचारी पनि लुम्बिनी छोडेर युनाईटेड गएका छन् । त्यस्तै, धनगढी शाखा प्रमुख राकेश कर्माचार्यसहित ४ जनाले लुम्बिनी इन्स्योरेन्स छोडेर युनाईटेड इन्स्योरेन्स गएका छन् । उक्त ब्रान्चका सुरक्षाकर्मी र सहायक एक कर्मचारी बाहेक सबै युनाईटेड गएका हुन् । कम्पनीको ब्राण्ड इमेजले भन्दा कर्मचारीको मिहेनत र सम्वन्धमा आधारित बीमा बजारमा ब्रान्चका मुख्य मान्छेहरुले एकैपटक छाडेपछि उक्त शाखाको व्यापार नराम्ररी प्रभावित भएको छ । त्यस्तै हेटौडाबाट बद्री अधिकारीसहित दुई जनाले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेडमा हाजिर भएका छन् । लुम्बिनी इन्स्योरेन्सकै नेपालगञ्ज शाखाका रमेश पण्डित युनाईटेड गएका छन् । मध्यम र तल्लो तहका कर्मचारीको पहिरो चलिरहेको बेलामा, उच्च तहका व्यवस्थापक पनि कम्पनी छोड्न खुट्टा उचालेर बसेको स्रोतले बतायो । केन्द्रीय कार्यलयका वित्त प्रमुख गणेश कापरले राजीनामा गरि घरमा बसेका छन् । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत विनोद काजी श्रेष्ठ कम्पनी छोड्ने मनस्थितिका साथ उपयुक्त अवसरको खोजीमा लागेका छन् । उनले पुर्नजन्म पाउँदै गरेको एनवी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा आवेदन गरेको स्रोतले बतायो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि युनाईटेड इन्स्योरेन्समा जान लागेको बताईएको छ । युनाईटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरविक्रम रायमाझीले दिएको राजीनामा फागुन एकदेखि लागू गरि स्वीकृत भईसकेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतका लागि आह्वान गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयमा बराल र युनाईटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष शर्माबीच भेटवार्ता भईसकेको स्रोतले बतायो । तर बरालले विकासन्युजसँग कुरा गर्दै आफूले युनाईटेड इन्स्योरेन्समा जाने तयारी नगरेको बताए । उनले लुम्बिनी इन्स्योरेन्स तत्काल छोड्ने सम्भावना नभएको बताए । स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत बराल र कम्पनी सञ्चालक समिति सदस्य चिन्तामणि भट्टराईबीच बढ्दो टसलले पनि बराललाई काम गर्न अप्ठ्यारो परेको छ । फागुन २५ हुन गईरहेको लुम्बिनी इन्स्योरेन्सको १० औं साधारसभा सम्पन्न भएपछि बरालले कम्पनी छोड्न सक्ने अडकलबाजी लुम्बिनी इन्स्योरेन्स भित्रै भईरहेको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन भित्र बस्ने हो भने युनाईटेड इन्स्योरेन्समा बरालले मासिक १ लाख ५७ हजार पाँच सय रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने छैनन् । जवकी उनले लुम्बिनी इन्स्योरेन्समा मासिक एक लाख ७५ हजार रुपैयाँ भन्दा बढी नै पाउँदै आएका छन् ।

कृषि बीमामा गुणात्मक वृद्धि, बीमा गर्न कुन जिल्ला कुन निर्जीवन बीमा कम्पनीको भागमा

