एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने, सोमबार सेयर मूल्य बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश वितरण गर्न लागेको हो । सोमबार बसेको कम्पनी सञ्चालक समितिको २३८ औं बैठकले उक्त निर्णय गरेको कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जानकारी दिए । सञ्चालक समितिको निर्णयलाई बीमा समितिको स्वीकृति र साधारणसभाको अनुमोदन गरेपछि सेयरधनीले उक्त बोनस पाउने छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको सेयर सोमबार प्रतिकित्ता १४ रुपैयाँले मूल्य बढेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५१ करोड २३ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ हुनेछ ।
आइएमई जनरल इन्स्योरेन्सले ८०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत(अर्थात १०ः८ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले आफ्नो बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्न ८० प्रतिशत हकपद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात बोनस सेयर दिई कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने गरी पुँजी वृद्धि योजना बीमा समितिमा पेश गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई विस्तार गर्दै जाने बताएको छ ।
आइएमई जनरल इन्स्योरेन्सको २३औं शाखा न्यूरोडमा, थप १६ शाखा खोल्ने तयारी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा न्यूरोडको खिचापोखरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिएका छन् । साथै, उनले सबैले बीमालाई बाध्यताको कारण नभै आफ्नो सम्पत्तीको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न आजैदेखि लाग्नुपर्ने भनि उपस्थित सबैलाई आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न आग्रह गरेका छन् । सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान जारी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पूंजी ९७ करोड २० लाख रुपैयाँ पुर्याउने भएका छन् । साथै, कम्पनीले अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफ्नो शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । यस नयाँ शाखा सहित कम्पनीले २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीहरुलाई सेवा दिँदै आइरहेको छ ।