हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २०७४को असार मसान्तको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । गत मसान्तमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । उक्त पुँजीमा कम्पनीले १५ प्रतिशतका दरले ५ करोड ७७ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ । उक्त निर्णय मंसिर ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी २४औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली नियुक्त

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ((सीईओ) मा प्रविणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको सञ्चालन समितिले पराजुलीलाई सीईओमा नियुक्त गर्न गरेको प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको छ । कम्पनीले पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त गरेको हो । हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पराजुली करिब दुई महिनामछि मात्र रिलायन्समा जिम्मेवारी समाल्ने भएको छन् । उनी नेपाल मर्चेन्ट बैंक संघको संस्थापक र वर्तमान अध्यक्ष पनि हुन् । बैंकिङ र पुँजी बजारको राम्रो ज्ञान र अनुभव भएका पराजुलीको लागि बीमा क्षेत्र भने नयाँ हो । तर अध्ययन, व्यवस्थापकिय कुशलता र जनसम्मर्क अत्यान्तै राम्रो भएको, युवा जोश जाँगर भएकोले उनलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी स्रोतले बतायो । हाल यस कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल रहेका छन् । उनीसँग स्ट्याण्डर्ड चार्टर्डलगायतका बैङ्कमा १२ वर्षसम्म काम गरेको अनुभाव छ । यस्तै, कम्पनीको महाप्रवन्धकमा यस.के. तमोट रहेका छन् । उनीसँग बीमाक्षेत्रमा विगत ५० वर्षदेखि अनुभव छ । उनले यसअघि सिद्धार्थ इन्स्योरेन्समा महाप्रबन्धकमा दुई कार्यकाल काम गरेका थिए । कम्पनीका अध्यक्षमा ताराचन्द केडिया छन् भने सञ्चालकहरुमा पवनकुमार अग्रवाल, भरत कुमार तोडी र सुन्दर प्रसाद कँडेल रहेका छन् । दुई अर्ब १० करोड अधिकृत पुँजी रहेको यस कम्पनीमा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ । यस कम्पनीमा सिद्धार्थ बैंक, केडिया अर्गनाईजेशन, शिवशक्ति ग्रुप, बेगानी ग्रुप, रिलाईन्स ग्रुप, अग्नी होल्डिङ, शंकर ग्रुप लगायत संस्थागत सहित १ सय १३ जना प्रवर्धक रहेका छन् । बीमा समितिबाट गत कात्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको एक कम्पनीले यस कम्पनीले मंसिर १ गतेदेखि औपचारिक कारोबार शुरु गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको चन्द्रगढीमा, बीमितलाई सबैभन्दा बढी लाभांश प्रदान गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार झापा जिल्लाको चन्द्रगढीमा उपशाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा केही समयदेखि उत्साहजनक योगदान पुर्याउँदै आएको कार्कीले बताए । पछिल्लो समय बीमा क्षेत्रले बैंकिङ क्षेत्रसँग स्वस्थ प्रतिस्पर्धा एवं परिपूरक क्षेत्रको रुपमा भूमिका निर्वाह गर्दै आएको उनको भनाई छ । कार्यक्रममा कार्यकारी प्रमुख अधिकृत विवेक झाले कम्पनीले बजार विस्तार रणनीति अन्तर्गत चालु आर्थिक वर्षमा थप शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिने बताएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी भएकोले बीमितको सर्वोपरी हित र त्यसका मापदण्डबारी बीमितलाई जागरुक बनाउन कम्पनीले प्रयास गरिरहेको उनले बताए । बीमितलाई कुन कम्पनीमा बीमा गर्दा बढी हित हुन्छ भन्ने कुरा बुझाउने कार्यमा अभिकर्ताहरुको भूमिका निकै ठूलो भएको उनले बताए । अभिकर्तालाई समाजमा स्थापित गर्न प्रयास गर्दै आएको उनको भनाई छ । कम्पनीका अभिकर्ता र कर्मचारीले बीमितको हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दिगो विकासमा ध्यान दिएको झाले बताए । कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल बीमा शुल्क आर्जन तीन अर्ब ८० करोड रुपैयाँ छ । त्यस्तै कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको भन्दा तीन गुणाले बढेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार तीन महिनामा कम्पनीले १७ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ३६ करोड रुपैयाँ भएको छ भने कुल लगानी ५० अर्ब रुपैयाँ भन्दा बढी छ । यस कम्पनीले बीमितलाई प्रतिहजार ६५ देखि ८२ रुपैयाँ बोनस प्रदान गर्दै आएको छ । बीमितलाई सबैभन्दा बढी बोनस दिदै आएको यस कम्पनीले सर्वाधिक बोनस दरलाई कायम गर्दै अगाडि बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले बताए ।