एलआइसी नेपालको जीवन अक्षय-१ योजना, पेन्सनका लागि सरकारी जागिर कुर्नु नपर्ने

काठमाडौं । एलआइसी नेपालले पेन्सन बीमा योजना ‘जीवन अक्षय-१’ ल्याएको छ । ‘पेन्सन अब नो टेन्सन’ भन्दै कम्पनीले ४० बर्षदेखि ७० बर्ष उमेर समुहका नागरिकलाई लक्षित गरेर पेन्सन योजना ल्याएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् । बिमितले बीमा योजना सुरु हुनासाथ आजीवन र मृत्युपछि पति वा पत्निलाई पनि ५० प्रतिशत पेन्सन उपलब्ध गराउनेछ । कम्पनीले यस अघि जीवन तरंग नामको पेन्सन बीमा योजना ल्याएको थियो । सो योजना अन्तर्गत कम्पनीले बीमा योजना परिपक्क भएपछि ५ प्रतिशत रकम बार्षिक रुपमा पेन्सनका रुपमा भुक्तानी दिने गरेको थियो । जीवन अक्षय १ मा भने बीमितहरुलाई वर्तमान ब्याजदर अनुसार ११.७७ प्रतिशत र भविष्यमा पनि सोही अवधीको ब्याजदर अनुसार पेन्सन दिन लागेको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमा कम्पनीहरुले पोलिसी बेच्दा दिगो ढंगले बेच्नुपर्ने धारणा राखेका थिए । कम्पनीका का.मु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले अब पेन्सनका लागि सरकारी जागिर कुर्नुनपर्ने बताए । उनले निजी कम्पनीमा जागिर गर्नेहरुले समेत जीवन अक्षय १ योजना मार्फत पेन्सन लिन सक्ने बताए ।  

एसियन लाइफ इन्स्योरेन्सले फागुन १३ देखि ४० करोड २७ लाखको हकप्रद निष्कासन गर्दै

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द चैत १८ गते हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्तापुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ ।

गुँरास लाईफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी

काठमाडौं । गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारीका क्रममा निधन भएका काभ्रेपलाञ्चोकको खानीखोलाका सुमन तामाङ्ग थिङ्गका पिता सन्तवीर तामाङ्ग थिङ्गको चेक उनको अर्को छोरा धनबहादुर थिङ्गलाई १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले आइतबार एक कार्यक्रम मार्फत उक्त बीमा दावी भूक्तानी धनबहादुर थिङ्गलाई हस्तान्तरण गरेका हुन् । तामाङ्गले यस कम्पनीमा म्यादी जीवन बीमा गराएका थिए ।