मोटर दुर्घटना स्थलमै बीमा दावी भुक्तानी हुने, सगरमाथाले ल्यायो ‘भीआईपी अन द स्पट’ योजना
काठमाडौं, २५ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको सवारी दुर्घटना भएको अवस्थामा घट्नास्थलमा नै बीमा दावी भुक्तानी गर्ने गरी बीमा पोलिसी ल्याएको छ । ‘सगरमाथा भीआईपी अन द स्पट’ नाम गरिएको उक्त बीमा पोलिसी हाललाई काठमाडौं उपत्यका भित्र मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीको यो योजनाले बीमितलाई तत्काल राहात पुग्ने, दाबी भुक्तानीको लागि लामो प्रक्रियामा झेल्नु नपर्ने र आर्थिक भार पनि कम पर्ने कम्पनीले जनाएको छ । बीमा समितिका अध्यक्ष प्रा. डा फत्तबहादुुर केसी र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले भीआईपी अन द स्पट पोलिसीको शुरुवात गरेका छन् । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष केसीले यो बीमा पोलिसी राजधानीमा मात्र सीमित नगर्न र देशभर सञ्चालन गर्न सुझाव दिए । ‘सवारी दुर्घटना राजधानीमा भन्दा बढी राजधानी बाहिर हुने गरेको छन् । राजधानी बाहिरका बीमितलाई पनि यो सुविधा दिनुपर्छ’ केसीले भने । कम्पनीका अध्यक्ष मानन्धरले बीमितको सम्पत्ति आफ्नो सम्पत्ति जस्तै ठानेर बीमितलाई अधिकतम लाभ दिने र दावी भुक्तानी सरल बनाउने उदेश्यका साथ बीमा पोलिसी बनाउने गरेको बताए । सरल प्रक्रिया ‘सरगरमाथा भीआईपी अन द स्पट’ योजनालाई प्रभावकारी बनाउन यसको प्रक्रियालाई सरल बनाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले बताए । उनका अनुसार मोटर बीमा गर्ने बीमितलाई मनीपर्समा राख्ने मिल्ने ‘सरगरमाथा भीआईपी अन द स्पट’ कार्ड दिईन्छ । यो एटीएम कार्ड जस्तै हुन्छ । बीमितले जहिले पनि यो कार्ड साथमा राख्न मिल्ने गरि बनाईएको छ । उक्त कार्डमा कम्पनीमा निःशुल्क सम्पर्क गर्न सकिने फोन नम्बर राखिएको हुन्छ । ‘दुर्घट्ना भएको अवस्थामा बीमितले आफूसँग भएको कार्डको सहायतामा तत्काल कम्पनीमा फोन गर्न सक्छन् । कम्पनीले क्षति मूल्याङकन गर्न इन्जिनियर्ससहित एक टोलीलाई घट्ना स्थल पठाउँछ । क्षति विवरण र बीमा पोलिसको अध्ययन गरेर बीमितले पाउने क्षतिपूर्ति रकम मूल्याङकन गरिन्छ । त्यसमा बीमित सहमत भएमा तत्काल बीमितको एकाउण्टमा भुक्तानी दिइन्छ’– प्रमुख कार्यकारी अधिकृत क्षेत्री भन्छन्–कम्पनीको प्रतिनिधिसँग बीमित असहमत भएमा दावी भुक्तानी नियमित प्रक्रिया जान सकिनेछ । सामान्यतया भीआईपीको अर्थ भेरी इम्पोटेन्ट पर्सन ‘अति विशिष्ट व्यक्ति’ को रुपमा व्याख्या गरिन्छ । तर सगरमाथा भीआईपीको अर्थ फरक छ । ‘भेइकल इन्स्योरेन्स पोलीसी’को छोटो रुप हो भीआईपी । ‘प्रतिस्पर्धी बजारमा ग्राहकलाई गड मान्ने अभ्यास छ । हामी हाम्रा ग्राहकलाई भेरी इम्पोटेन्ट पर्सन ‘अति विशिष्ट व्यक्ति’ सम्मान गर्न पनि यसको नाम भीआईपी नै राखेका हौ’ क्षेत्री भन्छन्–‘भीआईपी कार्ड साथमा राख्दा ग्राहकले सम्मानको महसुश पनि गर्न सकून, संकटको बेलाको साथी महसुश पनि गर्न सकून भनेर यो नीति ल्याएका छौं । यो योजना लागू भएपछि कम्पनीको बीमा पोर्टपोलियोमा मोटर बीमाको हिस्सा बढ्ने र मोटर बीमा बजारको आकारमा वृद्धि गर्न सहयोग पुग्ने कम्पनीका सल्लाहाकार केबी बस्नेतले बताए । कम्पनीले ‘सरगरमाथा भीआईपी अन द स्पट’ पोलिसीको लागि छुट्टै कक्ष र टिम बनाएको जानकारी दिएका छ । सगरमाथा