सानिमा जनरल इन्स्योरेन्सको थप शाखा ललितपुरमा
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ललितपुर शाखा विस्तार गरेकाे छ । कम्पनीका संचालक डा. माणिक लाल श्रेष्ठले उक्त शाखा समुद्धाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका नायब महाप्रवन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल लगायतकाे उपस्थिति थियाे । पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायीहरुलाई वीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले यस क्षेत्रमा शाखा विस्तार गरिएकाे कम्पनीले जनाएकाे छ ।
गुँरास लाईफद्धारा बीमित मृत्यु दावीवापतको १४ लाख रूपैयाँ हस्तान्तरण
काठमाडौं । गुँरासलाई इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमित पक्ष प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत गरिएकाे बीमा दावीमा उक्त भुक्तानी गरिएकाे कम्पनीले जनाएकाे छ । वैदेशिक रोजगारको क्रममा तनहुँ चोक चिसोपानी (हाल :भानु नगरपालीका वडा नं.१०) निवासी बीमित विष्णुबाबु तिवारीको दुर्घटनामा परि ओमानमा मृत्यु भएको थियो । मृत्युपश्चात दावी भुक्तानी वापतको रकम कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले बीमितको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेका छन् ।
बैतडीमा रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा शुरु हुँदै
काठमाडौं । बैतडीको पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरेका छैनन् । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले बताएका छन् । नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएकामध्ये पहिलो चरणमा १०० जनाकोे निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका तीन सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गए उनीहरुको बीमा गरिने भएको छ । जिल्लास्थित पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) को संयुक्त सहकार्यमा पाटनस्थित उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था, खोड्पेस्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था र सिद्धपुरस्थित महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारको बीमा गर्न लागिएको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिएका छन् । रासस