यूनाईटेड इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डर धुर्मुस–सुन्तली, कम्पनीको ब्राण्ड ईमेज राम्राे हुने विश्वास

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीले सामाजिक कार्यका अभियान्ता धुर्मुस–सुन्तली फाउण्डेशनका संस्थापक सिताराम  कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल (सुन्तली) लाई कम्पनीको ब्राण्ड एम्वेस्डर बनाएको छ । उनीहरुसंगको सहकार्यले कम्पनीको ब्राण्ड ईमेज तथा बीमा प्रति सर्वसाधारणमा जागरुक गराउन समेत सहयोग पुग्ने विश्वास लिएको छ ।

नेशनल लाईफको हकप्रद सेयरमा २५ प्रतिशत कटौति, २५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्वघोषित हकप्रद सेयरमा २५ कटौति गर्ने निर्णय गरेको छ । २०७३ मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणसभाले १ बराबर १ अर्थात चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर अब कम्पनीले ७५ प्रतिशत मात्र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । हाल नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २०७५ असार मसान्तसम्ममा २ अर्ब रुपैयाँ मात्र भए पुग्ने स्पष्ट नीति लिएकोले कम्पनीले ७५ प्रतिशत मात्र पुँजी वृद्धिको निर्णय लिएको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ छ । गत आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट कम्पनीले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । २५ प्रतिशत बोनस सेयरको रुपमा लाभांश ३३ करोड १२ लाख १५ हजार ९२० रुपैयाँ र ७५ प्रतिशत हकप्रद सेयरबाट ९९ करोड ३६ लाख ४७ हजार ७५० पुँजी वृद्धि गर्ने निर्णय कम्पनीले लिएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय बीमा समितिबाट स्वीकृत गराई साधारणसभाबाट अनुमोदन गराई कार्यान्वयन गरिने कम्पनीले जनाएको छ । बोनस र हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ हुनेछ । कम्पनीको पुँजी प्रयाप्तता र सेयरधनीको हितलाई ध्यानमा राखेर नयाँ निर्णय लिनु परेको कम्पनीले जनाएको छ ।

एनबी इन्सुरेन्स र सिटिजन बैंकबीच बैंक-इन्स्योरेन्स सम्झौता

काठमाडौं । एनबी ईन्स्यारेन्स र सिटिजन बैंक इन्टरनेशनलबिच बैंक एसुरेन्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा एनबी इन्सुरेन्स कम्पनी लिटिमेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कर्याकारी अधिकृत राजन सिंह भण्डारीले हस्ताक्षर गरेका हुन् । अब बैंकका ग्राहकहरुले नेपालभर रहेका सिटिजन बैंकका शाखाहरु मार्फत एनबी इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । प्रमुख कार्यकारी अधिकृत वादे श्रेष्ठले कम्पनीले चालु आर्थिक बर्ष ७३/७४ को तेश्रोे त्रैमाससम्ममा करिब ५०करोड बीमा प्रिमियम संकलन गरेको जानकारी पनि दिएका थिए ।