१३ वटा बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना(सूचिसहित)
काठमाडौं । १३ वटा बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् । २०७५ असार मसान्तसम्म जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था अनुसार ९ निर्जिवन र ४ वटा जीवन बीमा कम्पनीले आफ्नो योजना बुझाएका हुन् । अधिकांश बीमा कम्पनीहरुले बोनस सेयर र हकप्रद सेयरबाटै तोकिएको पुँजी पुर्याउने योजना पेश गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भने अहिले नै २ अर्ब १६ करोड पुँजी पुगिसकेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बोनस र हकप्रद सेयरबाटै २०७५ असार मसान्तमा २ अर्ब ९ करोड पुँजी पुर्याउने योजना पेश गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ५५ करोड रहेको छ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीकले पनि बोनस र हकप्रदबाटै तोकिएको अवधीमा २ अर्ब पुँजी पुर्याउने विवरण बुझाएको छ । हाल सो कम्पनीको चुक्ता पुँजी ६२ करोड ५ लाख छ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले बोनस सेयरबाट मात्रै पुँजी पुर्याउने योजना बनाएको छ । जीवन बीमा कम्पनीहरुले पेश गरेको पुँजी वृद्धि योजना प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २०६९ सालदेखिको वासलात स्विकृत भएर नाफा र शेयरधनी कोष एकिन हुने र सोही बमोजिम चुक्ता पुँजी पुर्याउने बताएको छ । राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र मेट लाइफ एलिकोले भने अझै पुँजी वृद्धिको योजना पेश गरेका छैनन् । निर्जीवन बीमा कम्पनीहरुले पेश गरेको पुँजी वृद्धि योजना उता, निर्जीवन बीमा कम्पनी तर्फ एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लर प्रिमियर इन्स्योरेन्सले पुँजी वृद्धि योजना बीमा समितिलाई बुझाएका हुन् । अधिकांश निर्जीवन बीमा कम्पनीले पनि हकप्रद र बोनस सेयरबाटै पुँजी पुर्याउने योजना पेश गरेका हुन् ।
शाहले सम्हाले नेपाल इन्स्योरेन्सको सिईओ पदभार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को पद विजय बहादुर शाहले समालेका छन् । चार्टड एकाउन्टेन्ट शाहले सोमबारदेखि यस कम्पनीको सिईओको पदभार ग्रहण गरेका हुन् । शाहले यसअघि पनि बीमा क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरिसकेका छन् । २०१५ सालमा बर्दिया जिल्लाको गुलरियामा जन्मेका शाहले सन १९८८मा चार्टर्ड एकाउन्टेन्टको अध्ययन पुरा गरेका हुन् । नेपाल बिमक संघको २ कार्यकाल अध्यक्ष रहिसकेका शाह एसिया र अफ्रिकाका विकास शील राष्ट्रहरुमा कार्यरत बीमा तथा पुनर्विमा कम्पनीहरुको सदस्य रहेको एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स कम्पनी इन डेभलपिङ कन्ट्रिज(एआईआरडिएस)को उपाध्यक्ष हुन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । शाहको कार्यकाल ४ वर्षको हुनेछ ।
सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना अन्तर्गत बीमा रकम भुक्तानी
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँमा नवढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिने छ । यस बैंकका निक्षेप ग्राहक महादेव लाल देवकी छोरी, परमेश्वर देव वैश्यकी श्रीमती, विसहरिया-४, सप्तरी निवासीे श्रीमती मालती देवी वैश्यको सडक दुर्घटनामा परी निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत मृतकको नाममा यस बैंकको न्यूरोड शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात १ लाख ४९ हजार २९१ रुपैयाँ बराबरको रकम हस्तान्तरण गरियो । उक्त रकम बराबरको चेक बैंकका न्यूरोड शाखाका शाखा प्रबन्धक प्रितमलाल श्रेष्ठद्धारा मृतकका श्रीमान परमेश्वर देव वैश्यलाई हस्तान्तरण गरियो ।