सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने, पूँजी ६४ करोड नाघ्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले हाल कायम रहेको कम्पनीको ५३ करोड ४५ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशतले हुने आउने १० करोड ६९ लाख ३ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको पूँजी ६४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीले उक्त निर्णय स्वीकृतिको लागि बीमा समितिमा पेश गराइसकेको जानकारी दिएको छ ।
दुई नयाँ जीवन बीमा कम्पनीले आरम्भ गरे कारोबार
काठमाडौं । नयाँ दुई वटा जीवन बीमा कम्पनीहरुले कारोबार आरम्भ गरेका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शुक्रबार युनियन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार आरम्भ गरेका हुन् । यस अघि नै नयाँ जीवन बीमा कम्पनीका रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार आरम्भ गरेको थियो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बानेश्वरस्थित कर्पाेरेट कार्यालयबाट कारोबार आरम्भ गरेको हो भने सन नेपाल लाइफले कमलादीबाट कारोबार आरम्भ गरेको हो । शुक्रबारबाटै दुबै कम्पनीले बीमा सेवा समेत आरम्भ गरिसकेका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा सुलभ अग्रवाल, शेखर गोल्छा, संदिप कुमार अग्रवाल, जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हार्डवेयरको लगानी रहेको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्समा राजेन्द्र शाक्य, सत्य नारायण क्याल, पवन कुमार बंशल, सुशिल कुमार धुरका, पुस्कर भक्त शर्मा, प्रमोद अग्रवाल र निता शर्मा लगायतको लगानी रहेको छ । दुबै इन्स्योरेन्स कम्पनीलाई बीमा समितिका अध्यक्ष चापागाईले आक्रामक बजार विस्तार गर्न निर्देशन दिएका थिए ।
सवारी साधनको ‘ब्लू बुक’ नविकरण गर्न लाइन बस्ने झण्झट सकियो, अब घरबाटै सुविधा पाइने
काठमाडौं । सवारी साधनको सवारी धनी प्रमाणपत्र (ब्लू बुक) नविकरण गर्न र कर तिर्न तपाई घण्टौ लाइन बसेर हैरान हुनुभएको छ ? चिन्ता नगर्नुस् । अब घरमै बसेर सवारी साधनको ब्लू बुक नविकरण, कर तिर्न र बीमा गर्न सकिन्छ । शिखर इन्स्योरेन्स कम्पनीको सहकार्यमा जिन्जर मार्केर्टिङ सर्भिस प्रा लिले सवारी धनीका लागि नविकरण, कर र बीमा सेवा दिने एकिकृत सेवा ल्याएको छ । व्यस्त मानिसहरुको लागि लक्षित गरेर यो सेवा शुरु गरेको जिन्जर मार्केर्टिङ सर्भिस प्रा लिका प्रमुख कार्यकारी अधिकृत गौरवमान शेरचनले बताए । ‘उद्योगी, व्यवसायी, कम्पनीका उच्च व्यवस्थापनमा काम गर्ने व्यस्त समूदायले हाम्रो सेवा निकै मन पराउनु भएको छ’ उनले भने–‘ब्लु बुक नविकरण गर्न, सवारी कर तिर्न कम्तिमा आधा दिन लाग्छ । व्यस्त मानिसहरु कि अफिसमा विदा लिएर कि कार्यालयलाई झुक्याएर सवारी नविकरण तथा कर तिर्न जाने गरेको पायौं । उनीहरुका लागि लक्षित गरेर यो सेवा ल्याएका हौं ।’ कम्पनीले दुई पाङ्ग्रे सवारीको ब्लू बुक नविकरण गर्नका लागि ३५० रुपैयाँ सेवा शुल्क बापत लिनेछ । चार पाङग्रेका लागि ५ सय रुपैयाँ मूल्य तोकिएको छ । कम्पनीले ब्लु बुक नविकरण र कर भुक्तानीको सेवा शुल्क लिए पनि सवारी बीमा गर्दा कुनै शुल्क नलिने उनले बताए । बीमा गर्दा बीमा कम्पनीले ग्राहकलाई दिने छुट समेत सवारीधनीलाई नै दिने उनले बताए । ‘ब्लु बुक नविकरण गर्न, सवारी कर तिर्न कम्तिमा आधा दिन लाग्छ । व्यस्त मानिसहरु कि अफिसमा विदा लिएर कि कार्यालयलाई झुक्याएर सवारी नविकरण तथा कर तिर्न जाने गरेको पायौं । उनीहरुका लागि लक्षित गरेर यो सेवा ल्याएका हौं ।’ ‘हामीले यसै साता सेवा शुरु गरेका हौं, ‘एकवाना’ नामक कम्पनीको प्रमुख र ३५ जना कर्मचारीले पहिलो दिन नै हाम्रो सेवा लिने बताउनु भएको छ । धेरै कम्पनीबाट फोन आएको छ,’ शेरचनले विकासन्युजसँग भने । अर्डर गरेको दुई दिनमा घरमै नविकरणसहित ब्लू बुक ल्याइदिने कम्पनीका कस्टमर सर्भिस एक्जेक्युटिभ पुजन श्रेष्ठले बताए । उनले भने, ‘हामी ग्राहकको व्यस्ततामा सहायता गर्न चाहन्छौं । ग्राहकको चाहेअनुसार उहाँहरुको घर वा अफिसमै ब्लूबुक नविकरण र कर तिरेर ल्याइदिन्छौं ।’ यस कम्पनीले हाल चावहिल, भाटभटेनी, नयाँ बानेश्वर, माछापोखरी, न्यूरोड र कुमारी पाटी गरी ६ स्थानबाट यो सेवा शुरु गरेको छ । यस सेवाको लागि मात्र कम्पनीले २५ जना कर्मचारी खटाएको छ । जिन्जर मार्केर्टिङ सर्भिसले बीमा कम्पनीहरुलाई सपोर्टिङ सेवा थालेको छ । यो सेवा नेपालमा नयाँ हो । कम्पनीले डेढ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थागत एजेन्टको रुपमा काम गर्दै आएको थियो । ‘जीवन बीमा तर्फ सबैभन्दा राम्रो कम्पनी नेपाल लाइफ देखियो र हामीले सोही कम्पनीको कर्पोरेट एजेन्ट भएर काम गरेका थियौ’ शेरचनले भने–‘निर्जीवन तर्फ शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा ठूलो हो, सेवा पनि राम्रो छ, दावी भुक्तानी पनि छिटो गर्छ, त्यसैले यस कम्पनीसँग साझेदारी शुरु गरेका हौं ।’ बीमा सेवाको मार्केटिङमा जुटेको यो कम्पनीमा ३५ जना कर्मचारी छन् । बीमा क्षेत्रमा जनचेतना र बजारीकरणको कमी रहेको उनले बताए । ‘जीवन बीमा, स्वास्थ्या बीमा, सम्पत्ति बीमाको महत्व मानिसलाई बुझाउन जरुरी छ । साथै बीमा सेवा प्रदायकले बजारीकरणमा जोड दिनुपर्छ’ उनले भने ।