१५ दिनदेखि बीमा संस्थान प्रमुृखविहीन, नियुक्तिमा ढिलाइ
काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानमा नयाँ प्रशासक नियुक्तिमा ढिलाइ गरेको छ । गत भदौ १९ गतेदेखि प्रशासक आश्विनीकुमार ठाकुरको पदावधि सकिएपछि अहिले संस्थान प्रमुखविहीन भएको छ । हाल निमित्त प्रशासकको रुपमा सुरेन्द्र थापाले जिम्मेबारी सम्हालेका छन् । स्थानिय तहको निर्वाचन आचारसंहिता र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अमेरिकामा रहेकाले नियुत्तिको प्रक्रिया रोकिएको हुन सक्ने अर्थ मन्त्रालयका प्रवत्ता अर्जुनप्रसाद पोखरेलले बताए । नियुत्तिका लागि अर्थले सूचना प्रकाशित गर्नुपर्नेमा हालसम्म नभएको उनले स्पष्टपारे । यता संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पनि संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु नभएको बताए । औपचारिक रुपमा नियुक्ति भएको जानकारी नपाएको उनले स्पष्टपारे । संस्थानमा ०६८÷०६९ देखियताको लेखापरीक्षण भएको छैन् । महालेखा परीक्षकको कार्यलयले लेखापरीक्षक पठाएर परीक्षणको काम सुरु गरेको छ ।
सुर्या लाइफको १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर पारित भएको छ । बिराटनगरमा मंगलबार सम्पन्न कम्पनीको ९ औं बार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको हो । कम्पनीका लगानी कर्ताले १० प्रतिशत बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर पाउनेछन् । कम्पनीले आव २०७२।७३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर जारी गरेको थियो ।
प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र १६० प्रतिशत हकप्रद सेयर साधारणसभाबाट पास
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न सातौं, आठौं, नवौं र दशौं बार्षिक साधारण सभाले बोनस सेयरपछि चूक्ता पुंजीको १६० प्रतिशतले अर्थात १ शेयर बराबर १.६० का दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । सभाले आर्थिक बर्ष २०६९।७०, २०७०।७१, २०७१।७२ र २०७२।७३ को वित्तीय विवरणहरु पारित गरेको छ । कम्पनीले आ.व. २०७३।७४ को वार्षिक साधारण सभा आगामी पुस मसान्तभित्रमा गर्ने समेत जानकारी दिएको छ । साथै सो साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा प्रतिनिधित्वको चयन लगायतका निर्णयहरु गरेको छ । यो कम्पनीले देशका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा सेयर धनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागि रहेको सम्बन्धमा जनाएकाे छ ।