सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको आइतबार सम्पन्न २८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई प्रस्ताव गरिएको लाभांश पारित गरिएको हो । सभाले गत वर्षको वित्तीय विवरण र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गरेको छ । साथै चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीले चालु आर्थिक वर्षमा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको बताए । जुन गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो । साथै कम्पनीले चालु आवमा २.८३ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । जबकी गत वर्ष २.३८ अर्ब रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो ।
नेपाल माइक्रो इन्स्योरेन्सको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधिभित्रै पूरा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष ०८१/०८२ का लागि निर्धारण गरेको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधिभित्रै पूरा गर्न सफल भएको छ । यसै अवसरमा शनिबार कम्पनीको उच्च व्यवस्थापनसहित सम्पूर्ण विभागीय प्रमुखहरू, शाखा प्रबन्धक तथा अन्य कर्मचारी समेतको सहभागितामा बिजनेश रिभ्यू एण्ड मार्केटिङ स्टार्टटेजी वर्कशप, २०२५ कम्पनीले सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालले समय अगावै लक्ष्य पूरा गर्न सफल भएकोमा सबैलाई धन्यवाद तथा बधाई प्रदान गरे ।
सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, १५० भन्दा बढीको सहभागिता
काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमा लेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा शनिबार अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सर्भेयर संघले संघ मात्रै नभएर अबका दिनमा तालिम केन्द्र पनि सञ्चालन गरी आवश्यक तालिम सञ्चालन गर्न अनुरोध गरे । तालिम केन्द्र सञ्चालनमा संघलाई प्राधिकरणको साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए । एक दिने अन्तरक्रिया कार्यक्रममा चार वटा स्टेक होल्डरसँग छलफल भएको र कार्यक्रम निकै नै सकारात्मक भएको च्याप्टर प्रमुख लामिछानेले बताए । उनका अनुसार कार्यक्रमको पहिलो सेसनमा ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिएका थिए । त्यस्तै बीमा विज्ञ डा. रविन्द्र घिमिरेले वर्तमान बीमाको सिनारियोबारेमा प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तति दिएका थिए भने प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सम्पति बीमालेखसम्बन्धी प्रस्तुति दिएका थिए । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुवेदी, बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रदेश प्रमुख जमुना अर्याल, सर्भेयर, बैंक, बीमाका कर्मचारीलगायत १५० भन्दा बढीको सहभागिता रहेको थियो ।