११ फागुन । गत आर्थिक बर्षको तुलनामा यसबर्ष बाली तथा पशुपन्छी बीमा गर्ने क्रममा गुणात्मक भएको छ । ‘गत आर्थिक बर्षमा जम्मा छ करोड रुपैयाँको बाली तथा पशुपन्छी बीमा भएको थियो, यसबर्ष यो आंकडा उल्लेख बढेको छ,’ बीमा समिति उपनिर्देशक कुन्दन सापकोटाले बताए । बीमा समितिले दिएको चालु आवको मंसिरसम्मको तथ्यांक अनुसार यो अवधिमा ६३ करोड २७ लाख रुपैयाँको बाली तथा पशुपन्छी बीमा गरिएको छ । यो अवधिसम्ममा कम्पनीहरुको बीमा शुल्क (मूल्य अभिवृद्धि कर सहित) तीन करोड ६३ लाख रुपैयाँ भएको छ । सरकारले यो बीमा शुल्कमा दिनुपर्ने ७५ प्रतिशत अनुदान बापत दुई करोड ७० लाख रुपैया रहेको देखिन्छ । कुन जिल्ला कुन कम्पनीलाई ? बीमा समितिले १७ निर्जीवन बीमा कम्पनीलाई बाली तथा पशुपन्छी बीमा गर्न ७३ जिल्ला तोकेर भागवण्डा गरेको छ । ‘कम्पनीहरुलाई पुसको पहिलो साता अलग्गै कृषि शाखा खोल्न एक महिनाको अवधि तोकेर निर्देशन दिएका थियौं, पछि त्यो निर्देशनलाई सच्चाउदै जिल्ला नै तोकिदिएका हौं, ’ समितिका उपनिर्देशक सापकोटाले बताए । बीमा कम्पनीहरुले भागबण्डा अनुसार आफुले पाएको जिल्लामा अनिवार्य शाखा खोल्ने बाध्यता भने गरिएको छैन । तर बीमा गर्न चाहनेहरुको बीमा गरिदिने कामलाई तोकिएको कम्पनीले प्राथमिकता राख्नुपर्ने सापकोटाले बताए । एक कम्पनीलाई तोकिएको क्षेत्रमा अर्काे कम्पनीले पनि बीमा जारी गर्न भने सक्नेछन । बीमा कम्पनीहरुले एक महिनाभित्रमा शाखा खोलेर वा प्रतिनिधी राखेर भएपनि तोकिएको जिल्लामा बाली तथा पशुपन्छी बीमा शुरु गनु पर्ने निर्देशन समितिले दिएको छ । बाँडफाँट अनुसार कम्पनीहरुलाई तीन देखि पाँच जिल्ला परेका छन । कम्पनीहरुले जारी गरेको कृषि बीमा शुल्कको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था छ । तर यस्तो व्यवस्थाले पनि सर्वसाधारणलाई बीमा प्रति आकर्षित गर्न नसकेको भन्दै समितिले नयाँ तरिका अपनाएको हो ।

जीवन बीमा कम्पनीहरुको नाफा घट्यो, बीमा शुल्क आर्जनमा भने वृद्धि

विजयराज खनाल/काठमाडौं। ३ फागुन । यस बर्षको पुस अवधिसम्मको वित्तीय विवरण प्रकासित गरेका आठ जीवन बीमा कम्पनीहरुमध्ये पाँच कम्पनीको नाफा घटेको छ । अमेरिकन लाइफ इन्स्योरेन्सको भने वित्तीय विवरण प्रकासित भएको छैन । प्राइम लाइफ, एशियन लाइफ, नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान र सुर्या लाइफ इन्स्योरेन्सको नाफा घटेको हो । आठ कम्पनीहरुको कुल नाफा पनि छ प्रतिशतले घटेर २९ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो बर्षको पुसमा कम्पनीहरुको नाफा ३१ करोड ६२ लाख रुपैयाँ रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै २७ प्रतिशतले घटेर १० करोड रुपैयाँमा सिमित भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको नाफा भने सबैभन्दा धेरै ६२.७२ प्रतिशतले बढेर सात करोड ८२ लाख रुपैयाँ पुगेको छ । कतिपय कम्पनीको लगानी, अन्य कर्जाबाट भएको आम्दानी घटेको र खर्च बढेको कारण नाफा घटेको हो । कतिपयले भने यसअघि व्यवस्था रकम फिर्ता गरेकोमा यसपटक यस्तो रकम फिर्ता नल्याएको कारण नाफा घटेको देखिन्छ । राष्ट्रिय बीमा संस्थान बाहेक सात कम्पनीहरुको हालसम्मको कुल बीमा शुल्क आम्दानी भने करिब ३७ प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा संस्थानको वित्तीय विवरण अन्य कम्पनीको