बीमा कम्पनीमा दोहोरो लगानी रोक्ने तयारी, कि कम्पनी मर्ज गर्नुपर्ने कि सेयर बेच्नु पर्ने

काठमाडौं । एउटै व्यक्ति तथा कम्पनीलाई उस्तै सेवा दिने एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्न नदिने व्यवस्था गर्न लागिएको छ । एउटै व्यक्ति, एकाघर परिवार सदस्य, एउटै कम्पनी तथा कम्पनी समूहले उस्तै सेवा दिने एक भन्दा बढी बीमा कम्पनीमा ठूलो मात्रामा सेयर लिने प्रवृति देखिएपछि बीमा समितिले त्यस्तो प्रवृति रोक्ने तयारी थालेको एक उच्च अधिकारीले बताएका छन् । बीमा समिति सम्बद्ध स्रोतका अनुसार जीवन बीमा कम्पनीका प्रवद्र्धकले निर्जीवन बीमा कम्पनीमा लगानी गर्न पाउने तथा निर्जीवन बीमा कम्पनीका प्रवद्र्धकले जीवन बीमा कम्पनीमा लगानी गर्न पाउने छन् । तर एउटा जीवन बीमा कम्पनीको प्रवद्र्धकलाई अर्को जीवन बीमा कम्पनीको सेयरमा लगानी गर्न रोक लगाउने तयारी भईरहेको छ । त्यस्तै, एउटा निर्जीवन बीमा कम्पनीको प्रवद्र्धकले अर्को निर्जीवन बीमा कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था गर्न लागिएको छ । ‘कसको लगानी कहाँँ कहाँ छ भनेर हामीले विस्तृत अध्ययन थालेका छौं’ उच्च स्रोतले भन्यो–‘पहिला बास्तविकता पत्ता लगाउँछौं । त्यसपछि दोहोरो लगानी भएका प्रवद्र्धकलाई कि कम्पनी मर्ज गरेर एउटै बनाउन भन्छौं, कि सेयर बेचेर कम्पनी छोड्नु पर्ने नीतिगत व्यवस्था गर्छौ ।’ पछिल्लो समय बीमा क्षेत्रमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । ‘एउटा कम्पनीमा १५ प्रतिशतभन्दा बढी सेयर लगानी गर्न नपाइने विद्यमान व्यवस्थाका कारण ठूला लगानीकर्ताले उस्तै सेवा दिने एकभन्दा बढी कम्पनीमा लगानी गर्ने बाटो रोजेको देखियो’ स्रोतले भन्यो । बैकिङ क्षेत्रमा आधारभूत सेयरधनी एउटै भएको संस्था मर्ज गराउन नेपाल राष्ट्र बैंकले दवाव दिए झै बीमा समितिले पनि त्यहि बाटो अनुसरण गर्न खोजेको देखिएको छ । बैकिङ क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि कम्पनीहरुको संख्या धेरै भएकोले मर्जलाई जोड दिनुपर्ने आवाज उठिरहेको छ ।

हकप्रद र बोनसबाट एनबी इन्सुरेन्सले एक अर्ब पूँजी पुर्याउने

काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीले हकप्रद र बोनसबाट आगामी असार मसान्तसम्ममा एक अर्ब पूँजी पुर्याउने निर्णय गरेको छ । उक्त निर्णय असार ११ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णय अनुसार इन्सुरेन्सले आर्थिक वर्ष २०७४/२०७५ को अन्तिमसम्ममा ८० प्रतिशत हकप्रद र ५ प्रतिशत बोनस सेयर वितरण गरेर कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने भएको छ । हाल इन्सुरेन्सको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । कम्पनीले हालै जारी गर्दै रहेको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ हुने छ । उक्त पूँजीमा कम्पनीले फेरी ८० प्रतिशत(१०ः८०) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी ९७ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, हकप्रद पश्चात कायम हुने उक्त पूँजीमा कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले ४ करोड ८६ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । सो मात्राको बोनस वितरण पश्चात कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

१३ वटा बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना(सूचिसहित)

काठमाडौं । १३ वटा बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् । २०७५ असार मसान्तसम्म जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था अनुसार ९ निर्जिवन र ४ वटा जीवन बीमा कम्पनीले आफ्नो योजना बुझाएका हुन् । अधिकांश बीमा कम्पनीहरुले बोनस सेयर र हकप्रद सेयरबाटै तोकिएको पुँजी पुर्याउने योजना पेश गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भने अहिले नै २ अर्ब १६ करोड पुँजी पुगिसकेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बोनस र हकप्रद सेयरबाटै २०७५ असार मसान्तमा २ अर्ब ९ करोड पुँजी पुर्याउने योजना पेश गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ५५ करोड रहेको छ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीकले पनि बोनस र हकप्रदबाटै तोकिएको अवधीमा २ अर्ब पुँजी पुर्याउने विवरण बुझाएको छ । हाल सो कम्पनीको चुक्ता पुँजी ६२ करोड ५ लाख छ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले बोनस सेयरबाट मात्रै पुँजी पुर्याउने योजना बनाएको छ । जीवन बीमा कम्पनीहरुले पेश गरेको पुँजी वृद्धि योजना प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २०६९ सालदेखिको वासलात स्विकृत भएर नाफा र शेयरधनी कोष एकिन हुने र सोही बमोजिम चुक्ता पुँजी पुर्याउने बताएको छ । राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र मेट लाइफ एलिकोले भने अझै पुँजी वृद्धिको योजना पेश गरेका छैनन् । निर्जीवन बीमा कम्पनीहरुले पेश गरेको पुँजी वृद्धि योजना उता, निर्जीवन बीमा कम्पनी तर्फ एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लर प्रिमियर इन्स्योरेन्सले पुँजी वृद्धि योजना बीमा समितिलाई बुझाएका हुन् । अधिकांश निर्जीवन बीमा कम्पनीले पनि हकप्रद र बोनस सेयरबाटै पुँजी पुर्याउने योजना पेश गरेका हुन् ।