बीमाको शुल्क २५ प्रतिशत घट्याे, बीमितलाई लाभ तर निर्जीबन बीमा कम्पनीको नाफा घट्ने
काठमाडौं । बीमा समितिले निर्जीबन बीमा व्यवसाय तर्फको हुलदंगा हड्ताल, द्वेशपूर्ण कार्य, आतङ्ककारी तथा विध्वंसात्मक कार्य शिर्षकको बीमाशुल्क २० देखि २५ प्रतिशतले दर घटाउने निर्णय गरेको छ । बीमा समितिले बुधबार तोकेको नयाँ बीमा शुल्क दर आगामी साउन १ गतदेखि लागू हुने समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले बताए । देशमा हिंसात्मक तथा ध्वंसात्मक कार्यमा कमी आएको र बीमा दावीमा ३५ देखि ४० प्रतिशत सम्म कमी आएकोले बीमा शुल्कलाई समय सापेक्ष बनाइएको कार्कीले बताए । शुल्क घटाउँदा निर्जीवन बीमा कम्पनीहरुको नाफामा केही असर गरे पनि बीमितको हितलाई ध्यानमा राखेर शुल्क घटाउनु परेको उनले बताए । नयाँ दर अनुसार भवन बीमातर्फ निजी आवास (आवासीय फ्लाट एवं एपार्टमेण्ट समेत), होटल, बोर्डिङ्ग हाउस, हस्पिटल, पूजा गर्ने स्थल, पुस्तकालय, कला मन्दिर, होस्टल, म्युजियम, नर्सिंग होम, बैंक, क्लब, मेस हाउस, भोलिन्टर हेडक्वाटर, इन्स्टिच्यूट, मेला वा सभाकक्ष (थिएटर एवं सिनेमा प्रदर्शन गर्ने अनुमति प्राप्त) र कार्यालय (सरसामान भण्डार गर्नका लागि कुनै पनि अंश प्रयोग नभएको), एयरपोर्ट टर्मिनल, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय भवनको बीमा शुल्क बीमांक रकमको प्रतिहजार बीमांकमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ । यस्तै वेयर हाउस तथा गोदाम बीमा तर्फको भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदाम बीमामा बीमांक रकमको प्रतिहजार बीमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ । अन्य स्थानमा रहेको बन्द वेयर हाउस वा गोदामको बीमामा बीमांक रकमको प्रतिहजार बीमांकमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको समितिले जानकारी दिएको छ । समितिका अनुसार भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको खुल्ला वेयर हाउस वा गोदाम बीमातर्फको बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ५२ पैसाबाट घटाएर ४० पैसा कायम गरिएको छ । अन्य स्थानमा रहेको खुल्ला वेयर हाउस वा गोदा बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ८० पैसाबाट घटाएर अब ६० पैसा कायम गरिएको छ । कलकारखाना बीमा तर्फको कल कारखाना÷म्यानुफ्याक्चरिङ्ग जोखिम तथा सोको परिसर भित्र रहेको भवन तथा सरसामान बीमामा बिमांक रकमको प्रतिहाजर बिमांकमा ५० पैसाबाट ४० पैसा कायम गरिएको छ । यस्तै पसल स्टोर (थोक वा खुद्रा) शो रुम र बजार बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा १ रुपैयाँ ४ पैसाबाट ८० पैसा कामय गरिएको छ । मनोरंजन स्थलतर्फको बीमामा चलचित्र भवन, प्रदर्शनी मण्डप, मेला वा मनोरञ्जन गर्ने पार्क, सर्कस बीमा शुल्क दर बिमांक रकमको प्रतिहजार बिमांकमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको छ । यस्तै संचार स्थल तर्फको बीमामा रेडियो÷टेलिभिजन स्टेशन वा प्रशारण स्थल र दूरसंचार बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा तोकिएको छ । बिद्युत स्टेशन सम्बन्धीको सार्वजनिक बिद्युत शक्ति स्टेशन, बिद्युत प्रसारण तथा बितरण प्रणाली बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ । रित्तो वा निर्माणको क्रममा रहेको भवन बीमाको प्रतिहजार बिमांकमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ । अग्नी बीमा अन्तर्गत हाल कायम रहेको द्धेशपूर्ण कार्यको बीमाशुल्क दर बीमाङ्कको १० पैसा प्रतिहजार कायम रहेकोमा सो दरलाई घटाएर बीमाङ्कको ५ पैसा कायम गरिएको छ । ब्यक्तिगत दुर्घटना