एनएलजी इन्स्योरेन्सका संचालक पाण्डेले दिए राजिनामा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक भुपेन्द्र पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । हालै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक पाण्डेको राजिनामालाई स्वीकृती दिएको हो । संचालक समितिले मंसिर १४ गतेदेखि लागू हुने गरी पाण्डेको राजिनामालाई स्वीकृत गरेको हो ।

अजोड इन्स्योरेन्सका ग्राहकलाई वयोधा हस्पिटलमा विशेष छुट

काठमाडौं । अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबीच नगदरहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रवि चौधरीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । यस अधिब्लुक्रस हस्पिटल, मेडिसिटि अस्पताल लगायतसँग उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले बताएको छ ।

मेगा बैंकबाटै ज्योति लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब मेगा बैंक नेपाल लिमिटेडबाट ज्योति लाइफ इन्स्योेरेन्सको बीमा सेवा पाइने भएको छ । उक्त सेवा दिने सम्बन्धि दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि मेगा बैंकका जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा पाउने छन् ।