भन्दा अलग संरचनामा प्रकासित भएकोले केही पक्ष समावेश गरिएको छैन । गत आवको पुससम्ममा ३१ अर्ब रुपैयाँ आम्दानी गरेका सात कम्पनीहरुले यसमा पुससम्ममा आम्दानी बढेर ४३ अर्ब रुपैयाँ पुगेको छ । सुर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन उच्चले बढेको छ । सात कम्पनीहरुको गत आवमा २३ लाख आठ हजार बीमालेख सङ्ख्या रहेकोमा चालु आवमा यो सङ्ख्या बढेर २६ लाख ३३ हजार पुगेको छ । एउटै व्यक्तिले एकभन्दा बढी कम्पनीमा जीवन बीमा गर्न पाउने नियम भएकोले बीमा लेखको सङ्ख्या भन्दा वास्तविक बीमितको सङ्ख्या कम हुनपनि सक्छ । हालसम्म सात कम्पनीमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफको कुल बीमा शुल्क आर्जन २५ अर्ब रुपैयाँ पुगेको छ । तर प्रतिशतको आधारमा बीमा शुल्क वृद्धि हुने कम्पनीमा सुर्या लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । सुर्यालाइफको बीमा शुल्क आर्जन करिब तीन गुणाले बढेको छ । हाल कायम बीमालेखको आधारमा सात कम्पनीमा लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै (२६ प्रतिशतले) बीमालेख वृद्धि भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको भने बीमा लेख सङ्ख्या १० प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा लेख संख्या सबैभन्दा धेरै नौं लाख ८५ हजार छ । कम्पनीहरु (बीमा संस्थान सहित) को सञ्चित तथा जगेडा कोष ४.८९ प्रतिशतले बढेको छ । नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्सको भने यस्तो कोष घटेको छ । आय र व्यवस्थापन खर्चको बाँडफाँडमा अलगअलग तरिका अपनाइने गरेका कारण यी शीर्षकमा नोक्सान देखिने गरेको पनि कम्पनीहरु बताउँछन । कम्पनीहरु (बीमा संस्थान सहित) को जीवन बीमा कोष करिब २० प्रतिशतले बढेर ६९ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बीमा संस्थानको आम्दानीभन्दा खर्च बढि रहेपछि बचत दुई अर्ब ८३ करोडले घटेको छ । यो रकम जीवन बीमा कोषमा सारेकोले कम्पनीको जीवन बीमा कोष समेत २१ प्रतिशतले घटेर ११ अर्ब ६ करोड रुपैयाँमा सिमित भएको छ । यसअघि कम्पनीको जीवन बीमा कोष १४ अर्ब रुपैयाँ रहेको थियो । रकमको आधारमा (बीमा संस्थान सहित) जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम (२० अर्ब ३६ करोड रुपैयाँ) हुनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेपनि प्रतिशतको आधारमा सूर्या लाइफको धेरै (५७ प्रतिशत) वृद्धि भएको छ । तर बीमा कोषमा सबैभन्दा कम रकम हुनेमा पनि सूर्यालाइफ नै रहेको छ । कम्पनीहरुलाई नियमक निकाय बीमा समितिले जीवन बीमा कोषमा रहेको रकमको वास्तविक मुल्यांकन (एक्चुअरी भ्यालुएसन) हरेक बर्ष गर्न निर्देशन दिएको छ । यस आर्थिक बर्षको अन्त्यमा भने यस्तो मुल्यांकन पछि नाफामा थप फरबदल हुन सक्छ । कम्पनीहरु ( बीमा संस्थान बाहेक) को कुल दाबी भुक्तानी सङ्ख्या बढेको छ । गत बर्षको पुसमा २२ हजार दुई सय ३० वटा दाबी भुक्तानी दिएका कम्पनीहरुको यसपटक भुक्तानी संख्या २८ प्रतिशतले बढेर १७ हजार तीन सय ३४ पुगेको छ । यही कारण दावी भुक्तानी रकम पनि २७ प्रतिशत बढेको छ ।