एनबी इन्स्योरेन्सको १४औं शाखा रुपन्देहीको भैरहवामा

काठमाडौं, ३१ भदौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १४औं शाखा रुपन्देही जिल्लाको भैरहवामा शुक्रबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका सदस्य प्रतापजङ्ग पाण्डेले गरेका हुन् । शाखाको उद्घाटन कार्यक्रममा संचालक पाण्डेले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देश भरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । उनका अनुसार कम्पनीले हालसम्म १४ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवा ग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी गरी चुक्ता पूँजी २७ करोड रुपैयाँ पुर्याएको जानकारी दिएका छन् । कम्पनीले यसरी नै थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने श्रेष्ठले बताए । कम्पनीले आर्थिक वर्ष २०७२।०७३ मा करिब २६ हजार बीमालेखहरुबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । साथै, इन्स्योरेन्सले सो अवधिमा करिब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, आर्थिक वर्ष २०७३।०७४ को प्रथम २ महिनामा करिब ८ हजार बीमालेखहरुबाट करिब १० करोड बीमशुल्क आर्जन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

दुई कार्यकालको सीमामा बीमा संचालकको आपत्ति, यो व्यवस्था खारेज गर्न लिखित माग

काठमाडौं २७, भदौ । बीमा कम्पनीका संचालकहरुले दुई कार्यकालको प्रावधान हटाउन माग गरेका छन् । बीमा समितिले हालै ल्याएको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा संचालकहरु दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरेपछि उनिहरुले त्यसको विरोधमा उत्रँदै उक्त व्यवस्था खारेज गर्न माग गरेका हुन । बीमा संचालकहरुले उक्त व्यवस्था हटाउन बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिमा निवेदन दिएका छन् । उनीहरुल् बीमा समितिले ल्याएको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ ले संचालहरुलाई समस्या पार्ने भन्दै उक्त प्रावधान हटाउन लिखित रुपमै माग गरेका हुन । यसअघि भदौ १० गते उनिहरुले संस्थागत सुशासनका सम्बन्धमा बीमा कम्पनीका अध्यक्षसँग सामूहिक छलफल गरेका थिए । निर्देशिका जारी गरेको एक साता नवित्दै छलफलमा उक्त प्रावधान हटाउन उनिहरुले मौखिक रुपमा माग गरेको समाचार सोमबारको नागरिक दैनिकमा छापिएको छ ।

भूकम्पपछिको पुननिर्माणमा बीमा अनिवार्य, बीमा क्षेत्रको बजार विस्तार हुने

काठमाडौं, २० भदौ । भूकम्पपछिको पुननिर्माणका क्रममा बन्ने सबै नीजी तथा सार्वजनिक संरचनाको बीमा अनिवार्य गरिने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै संरचनाको अनिवार्य बीमा गर्न निर्देशन दिएको हो । सोमबार बसेको विकास समितिको बैठकमा रौतहटका सांसद रामकुमार भट्टराईले पुननिर्माणका क्रममा बन्ने सबै खाले भवन तथा संरचनाको बीमा अनिवार्य गर्नुपर्ने आवाज उठाएका थिए । भट्टराईको सोही माग अनुसार विकास समितिले पुननिर्माणका क्रममा बीमालाई अनिवार्य गर्न सरकारलाई निर्देशन दिएको हो । ‘हामी ८ खर्ब भन्दा बढि खर्चेर पुननिर्माणको काम गरिरहेका छौं, त्यसको बीमा गरेर जोखिम हस्तान्तरण गरिनु आवश्यक छ, ताकी भावी पीडिले प्राकृतिक विपत्तिको सामना गर्दा जोखिम हस्तान्तरण होस’, सांसद भट्टरईले भने । समितिक सभापति रबिन्द्र अधिकारीले समितिको निर्देशन पढेर सुनाउँदै भने–‘भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै खाले निजी तथा सार्वजनिक संरचनाहरुको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिन्छ ।’ विकास समितिको निर्देशनसँगै बीमा कम्पनीहरुको व्यवासायमा ठुलो मात्रामा वृद्धि हुनेछ । भूकम्पमा पनि करिब सात लाख घर पुर्णरुपले ध्वस्त भएको पछिल्लो सर्वेक्षणले देखाएको छ भने १० हजार सार्वजनिक विद्यालय ध्वस्त भएका छन् । त्यसका अलवा करिब एक हजार स्वास्थ्य संस्था र सैयौं पुरातात्विक सम्पदा पुर्णरुपले क्षति भएका छन् । समितिको निर्देशनसँगै ती सबैको बीमा गराउने बाटो खुलेको छ ।