इन्स्योरेन्सको २० वर्षे यात्रा सगरमाथा इन्स्योरेन्स कम्पनीले २० वर्षे यात्रामा आफ्नो व्यापार २ सय गुणाले वृद्धि गरेको छ । २०५३ साउन २ गतेबाट कारोबार थालेको कम्पनीले २०७३ सालमा आईपुग्दा आफ्नो व्यापार २ सय गुणाले वृद्धि गर्न सफल भएको हो । २०५३ सालमा वार्षिक ५९ लाखको बीमा शुल्क संकलन गरेको सगरमाथा इन्स्यारेन्स कम्पनीले २०७३ असार मसान्तसम्ममा एक अर्ब ११ करोड रुपैंयाँ बराबरको बीमा शुल्क संकलन गरेको हो । २०७२ सालको भूकम्पपछि कम्पनीमा एक अर्ब ६६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । भूकम्प पीडितबाट ३ हजार १५ वटा दावी आवदेन परेको २०७३ असार मसान्तसम्ममा २ हजार ५ सय ७८ वटा दावी भुक्तानी गरेको प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए । ‘अग्नि बीमामा सबैभन्दा ठूलो बजार हिस्सा सगरमाथा इन्स्यारेन्स कम्पनीमा थियो । दावी पनि अरु कम्पनीको तुलनामा धेरै हामीकोमा पर्यो । कम्पनीले जिम्मेवारी पूर्वक बीमितलाई क्षतिपूर्ति गरेको छ’ क्षेत्री भन्छन्–सगरमाथा इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा जति ठूलो क्षतिभए पनि कम्पनीले तिर्न सक्ने भन्ने सन्देश दिन सफल भएका छौं ।
बीमा कम्पनीको शाखा विस्तार नीतिः शाखा ३ बर्षमा नाफामा जानै पर्ने
काठमाडौं, २३ साउन । बीमा समितिले बीमा कम्पनीहरुको शाखा विस्तार सम्बन्धि नीतिलाई थप परिमार्जन गरेको छ । समितिले बीमा कम्पनीको कार्यालय स्थापना तथा विस्तार सम्बन्धमा परिपत्र जारी गर्दै प्रदेशस्तरीय कार्यालय खोल्न पाउने, नयाँ शाखा ३ बर्षभित्रमा नाफामा जाने सुनिश्चितता देखिए मात्रै अनुमति माग्नु पर्ने, उपत्यका वाहिर २ ओटा शाखा खोलेपछि मात्रै उपत्यकामा नयाँ शाखा खोल्न पाइने र विदेशमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्न पाउने गरी नयाँ ब्यवस्था गरिएको जानकारी दिएको छ । बीमा कम्पनीले प्रदेश कार्यालय, शाखा, उप शाखा कार्यालय खोल्नका लागि प्रस्तावित स्थान वित्तीय रुपले सम्भाव्य रहेको स्थलगत सम्भाव्यता अध्ययन प्रतिवेदन बस्तुनिष्ठ रुपमा तयार भएको हुनुपर्र्नेे छ । सम्भाव्यता अध्ययन प्रतिवेदनमा प्रस्तावित क्षेत्रमा कार्यरत अन्य वीमकको अवस्थिति र तिनीहरुसँग व्यवसायमा हुने चुनौति र अवसरका साथै रणनैतिक योजना, शाखा स्थापनाका लागि हुने पुँजीगत तथा अन्य खर्चहरु, तीन वर्ष भित्रमा वीमा कारोबारबाट प्रस्तावित शाखा नाफामा संचालित हुन सक्ने औचित्यपूर्ण आधार समेत समावेश गर्नु पर्ने ब्यवस्था गरिएको छ । नयाँ शाखा स्थापना गर्नको लागि शाखा कार्यालयमा सुचना आदान प्रदान गर्नको लागि नेटवर्किङ गरी वा विद्युतीय माध्यमवाट केन्द्रीय कार्यालयमा सुचना प्रणालीमा तत्काल आवद्ध हुन सक्ने व्यवस्था गरेको हुनुपर्नेछ । समितिले नयाँ शाखा स्थापनको स्वीकृति दिएको मितिले २ महिनाभित्रमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरि सक्नु पर्ने बाध्यकारी ब्यवस्था पनि गरिएको छ । बीमा कम्पनीका दुई वा सो भन्दा कम शाखा रहेका काठमाण्डौं उपत्यका बाहेकका नगरपालिका वा गाउँ विकास समिति वा वीमकहरूको उपस्थिति न्युन रहेका र कुनै वीमकको शाखा कार्यालय नरहेको वा कुनै पनि वीमा कारोबार गर्ने इकाई नभएकोे गा.वि.