सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा कान्तिपथमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । हालसम्म यस कम्पनीले आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको कारोबार शुरु, ६० करोडको साधारण सेयर निष्काशन गर्ने साधारणसभाको निर्णय

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर २२ गते औपचारिक रुपमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले सो कम्पनीको उद्घाटन गरेका छन् । सानिमा बैक तथा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समूहले सानिमा लाईफ इन्स्योरेन्सको प्रबद्र्धन गरेका छन् । कम्पनीको कार्य शुभारम्भसँगै सानिमा दीर्घायु (सावधिक तथा आजीवन) जीवन बीमा योजना, सानिमा धनपति (अग्रिम भुक्तानी) जीवन बीमा योजना शुरु गरेको छ । भविष्यमा वीमा विशेषज्ञ बीमांकीबाट तर्जुमा गरिएका सर्वसाधारणले रुचाएका नविनतम जीवन बीमा योजनाहरु जन समक्ष प्रस्तुत गरि जीवन बीमाको क्षेत्रमा अग्रणी भुमिका निभाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । यस कम्पनीको अधिकृत पुँजी ३ अर्व र जारी पुजी २ अर्ब रुपैयाँ रहेको छ । जारी पुजी मध्ये १ अर्ब ४० करोड चुक्ता भैसकेको छ । निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुजी रु २ अर्व कायम गरिने कम्पनीले जनाएको छ । त्यसैगरी २२ गते नै सम्पन्न कम्पनीले आफनो प्रथम वार्षिक साधारण सभाबाट कुमारप्रसाद कोइरालाको अध्यक्षतामा चार सदस्यीय सञ्चालक समिति चयन भएको छ । कम्पनीको सदस्यहरुमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ र बद्री विशाल घिमिरे रहेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको मंसिर २९ गते बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको यही मंसिर २९ गते बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त बैठकका अनुसार कम्पनीको आगामी वार्षिक साधारणसभा पुस १४ गते हुँदै छ । सभाले सेयरधनीलाई १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ रहेको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९८ रुपैयाँमा किनबेच भएको थियो ।