बीमालेख अन्तर्गत हाल १० लाख रुपैयाँसम्मको बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको १० पैसा प्रतिहजार र १० लाख रुपैयाँभन्दा बढी बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको २५ पैसा प्रतिहजार कायम भएकोमा उक्त दरलाई २० लाख रुपैयाँसम्मको बीमाङ्कमा १० पैसा प्रतिहजार र २० लाख रुपैयाँभन्दा बढीकोे बीमाङ्कमा २५ पैसा प्रतिहजार कायम गरिएको छ । गार्हस्थ बीमालेख अन्तर्गत हुलदंगा र हडताल तथा द्घेशपूर्ण कार्य र बिध्वंसात्मक/आतंककारी कार्यको जोखिमको संयुक्त बीमाशुल्क दर बीमाङ्कको २० पैसा प्रतिहजार कायम गरिएको छ । त्यसैगरी तेस्रो पक्ष बीमा रद्द गर्न नपाइने व्यवस्था गरिएको छ । तेस्रो पक्ष बीमामा डुब्लिकेशन र रद्द गर्ने समस्या देखिएकोले ती समस्या नियन्त्रण गर्ने उदेश्यले नयाँ कदमहरु चालिएको समितिले जनाएको छ ।
आइएमइ, यूनियन र ज्योति लाइफले बीमा समितिबाट लाईसेन्स पाए
काठमाडौं । बीमा समितिले तीन वटा जीवन बीमा कम्पनीलाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बीमा समितिको सञ्चालक समितिले आईएमई लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमति दिने निर्णय गरेको हो । तीन वटै कम्पनीले मंगलबार बीमा समितिबाट सेवा सञ्चालन अनुमतिको प्रमाणपत्र लिएका छन् । ‘सबै प्रक्रिया पुरा गर्ने र संस्थापकको तर्फबाट कबुल गरेको सेयर पुँजी कम्पनीको खातामा जम्मा गरेका तीन कम्पनीलाई लाईसेन्स दियौं । प्रक्रिया पुरा गरेपछि बाँकी ७ कम्पनीलाई पनि लाईसेन्स वितरण गछौं’ बीमा समिति स्रोतले भन्यो । ‘आइएमइ लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पाएको छ । हामी छिट्टै सेवा सञ्चालन गर्ने तयारीमा जुटेका छौं’ आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने । यस कम्पनीको अध्यक्ष डा रामहरि अर्याल छन् । नेपाल सरकारको सचिव पदबाट अवकाश पाएको अर्याल यसअघि नेपाल राष्ट्र बैंकमा सञ्चालक थिए । प्रमुख कार्यकारी अधिकृतबारे अहिले टुङ्गो नलागेको उनले बताए । शंकर ग्रुपको अगुवाईमा स्थापना भएको यूनियन लाइफको प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्ण नियुक्त हुने सम्भावना अधिक छ । ‘कम्पनीले कर्णको नाम सिफारिस गरेको छ, बीमा समितिबाट स्वीकृत हुन बाँकी छ’ स्रोतले भन्यो । अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन सैद्धान्तिक सहमति दिई सकेको छ । निर्जीवनतर्फ पनि ४ वटा कम्पनी प्रक्रियामा रहेका छन् । पहिला प्रक्रियामा रहेका जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेपछि निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्ने समितिको योजना रहेको स्रोतले बतायो ।
विमकको व्यवस्थापन खर्च सीमा १८ प्रतिशत, अभिकर्ता इन्सेन्टिभ अन्य शीर्षकमा
काठमाडौं । जीवन बीमा कम्पनीहरुले अबदेखि १८ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न पाउने भएका छन् । बीमा अभिकर्ताहरुले इन्सेन्टिभ दिन गठित अध्ययन उपसमितिले बुधबार बीमा समितिलाई आफ्नो राय बुझाउदै कम्पनीहरुको व्यवस्थापन खर्चको सीमा तोकेको हो । उपसमितिले दिएको राय अनुसार कम्पनीहरुले संकलन गरेको प्रथम बीमाशुल्कबाट अभियकर्ता तालिम, अभिकर्ता अन्य र व्यापार प्रवद्र्धन शीर्षकमा खर्च गर्न पाउने उपसमितिका सदस्य एवम् पेशागत बीमा अभिकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारीले बताए । बीमा अभिकर्तालाई दिइने इन्सेन्टिभ खर्च भने कम्पनीहरुले अन्य खर्च शीर्षकमै राख्नुपर्ने छ । साथै अभियकर्तालाई दिइने इन्सेन्टिभमा बैदेशिक रोजगार (म्यादी) जीवन बीमाको बीमाशुल्क भने गणना गरिने छैन । कारोबार दैनिकबाट ।