स. वा नगर पालिकामा शाखा विस्तार गर्न प्राथमिकता दिनुपर्ने नयाँ ब्यवस्थामा भनिएको छ । समितिले तोके बमोजिम लघु वीमा, वा कृषि, वाली, पशुपंक्षी वीमा प्रयोजनका लागि खोलिएका शाखा कार्यालयहरु समेतलाई वीमकका शाखाको रुपमा गणना गरिने भएको छ । यस्तै ‘संघीय प्रदेशहरुमा प्रदेश सरकारका नीति र कार्यक्रम अन्तर्गत आफू मातहतका वीमकका शाखा, उप शाखा कार्यालयहरुको अनुगमन, निरीक्षण, सुप्रिवेक्षण तथा समितिसँग समन्वयात्मक रुपमा कार्य गर्ने गरि प्रदेश स्तरीय कार्यालय प्रत्येक प्रदेशमा खोल्न प्राथमिकता दिइनेछ,’ परिपत्रमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकामा पॉंच वा सो भन्दा बढी शाखा कार्यालय संचालनमा रहेका वीमकहरुलाई काठमाडौं उपत्यका बाहिर बीमा कम्पनीको उपस्थिति कम रहेको, तोकिएका जिल्लामा वा लघुवीमा वा कृषि, वाली, पशुपंक्षी वीमा सम्बन्धि काम गर्ने कुनै स्थानमा कम्तीमा एक शाखा र, काठमाण्डौ उपत्यका बाहिर अन्यत्र मध्ये जिल्ला सदरमुकाम तथा नगरपालिका भन्दा बाहिर कम्तीमा एक शाखा भएको अवस्थामा त्यस्ता स्थानमा दुईवटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात मात्र काठमाडौं उपत्यकाभित्र थप एक शाखा खोल्न स्वीकृति प्रदान गर्न सकिने ब्यवस्था समितिले गरेको छ । उपत्यका भित्र शाखा खोल्न निवेदन पेश गर्दा यसरी खोलिने शाखाको लागि बाहिर खोलिएका शाखाहरुको विवरण पेश गर्नुपर्नेछ । साथै, उपत्यकाभित्र शाखा खोल्न स्वीकृति दिँदा चक्रपथ बाहिर तथा नगरपालिकामा खोल्न प्राथमिकता दिइने भनिएको छ । विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने ब्यवस्था नयाँ ब्यवस्थामा विदेशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पाउने ब्यवस्था पनि गरिएको छ । यसको लागि समितिले तोकेको न्युनतम चुक्ता पुँजी पुरा गरेको, संस्था र संस्थाका सञ्चालकलाई यस समितिबाट कुनै कारवाही गरिएको भए यस्तो कारवाही भएको ६ महिना पुरा भइसकेको जस्ता मापदण्ड पूरा गरेको हुनुपर्ने समितिले ब्यवस्था गरेको छ ।
प्रभु इन्स्योरेन्स २१औं वर्षमा प्रवेश
काठमाडौं, १८ साउन । प्रभु इन्स्योरेन्स लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ । स्थापनादिवसको अवसरमा एक आयोजित कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले कम्पनीले गत आर्थिक वर्षमा गरेको कार्य प्रगति सम्बन्धमा जानकारी गराएका छन् । कम्पनीले आफ्नो सेवा विस्तारको लागि दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरि कारोवार सुचारु गरेको मल्ले जानकारी गराएका छन् । साथै, उनले आगामी दिनमा सेवा विस्तारको लागि थप शाखा तथा उपशाखा कार्यालय स्थापना गर्ने जानकारी गराएका छन् । सोही कार्यक्रममा बौल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई पालना गर्दै प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताएका छन् । गत वर्षको महाभूकम्प, अघोषित नाकाबन्दी तथा मधेश आन्दोलनलगायतले बीमा क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको बज्राचार्यले बताएका छन् । बज्राचार्यका अनुसार कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी सम्पूर्ण कारोबारलाई अझ बढी सुविधाजनक बनाउँदै मुलुकमा छरिएर रहेका सहकारी संस्थाहरु मार्फत अनलाइन प्रिमियम भुक्तानीको व्यवस्था गरिएको बताइएका छन् । हाल कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या १९ रहेको कम्पनीले जनाएको छ ।