एलआइसी नेपालले २५ प्रतिशत लाभांश दिने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २४ दशमलब ८० प्रतिशत बोनस सेयर र एक दशमलब ३०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । बीमा समितिको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि एलआइसी नेपालका लगानी कर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
लुम्विनी जनरल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्रि प्रबन्धकमा सिबिआईएल नियुक्त
काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत (१ बराबर १ को अनुपातमा) अर्थात ३९ लाख किता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले विक्रि प्रबन्धकको रुपमा सि.बि.आई.एल.क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी र सि.बि.आई.एल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र सि.बि आई.एल क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दहालले हस्ताक्षर गरेका छन् ।
सङ्घीय संरचनाको ढाँचामा बीमा संस्थालाई रुपान्तरण गर्नुपर्ने
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई संस्थाको सङ्गठनात्मक संरचनालाई सङ्घीय संरचनाको ढाँचामा रुपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । बिमा संस्थान ५० औँ वर्ष प्रवेशका अवसरमा संस्थान परिसरमा निर्माण गरिएको स्वर्ण जयन्ती स्मारकको आइतबार अनावरण गर्दै उनले सरकारी स्वामित्वमा सञ्चालित बीमा संस्थानले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका साथै विदेश जाने नेपालीमा पनि केन्द्रित गर्नुपर्ने बताए । संस्थानको व्यवसाय निजी क्षेत्रको तुलनामा अगाडि आउनुपर्ने भन्दै उनले बक्यौता लेखा परीक्षण यथाशक्य छिटो गर्न निर्देशन दिए । संस्थानको पुँजी योजनालाई बीमा समितिसँग नीतिगत सल्लाह गरेर अगाडि बढाउनुपर्ने उनको सुझाव छ । बीमा संस्थान सञ्चालक समितिका अध्यक्ष डा खाेमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाका रूपमा आफ्नो स्थान बनाउन सफल भएको बताए । संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरले सरकारको उदार एवम् खुला प्रतिष्पर्धात्मक अर्थ नीतिको भावना अनुकूल समयसापेक्ष प्रतिष्पर्धात्मक बीमा बजारका चुनौतीको सामना गर्दै प्रतिष्पर्धाको लहरमा आफूलाई उभ्याइसकेको बताए । संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट रु १५ अर्ब लगानी गरेको छ ।